+
+
Shares

 नेपालमा कोरोना भाइरसले महामारी रुप लिन सक्दैनः प्रधानमन्त्री

रासस रासस
२०७७ वैशाख ६ गते २१:५१

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले महामारीले रुप लिन नसक्ने बताएका छन् । संक्रमणबाट सुरक्षित हुन बेलैमा बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएको उनले बताए ।

राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको,  सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पुर्याइएको तथा सङ्क्रमित र संक्रमण सम्भावितको खोजीखोजी आरडीटी र पीसीआर दुवै परीक्षणलाई तीव्रता दिइएकाले भयावह रुप लिन सक्ने अवस्था आफूले नदेखेको बताए ।

लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा संक्रमण कम भएको भन्दै यसलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने उनले बताए । साथै कोरोना अन्त्य सुनिश्चित हुन लकडाउनमा कडाइ गरिने बताए । ‘विश्वमा करीब डेढ लाख मानिस बितेका छन्, बीसौँ लाख सङ्क्रमित छन्, हिजो(शुक्रबार) मात्र चार हजार मानिसको निधन भएको छ, यस्तो स्थिति हामी नेपालमा नआओस् भन्नाका लागि हाल कोरोना नियन्त्रणसँगै लकडाउन कायम नै गर्छौं, उनले भने ।

प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको अर्थ नरहेको बताएका छन् ।

कोरोना भाइरसविरुद्धका सरकारी पहल पर्याप्त नभएको दाबी विचारहीन र पूर्वाग्रही भएको उनले बताए । उनले भने, ‘अमर्यादित शैलीमा गरिने आरोपले आरोपकर्ताहरुको सांस्कृतिकस्तर देखाउँछ तर जनताको जीवन रक्षा गर्ने आफ्नो जिम्मेवारीमा सरकार पछि पर्दैन । यसमा सबैको साथ र समर्थन छ । एकाध मान्छेले कर्कश धूनमा आलोचना गर्नु त्यो उनीहरुको प्रवृत्ति हो ।’

लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण तस्वीर देखिएका विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले कुनै ठाउँमा मान्छे अलपत्र परेमा पाइएमा सरकारलाई सूचना दिन आग्रह गरे । उनले भने, ‘यस्तो बेलामा सरकारलाई विरोध गर्न अस्त्रहरु तयार गरेर कसैले पनि खेल्नु हुँदैन । विशेष परिस्थिति भएकाले आमजनतालाई असुविधा भएको कुरा हामीले महसुस गरेका छौँ । पहिला त भाइरस रोगबाट जीवन बचाउनुपर्छ भनेर एकजुट भई लाग्नुपर्छ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?