+
+
Shares

प्रधानमन्त्रीलाई देउवाको सुझाव – सांसद ‘अपहरण’ गर्नेलाई कारबाही गर्नुस्

'राहत लक्षित वर्गसम्म पुगेन, अर्को प्याकेज ल्याउन माग'

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते १८:००

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरुलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

शुक्रबार अपराह्न बालुवाटारमा भएको भेटमा देउवाले निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस नोटमा देउवाको भनाइ उद्धृत गर्दै लेखिएको छ, ‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यही छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।’

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याइएको सामाजिक सन्जालमा लेखेका थिए ।

पार्टी फुटाउने उद्देश्यले काठमाडौंको म्यारियट होटलमा आफ्ना नेताहरुलाई बन्धक बनाएको र आफूहरुले उद्दार गरेको समाजवादीका नेताहरुले बताउने गरेका छन् । समाजवादीका नेताहरुले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले यादवलाई जबर्जस्ती काठमाडौं ल्याएर होटलमा बन्दी बनाएको बताउने गरेका छन् ।

‘गल्ती सच्याएकोमा धन्यवाद’

देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै ओलीलाई धन्यवादसमेत दिएको कांग्रेसले जनाएको छ । कोरोनाको जोखिमसँग लडिरहँदा अब बिवादका कुरा नल्याउन देउवाले ओलीलाई सुझाव दिएका थिए ।

सभापति देउवाले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि भनेका थिए । समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो गर्न नहुने उनको भनाइ थियो ।

यसैगरी स्वास्थ्यकर्मीहरुलाई पीपीई लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथाशीघ्र पुर्‍याउन, स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने काम रोक्न, श्रमिकलाई कि खान दिन, कि गाउँ जान दिन पनि देउवाले भनेको कांग्रेसले जनाएको छ ।

अर्को राहत प्याकेज ल्याउन देउवाको सुझाव

सभापति देउवाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट समस्यामा परेकाहरुलाई सरकारले घोषणा गरेको राहत अधुरो भएको र लक्षित वर्गसम्म नपुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए । उनले अर्को राहत प्याकेज ल्याउन पनि ओलीलाई सुझाव दिएका थिए ।

कांग्रेसका अनुसार देउवाले भनेका थिए, ‘श्रमिक, बेरोजगार, विद्यार्थी र साना-ठूला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस् ।’

सभापति देउवाले विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने योजना सार्वजनिक गरी कार्यान्वयन गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएको नेपाली कांग्रेसको प्रेस नोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?