+
+
Shares

विराटनगरबाट पठाइएका काठमाडौंबासी नागढुंगामा रोकिए

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते ८:२५

१५ वैशाख, काठमाडौं । विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई लिएर आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् ।

विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएका बस काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् ।

नागढुंगाका एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने, ‘बसलाई नागढुंगामा राकेर चेकजाँच गरिरहेका छौं । बस कहाँबाट आइरहेको भन्नेबारे बुझ्ने काम भइरहेको छ । यसबारे हामीसँग कुनै समन्वय भएको छैन ।’ लकडाउनको समय भएकाले बस रोकेर जानकारी लिने काम गरिरहेको ती अधिकृतले बताए ।

तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका जनतालाई पठाएको बताउँछन् । उनले भने, ‘हामीले समन्वय गरेर नै पठाएका थियौं । तर गाडी नागढुंगामै रोकिएछ भन्ने जानकारी पाएका छौं । हामीले सबैलाई स्वास्थ्य जाँच गरेर पठाएका छौं ।’

आइतबार समन्वय गरेर पठाएको भएपनि काठमाडौं प्रवेश गर्न नदिएको उनले बताए । ‘हामीले पठाएका सबै यात्रु काठमाडौंका हुन्,’ उनले भने, ‘काठमाडौंबाट आएका हाम्रा नागरिकलाई हामीले ल्याइरहेका छौं, रेकर्ड राखेर उहाँहरुलाई पनि आफ्नो घर जान दिनुपर्छ ।’

सोमबार बिहानै पुगेका बसलाई नागढुंगामा राकेर राखिएको मोरङ–काठमाडौं समाजका अध्यक्ष मुरारी कोइरालाले बताए । ‘गाडी रोकिएपछि हामी समन्वय गरिरहेका छौं,’ उनले भने, ‘प्रशासनले  नाकामा कडाइ गरेको रहेछ ।’

सोही बसमार्फत काठमाडौंमा अलपत्र आफ्ना नगरबासीलाई ल्याउने योजना विराटनगर महानगरपालिकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?