
१५ वैशाख, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको पीसीआर परीक्षणमा ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले सोमबार पत्रकार सम्मेलन गर्दै ११ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन् ।
प्रतिष्ठानमा घोराही उपमहानगरपालिका-१५ र १६ का ५ जना, तुलसीपुर उपमहानगरपालिका- ६ का ५ जना र सल्यानका १ जना व्यक्तिको स्वाब परीक्षण गरिएको थियो । तर, कसैलाई पनि कोरोना संक्रमण नदेखिएको उपकुलपति भण्डारीले जानकारी दिइन् ।
प्रतिष्ठानले परीक्षण गरेका बिरामीहरुको नमूना पुनः परीक्षण गर्न रुपन्देहीको भैरहवामा पनि पठाएको थियो । भैरहवामा पनि प्रतिष्ठानको जस्तै नेगेटिभ रिपोर्ट आएको भण्डारीले जानकारी दिइन् ।
अब दोस्रो चरणमा कोरोना विशेष अस्पताल बेलझुण्डीका ४ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना भएका २ जना गरी थप ६ जनाको नमूना परीक्षणको प्रक्रियामा छ ।
उपकुलपति भण्डारीले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आपसमा समन्वय गरेर काम गरिरहेको बताइन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर मेसिनबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको पहिलो पटक हो । यससँगै नेपालभर पीसीआर परीक्षण गर्ने ल्याबहरुको संख्या १६ पुगेको छ ।
प्रतिष्ठानमा जडान गरिएको पीसीआरमा एकैपटक ९६ जनासम्मको परीक्षण गर्न सक्ने क्षमता छ । स्वाब परीक्षणको रिपोर्ट आउन ६ घण्टा लाग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
प्रतिक्रिया 4