
१६ वैशाख, वीरगञ्ज । रौतहटका २ जना कोरोना संक्रमितलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ ।
देवाही गोनाही–१ करुनिया टोलका ३५ वर्षीय पुरुषलाई आइसोलेसन वार्डमा राखिसकिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
उनी दिल्लीबाट वैशाख ४ गते नेपाल आएका थिए । क्वारेन्टाइन जानुअघि उनी घर परिवार र ससुरालीमा केहिदिन बसेको पाइएको छ ।
अर्का संक्रमित वृन्दावन नगरपालिका–९ भुसाहा टोलका २४ वर्षीय युवालाई पनि उपचारका लागि नारायणीमा ल्याइएको छ । उनी क्वारेन्टाइन अवधि सकेर घर गएको हुनाले अस्पताल ल्याउन ढिलाइ भएको हो । कोलकत्ताबाट चैत २२ गते घर आएपछि उनलाई चन्द्रपुर स्थित क्वारेन्टाइनमा राखिएको थियो ।
जनकपुरबाट आएको टोलीले थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि वैशाख ६ गते घर पठाइएको थियो । तर, क्वारेन्टाइनबाट छाडिएको १० दिनपछि काठमाडौंस्थित शुक्रराज सरुवा रोग अस्पतालको ल्याबमा गरिएको पुनः परीक्षणमा उनमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो ।
१० दिन घर बसेकोले घर परिवार तथा समुदायमा समेत संक्रमणको आशंका गरिएको छ । मास स्क्रिनिङ नभएसम्मका लागि संक्रमितको गाउँलाई सिल गरिएको छ ।
रौतहटमा कोभिड–१९ को संक्रमितको संख्या तीन पुगेको छ । जसमध्ये एक जना निको भएर वीरगञ्जमा भेटिएका तीन भारतीय संक्रमितसँगै घर फर्किएका छन् ।
प्रतिक्रिया 4