
१६ वैशाख, काठमाडौं । लकडाउनको उल्लंघन बढेको भन्दै गृह मन्त्रालयले कडाइ गर्न परिपत्र गरेपछि मजदुर लिन विभिन्न जिल्लाबाट सवारीसाधान पठाउने क्रम रोकिएको छ ।
जनप्रतिनिधिले आफू खुशी सर्वसाधारण ओसार्न थालेकाले जोखिम बढेको गृहको निष्कर्ष छ । त्यसैले सवारी साधानको आवत जावतलाई पूर्णतः रोक लगाइएको गृहको भनाइ छ । मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले सोमबार जारी गरिएको परिपत्रमै सबै विषय समेटिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘प्रशासनले जारी गरेको सवारी पास नहुने सबैलाई रोक्न भनिएको छ ।’
महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठले मंगलबार यात्रुवाहक कुनै पनि गाडी नाकामा नआएको बताए । उनले भने, ‘केही दिन खुकुलो हुँदा विचल्लीमा परेका सबै मानिसहरु गइसके । अहिले ठप्प छ ।’
महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जगातीमा पनि जिल्लाबाट बस नआएको बताए । उनले भने, ‘अब सवारी साधन सम्बन्धित जिल्लामै रोकिन थालेका छन् । यसबाट लकडाउन कार्यान्वयनमा थप सहजता हुने विश्वास लिएका छौं ।’
उपत्यकामा एकैदिन १६ सय जना कारबाहीमा
गृह मन्त्रालयले कडाइ गर्न भनिरहे पनि सर्वसाधारण भने सडकमा निस्किन छाडेका छैनन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार मंगलबार दिउँसो मात्रै लकडाउन उल्लंघन गरेको आरोपमा १६ सय जना कारबाहीमा परेका छन् । तीमध्ये १२ सय ३३ जना पुरुष र ३ सय ६७ जना महिला छन् ।
काठमाडौंबाट ७ सय ८१ पुरुष र २ सय ५९ महिला, ललितपुरबाट ३ सय ७० पुरुष र ८४ महिला र भक्तपुरबाट ८२ पुरुष र २४ जना महिलालाई होल्ड गराइएको हो । उनलाई तीन घन्टासम्म उभ्याएर छाडिएको प्रहरीले जनाएको छ ।
मंगलबार उपत्यकाबाट एक हजार ८२ वटा दुई पांग्रे र १ सय ११ वटा चार पांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएको प्रहरीले बतायो ।
रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले काठमाडौं अन्यत्रभन्दा सुरक्षित छ भन्ने मनोविज्ञानका कारणले पनि सर्वसाधारण बाहिर निस्किने गरेको देखिएको बताए । उनले भने, ‘तर, महामारीका वेला कसैले पनि स्थितिलाई नजरअन्दाज गर्न मिल्दैन । गृहको निर्देशन कडाइका कारण कार्यान्यवन गरिरहेका छौं ।’
प्रहरीले लकडाउनको समयमा कुनै पनि वहानामा सडकमा नआउनुस् सर्वसाधारणलाई अपिल पनि गरेको छ ।
प्रतिक्रिया 4