+
+
Shares
रामचन्द्र पौडेलको प्रश्न :

‘राष्ट्रपति ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते १९:५६

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न उठाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उनले विवादास्पद अध्यादेशलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न उठाएका हुन् ।

कोरोना भाइरस (कोभिड-१९) का कारण सिङ्गो देश आक्रान्त भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति आफूमा केन्द्रित गर्ने नियतका साथ संवैधानिक परिषद्सम्बन्धी र पार्टीहरूमा तोडफोड मचाउने नियतले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको पौडेलको दाबी छ। उनले भनेका छन्, ‘देशमा अस्थिरता, अराजकता र भाँडभैलो मचाउने खराब नियतको प्रधानमन्त्री हो भनेर किन नभन्ने ?’

यस्तो अध्यादेश तत्काल जारी गरेको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि समेत प्रश्न उठाएका छन् । केन्द्रीय समितिको बैठकमा नेता पौडेलले भनेका छन्, ‘संविधानका संरक्षक राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला ?’

सरकारको चर्को आलोचना

बन्दाबन्दीको कारण मर्कामा परेका किसानलाई राहत प्याकेज नल्याएको भन्दै उनले सरकारलाई असक्षम र नालायक भनेका छन् । उनले सरकारलाई बेकम्मा, बेइमान, नागरिकप्रति असंवेदनशील, भ्रष्टाचारी र स्वच्छाचारी जस्ता शब्द प्रयोग गरेका थिए ।

स्वास्थ्य सामग्री खरिदमा कमिसनको खेल भएको भन्दै उनले यो सरकारलाई भ्रष्टाचारी नभने के भन्ने ? भनेका छन् । ‘जताततैबाट भ्रष्टाचारको पोल खुल्न लागेपछि हतारहतार ‘ठेक्का खारेज’ भन्दै जनमतलाई अर्कोतिर मोड्ने र राष्ट्रको सुरक्षाको गहन जिम्मेवारी बहन गरेको राष्ट्रिय सेनालाई स्वास्थ्य सामग्री खरिद गर्ने व्यापारिक कार्य जिम्मा दिने सरकारको नियतमाथि शंका किन नगर्ने ?’ उनको प्रश्न छ ।

उनले अरूको पार्टी फुटाउन सांसद अपहरण गर्न बाहुबलीहरूको प्रयोग भएको र उजुरी गर्न प्रहरी र सरकारी वकिल कहाँ जाँदा रित्तै फर्काइएको भन्दै आक्रोश पोखेका छन् ।

‘देशमा न्याय हराएको छ, कानुनको शासन हराएको छ’ उनले भनेका छन्, ‘कांग्रेसले मात्र यो विकल्प दिन सक्छ कि भनेर जनता यसैतिर आशान्वित हुने अवस्था कसरी पैदा गर्ने हो ? हामीले सोच्न जरुरी छ ।’ देशमा लुटतन्त्र दोहोरिन नदिन व्यक्तिगत जोड घटाउबाट माथि उठ्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?