+
+
Shares

लकडाउनमा बजार अनुगमन : पर्वत उत्कृष्ट, म्याग्दीको डामाडोल !

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १९:१२

२६ वैशाख, पोखरा । उपभोक्त मञ्च गण्डकी प्रदेशले लकडाउनको समयमा प्रदेशका विभिन्न बजार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा प्रदेशभरिमै पर्वतको बजार उत्कृष्ट देखिएको र म्याग्दीको बेनी बजार मापदण्डविपरीत पाइएको मञ्चका प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

‘प्रदेशका ९ वटा जिल्लाका बजार घुम्दा पर्वतको बजार सबैभन्दा राम्रो देखियो । पर्वतको बजार पोखराभन्दा व्यवस्थित चलेको पाइयो,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘म्याग्दीको बेनीबजार भने डामाडोल र अव्यवस्थित छ ।’ उनले बेनी बजारका प्रायः पसलमा कुनैमा मिति गुज्रिसकेको त कुनैमा मिति नै उल्लेख नभएको पाइएको बताए ।

अन्य ठाउँमा वस्तु पसलसम्म पुग्दा म्याद गुज्रेको पाइए पनि बेनीको बजारमा मुख्य गोदाममै मापदण्ड विपरीत सामान पाइएको कोइरालाले अनलाइनखबरसँग बताए । ‘मुख्य गोदाममै सामानहरु मापदण्डविपरीत पाइनु चिन्ताको विषय हो । त्यहाँका उपभोक्ता नै सचेत हुने बेला आएको छ,’ उनले भने ।

कोरोना लकडाउनका कारण अहिले सामानको गुणस्तरताभन्दा पनि सहज प्राप्ति भएकाले व्यवसायीले मनोमानी गरेको कोइरालाले बताए । ‘बजारका सामान गुणस्तर कसरी व्यवस्थित राख्ने भन्नेमा प्रशासनको मात्रै नभएर स्थानीय जनप्रतिनिधिको पनि भूमिका हुन्छ,’ उनले भने, ‘तर, बेनीमा स्थानीय जनप्रतिनिधिले पनि बेवास्ता गरेको पाइयो ।’

मापदण्डविपरीत पाइएका पसल कारबाहीका लागि स्थानीय प्रशासन र जिल्ला अनुमगन समितिलाई आग्रह गरिसकेको कोइरालाले बताए । ‘त्यहाँ कतिपय पसल सिल नै गर्नुपर्ने अवस्थाका छन् । कारबाहीका लागि सम्बन्धित पक्षलाई भनिसकेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?