
३१ वैशाख, काठमाडौं । भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आज खटाइँदै छ । सीतापुलमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिँदै छ ।
छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर वरै पर्दछ ।
बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले छाङरूमा पुर्याउने छ । त्यसका लागि बुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट दार्चुला प्रस्थान गरेको छ । सो हेलिकोप्टर दार्चुलाबाट इन्सपेक्टरसहितको टोलीलाई लिएर आजै छाङरू पुग्ने छ ।
छाङरूसम्म पुग्ने बाटो नभएकाले सेनाको हेलिकोप्टरबाट सशस्त्रको टोलीलाई लैजान लागिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । यसअघि गृह मन्त्रालयले सशस्त्रको टोली लैजान सेनाको हेलिकप्टर माग गरेको थियो ।
सीतापुल प्रहरीको टोलीलाई पनि स्थानान्तरण गरिने
प्रजिअ पौडेलले सशस्त्रको टोली राख्न छाङरूमा एउटा घर भाडामा लिइएको जानकारी दिए । उनले भने, ‘छाङरूमा बीओपी राख्न जग्गा लगायतको निर्णय पहिले नै क्याबिनेटबाट भएको थियो तर लकडाउनका कारण घर बनाउन सकिएन । घर नबनुन्जेलसम्मका लागि एउटा घर भाडामा लिएर काम चलाइएको छ ।’
सई नेतृत्वको १० सदस्यीय प्रहरी टोलीलाई पनि छाङरूमा लगिने छ । हाल सीतापुलमा बस्दै आएको प्रहरी टोलीलाई छाङरूमा स्थानान्तरण गर्न लागिएको हो ।
जाडोको बेला हिउँ परेर बस्न नसकिने भएकाले नेपाल प्रहरीको टोली छाङरूभन्दा तल सीतापुल भन्ने स्थानमा बस्दै आएको छ । अहिले हिउँ पग्लिएर बस्न केही सहज भएकाले सो टोलीलाई फेरि छाङरूमा स्थानान्तरण गर्न लागिएको प्रजिअ पौडेलले जानकारी दिए ।
लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।
प्रतिक्रिया 4