+
+
Shares

सामान्य १० तरिका, निरोगी जीवनका लागि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १५:०१

रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित हो । अतः यसका लागि हाम्रो जीवनशैली कस्तो छ भन्ने कुराले ठूलो महत्व राख्छ । निरोगी जीवन बाँच्नका लागि सन्तुलित दिनचर्या, सुपाच्य खानपान, सक्रिय जीवन र सकारात्मक सोच अपरिहार्य हुन्छ । यसमा व्यक्तिगत सरसफाइदेखि खानपानको आनीबानीसम्म समेटिन्छन् ।

१. शरीरिक सरसफाइ

हामीले गर्ने कुनैपनि काममा हातको प्रयोग बढी हुन्छ । साथसाथै खानेकुरा खान पनि हात नै प्रयोग गरिन्छ । त्यसैले हातको सफाइ सबैभन्दा महत्वपूर्ण कुरा हो । दिनभरिमा हामी हातले अनेक चिजबिज छोइरहेका हुन्छौं। जसले गर्दा हातमा अनेक प्रकारका जीवाणु रहन सक्छ । त्यही हातले खानेकुरा सेवन गर्दा उक्त जीवाणु हाम्रो शरीरभित्र प्रवेश गर्छ । त्यसैले हातको सरसफाइलाई विशेष ध्यान दिनुपर्छ । खानेकुरा खानुअघि राम्ररी हात धुनैपर्छ । घर बाहिरबाट आएपछि पनि साबुन पानीले हात धुनुपर्छ। यसले गर्दा हातमा रहेका किटाणुहरू नष्ट हुन्छन् ।

२. घरको सरसफाइ

घरको सरसफाइसँग पनि हाम्रो स्वस्थ्यको सोझो सम्बन्ध हुन्छ । घर फोहोर, दूषित, दुर्गन्धित छ भने हामीले जतिसुकै सरसफाइ  खोजे पनि कुनै न कुनै प्रकारको समस्या आउन सक्छ । त्यसैले शारीरिक सरसफाइसँगै अर्को शर्त हो, सफासुग्घर घर ।

घरको सरसफाइ भान्छा तथा शौचालयको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । त्यसबाहेक घर वरिपरि पानी जम्न नदिने,  सिंक,  बेसिन इत्यादिको नियमित रुपमा सफा गर्ने, खानेकुरालाई राम्ररी छोप्ने, चिसो भाडालाई किचनर्‍याकमा नराख्ने, भाडा राख्दा सफा गरेर राखेर तथा खानालाई छोपेर पनि रोग लाग्नबाट बच्न सकिन्छ ।

३. मौसमी खानेकुरा

हामी स्वादको लागि बेमौसमी खानेकुरा रुचाउँछौं । तर, मौसम अनुकूल खानेकुराले नै हामीलाई स्वस्थ राख्ने हो । हरेक मौसममा फरक फरक किसिमको अन्न, सागसब्जी, फलफूल उत्पादन हुनेगर्छ । हामीले मौसम अनुकूल खानेकुरा नै खानुपर्छ ।

४. ताजा फलफूल  र सलाद

खनामा सलाद अनिवार्य गर्नुपर्छ । मौसम अनुसारको सलाद सेवन गर्न सकिन्छ । काँक्रा, मुला, गाजर, चुकन्दरदेखि फलफूललाई समेत सलादको रुपमा सेवन गर्न सकिन्छ । सलादले पाचन यन्त्रलाई स्वस्थ र बलियो बनाउन सहयोग गर्छ ।

५. दही दूधको सेवन गर्ने

खानामा दूध, दही, हरियो सागसब्जी , दाल लगायतको सेवन गर्ने । खानामा सकेसम्म  धेरै भन्दा धेरै खानेकुरा समावेश गर्ने । खाना पकाउँदा तथा पिउदा सफा पानीको प्रयोग गर्ने । साथै,  फलफुल तथा तरकारीलाई राम्ररी सफा पानीले धोएर  खानाले पनि रोगको संक्रमण हुनबाट बच्न सकिन्छ ।

६. अनस्याचुरेटेड फ्याटको सेवन गर्ने

खानामा सकेसम्म मकै, सोयावीन, सनफ्लावर, अलिभ आयल लगायतको अनस्याचुरेटेड फ्याटको सेवन गर्ने ।खानामा चिनी वा नुनको कम भन्दा कम प्रयोग गर्ने । जंकफुड, चिसो पेय पदार्थ, तथा कृतिम चिनीबाट बनेको खानेकुराको कम सेवन गर्ने । राती सुत्नु अगाडी २–३ घण्टासम्म खानाको सेवन नगर्ने ।

७. चिल्लो कम गर्ने

तारेको, भुटेको लगायत मरमसालाको प्रयोग अधिक भएको खानेकुराको सेवनले मानिसलाई विभिन्न रोग लाग्ने गर्दछ । यस्ता खानेकुराको सेवन कम गरेर पनि रोग लाग्नबाट बच्न सकिन्छ । त्यस्तै, पोष्टिक तत्वयुक्त खानाको सेवन , खाना पकाउँदा तापमानको विशेष ख्याल गरेर, खानयोग्य वस्तुको मात्र सेवन गरेर तथा खानालाई छोपेर राखेर पनि स्वस्थ रहन सकिन्छ

८. सुत्ने कोठा खुला राख्ने

आफू सुत्ने वा आराम गर्ने कोठालाई सधै सफा राख्ने । साथै, खुला राख्ने ताकी त्यहाँबाट हावा भित्र छिर्न सकोस् ।  आफू सुत्ने तकीया, तन्ना तथा सिरक तथा पर्दाहरुको सरसफाई राम्ररी गर्नुका साथै ओछ्यानलाई बेलाबेलामा घामममा सुकाउने । यसले पनि धुलोका कण शरीरमा छिर्ने तथा धुलोका कारण एलर्जी हुने सम्भावना कम हुने गर्छ ।

९. योग गर्ने

शरीरलाई स्वस्थ एवं निरोगी राख्न योग निकै प्रभावकारी मानिन्छ । ययसको लागि विहान सबेरै उठेर योग, ध्यान गर्न सकिन्छ । यसले शरीरमा स्फूर्ति जगाउनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।

१०. सक्रिय रहने

निस्क्रिय नबस्ने । कुनै न कुनै रुपमा शरीरलाई सक्रिय राख्ने । घरायसी कामकाज संभव भएसम्म आफैले गर्ने । खाना पकाउने, सरसफाई गर्ने, बगैंचाको काम गर्ने जस्ता गतिविधिबाट शरीरलाई सक्रिय राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?