
१४ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको विषम परिस्थितिलाई सम्बोधन गर्न नसक्ने सांसदहरुले बताएका छन् । लामो समयदेखि लकडाउन जारी रहँदा जनताहरु भाकभोकै बस्नुपरेको उनीहरुको भनाइ छ ।
बुधबार नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राख्दै सांसदहरु नरोत्तम वैद्य, रिना गुरुङ, रामलाल महतो, हिरानाथ खतिवडा, विराजभक्त श्रेष्ठ र सीता लामाले कोरोनाबाट प्रभावित जनताहरुका लागि विशेष प्याकेज ल्याउनुपर्ने भन्दै नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका हुन् ।
सांसद वैद्यले स्थानीय तहहरुले लिएको राहत सकिएपछि प्रदेश सरकारले राहतका कार्यक्रम ल्याउछ भन्ने आश भएपनि त्यसो हुन नसकेको बताए ।
सांसद रिना गुरुङले जनताहरुलाई रोग र भोकबाट जोगाउनुपर्ने अहिलेको अवस्थामा नीति तथा कार्यक्रममा त्यसका लागि कुनै कुराहरु उल्लेख नभएको बताइन् ।
अर्का सांसद महतोले अहिले सबैभन्दा बढी महत्वतपूर्ण विषयवस्तु मानिसको जीवन र स्वास्थ्य भएकाले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरुको व्यवस्थापनमा प्रदेश सरकारको उपस्थिति जरुरी रहेको बताए ।
सांसद खतिवडाले अहिलेको परिस्थितिलाई सम्बोधन गर्र्नेगरी नीति तथा कार्यक्रम नआएको आरोप लगाए ।
सांसद विराजभक्त श्रेष्ठले फजुल खर्च, निर्वाचन क्षेत्र विकास खर्च घटाउँदै लकडाउनका कारण रोजगारी गुमाएकाहरुलाई राहत दिनुपर्ने बताए ।
सांसद सीता लामाले आर्थिक वृद्धि हासिल गर्न श्रम र श्रमिकको व्यवस्थापन गर्नुपर्ने बताइन् ।
सांसद ओमबहादुर घलाङले प्रदेश पूर्वाधार कोष खारेज गर्नुपर्ने माग राख्दै कृषि क्षेत्रका लगानी पानी र नीजि वनमा पनि लगाउनुपर्ने बताए । सांसद गणेश दुलालले प्रदेश निर्वाचन कोषलाई बढाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री भन्छन्– आवश्यक रकम स्थानीय तहलाई दिएका छौं
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहलाई आवश्यक रकम दिइएको बताएका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै पौडेलले दुई चरणमा गरी ३० करोड दिइएको बताए ।
क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माणका लागि अझै आवश्यकता अनुसार रकम प्रदान गरिने उनले बताए ।
उनले भने, ‘अझै आवश्यकता कति हो केका लागि हो भनेका छौँ । माग आएपछि हामी पैसा दिन तयार छौँ ।’ मुख्यमन्त्री पौडेलले आवश्यकता र सरकारको क्षमता अनुसार क्वारेन्टाइन निर्माण गरिएको बताए ।
मुख्यमन्त्री पौडेलले सरकारको नीति तथा कार्यक्रममा आएका कुराहरुमा शंका नगर्न आग्रह गनुृभयो । सरकारले घोषणा गरेका कार्यक्रमहरु पूरा गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले आजको भोलि परिणाम खोज्ने नभई तत्कालीन, मध्यकालीन र दिर्घकालीन रुपमा योजनाहरु अघि सारिएको बताए ।
संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।
प्रतिक्रिया 4