+
+
Shares

संविधान संशोधन विधेयक छिटो पेश गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १७:२२

१४ जेठ, काठमाडौं । संविधान संशोधनको विषय संसदमा छिटो प्रस्तुत गर्न सांसदहरुले माग गरेका छन् ।

छुटेका नेपाली भूमिसमेत समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा अनुसार निशान छाप अद्यावधिक गर्न दर्ता गरिएको संविधान संशोधन विधेयक चाँडै पारित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

‘भारतद्वारा अतिक्रमित भूमि नक्शामा सरकारले समावेश गरेको छ । यसको पूर्ण कार्यान्वयनका लागि छिटो भन्दा छिटो संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गरियोस्’ बुधबार प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल नेकपाकी सांसद रेखा शर्माले भनिन् ।

भारतसँग कुटनीतिक वार्ता र छलफल गरी अतिक्रमित नेपाली भूमि फिर्ता गराउन सरकार लाग्नुपर्ने उनले बताइन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसकी सांसद मिना सुब्बाले अतिक्रमित भूमि फिर्ता लिन सरकारलाई उच्चस्तरीय टोली गठन गरी अगाडि बढ्न आग्रह गरिन् ।

नेपालले पटक–पटक वार्ताका लागि आग्रह गर्दा समेत भारतले आलटाल गरिरहेको भन्दै असन्तुष्टि पोखिन् । ‘नेपाल सरकारले वार्तामा बस्न पटक पटक पहल गर्दा पनि भारतले किन आलटाल गरिरहेको छ । गोर्खालीका सन्तान हौं । उच्चस्तरीय टोली गठन गरी अगाडि बढ सरकार’ सांसद सुब्बाले भनिन् ।

नेकपाका सांसद मोहन बानियाँले राष्ट्रयताको विरुद्धमा नबोल्न सांसदहरुलाई आग्रह गरे ।

‘यही सदनमा राष्ट्रियतालाई धरौटीमा राखेर अलिकति पनि राष्ट्रको माया नगरेर अभिव्यक्ति दिने माननीयहरु उपस्थित हुनुहुन्छ । आफ्नो बोली फिर्ता गर्नुस्, राष्ट्रलाई माया गर्नुस्’ उनले भने ।

नेपाली भूमि मिच्न भारतलाई लाज लागेन ?

नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले भारतलाई ब्रिटिस उपनिवेशबाट मुक्ति दिलाउन नेपालीहरुले भूमिका खेलेको तर त्यो गुन बिर्सेर भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै रोष प्रकट गरे ।

‘नेपाले यति ठूलो गुन लगाएको ऋण तिर्नु त कता हो कता उल्टै महाकाली लिपुलेक र लिम्पयाधुरा समेत गरी ३३५ वर्ग किलोमिटर क्षेत्र अतिक्रमण गरी मुखमा राम राम बगलीमा छुराको सिद्धान्त लागू गर्न भारत सरकारलाई लाज लागेन ? यसको म घोर निन्दा गर्दछु’ सांसद विष्टले भने ।

सीमा विवादमा प्रमुखप्रतिपक्षी, प्रतिपक्षी र आम जनताको साथ पाइरहेको बेला सरकारले कुटनीतिक पहल गरेर अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने उनको भनाइ छ ।

सांसद विष्ट भन्छन्, ‘भूमि फिर्ताको विषय नेपाल सरकार कुटनीतिक क्षेत्रमा कति सफल कति असफल भएको भन्ने परीक्षणकमो घडी हुनेछ ।’

ग्रेटर नेपाल फर्काउने पहल गर्न आग्रह

समाजवादी पार्टीकी सांसद रेणुका गुरुङले ग्रेटर नेपाल फर्काउने गरी पहल गर्न सरकारलाई आग्रह गरिन् ।

१८१६ को सुगौली सन्धि नेपाल र अंग्रेजबीच भएको उल्लेख गर्दै उनले बेलायती महारानीले ग्रेटर नेपालको पूर्व टिष्टादेखि पश्चिम काँकडासम्म नेपाललाई फिर्ता गर्न बाँकी रहेको बताइन् ।

वेलायती महारानीले हाम्रो ग्रेटर नेपालको पूर्व टिष्टादेखि पश्चिम काँकडासम्म हामीलाई फिर्ता गर्नुछ । सभामुखमार्फत नेपाल सरकारलाई ग्रेटर नेपाल फर्काउन एलिवाजेथलाई निवेदन पठाउन जोडदार माग गर्दछु’ सांसद गुरुङले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?