
१४ जेठ, विराटनगर । बुधबार कोरोना संक्रमण पुष्टि भएका झापाका १७ जना भारतबाट आएको पाइएको छ ।
संक्रमण पुष्टि भएकामध्ये १५ जना झापाको कचनकवल गाउँपालिका र २ जना गौरादह नगरपालिकाका हुन् ।
संक्रमित सबै केही दिनअघि भारतबाट आएपछि स्थानीय सरकारले क्वारेन्टाइनमा राखेको थियो ।
कचनकवलमा नयाँ संक्रमण पुष्टि भएकाहरु दिल्ली र मुम्बईबाट आएकाहरु रहेको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।
उनका अनुसार यसअघि संक्रमण पुष्टि भएका ३३ जना पनि भारतबाटै आएकाहरु हुन् ।
भारतबाट आएकामध्ये जम्मा २ सय ६७ जनाको कोरोना जाँचको स्वाब संकलन गरिएको छ । ती मध्ये १७० जनाको रिपोर्ट आउँदा ४८ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।
गौरादह नगरपालिकाका नगर स्वास्थ्य प्रमुख गोविन्द श्रेष्ठका अनुसार संक्रमति दुईमध्ये एक जना भारतको उत्तर प्रदेश र एकजना सिक्किमबाट आएका हुन् ।
मेची भन्सारमा आएर रोकिएका दुईजनासहित अन्यलाई नगरपालिकाले ७ जेठमा मेची भन्सारबाट ल्याएर क्वारेन्टाइनमा राखिएको थियो । संक्रमण पुष्टि भएका सबैको कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गरिएको थियो ।
संक्रमित १७ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।
प्रतिक्रिया 4