+
+
Shares

प्रदेश २ मा भद्रगोल क्वारेन्टिन, त्यहीँबाट सर्न थाल्यो कोरोना

श्रवण देव श्रवण देव
२०७७ जेठ १७ गते २०:३८

१७ जेठ, जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५४७ पुगिसकेको छ । हरेक दिन थपिने संक्रमितको संख्यामा प्रदेशका आठ जिल्लाकै ठूलो हिस्सा हुन्छ । यसरी थपिने अधिकांश संक्रमितहरु भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरु छन् ।

अहिले पनि प्रदेशभरका क्वारेन्टिनमा १८ हजार बढी छन् । तर न्यूनमत मापदण्ड नै नपुगेको क्वारेन्टिन स्थल नै कोरोना संक्रमण फैलिने अखडा बन्दै गएको छ ।

००००

सप्तरीको डाक्नेश्री नगरपालिकाका चार सामुदायिक विद्यालयलाई क्वारेन्टिन स्थल बनाइएको छ । वडा नम्बर ५ पातोस्थित कन्तचन्द्र मावि, वडा नम्बर १ स्थित कविलासा मावि, वडा नम्बर ८ स्थित आधारभूत विद्यालय गम्हरिया प्रवाहा र वडा नम्बर ६ स्थित इस्लामियाँ वीपी प्राविलाई क्वारेन्टिन बनाइएको छ ।

कन्त चन्द्र मावि पातोमा १०७ जना छन् । तर उनीहरुलाई सुत्ने राम्रो व्यवस्था समेत छैन । कक्षाकोठाका डेस्क, बेञ्चमै बस्ने र सुत्ने गर्नु परेको छ । ‘खानेपानीको सुविधा छैन’ क्वारेन्टिनमा बसेका एकले भने, ‘‘बेन्चमै खान्छु, बेन्चमै सुत्छु । झुल पनि छैन ।’ उनीहरुलाई बिहान चिया बिस्कुट दिइन्छ भने खानाका लागि नगरपालिकाले दैनिक ३५० रुपैयाँका दरले नगद उपलब्ध गराएको छ ।

भद्रगोल क्वारेन्टिनको अर्काे नमुना हो, सप्तरीकै बोदे बर्साइन नगरपालिका ५ स्थित चन्द्र मावि ।

यहाँ शनिबारसम्म ९१ जना छन् । क्वारेन्टिनमा बसेका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तर सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन बेड अभाव भएकाले संक्रमितलाई पनि यही राखिएको छ ।

यद्यपि उनीहरुलाई छुट्टै कोठामा राखिएको क्वारेन्टिन प्रमुख ऐयुब राइन बताउँछन् ।

यो यही क्वारेन्टिन हो, जहाँ १५ जेठमा एकै पटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये एक युवक पछिल्लो साता मात्र बझाङबाट आएका थिए । बझाङबाट आएका दुई जनालाई भारतबाट आएकाहरुसँगै राखिएको थियो । उनीहरु मध्ये ३० वर्षीय युवकमा संक्रमण देखिएको हो ।

बझाङबाट आएका युवक क्वारेन्टिन स्थलमै संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य प्रमुख समेत रहेका राइनले पनि क्वारेन्टिनमा बसेकाहरुले सामाजिक दुरी कायम नगर्ने तथा एकैठाउँमा घुलमिल भएर बस्ने गरेका कारण संक्रमण सरेको हुनसक्ने बताए ।

अन्यत्र पनि क्वारेन्टिन स्थलमा न्यूनतम मापदण्ड समेत पूरा नहुँदा संक्रमण सरेको पाइएको छ । बाँकेको नरैनापुर त्यसको उदाहरण हो । त्यहाँ कोरोनाका कारण एक जनाको मृत्यु भइसकेको छ भने एक सयभन्दा बढी संक्रमित छन् ।

तर प्रदेश २ मा अधिकांश जिल्लाका स्थानीय तहका क्वारेन्टिन स्थलको अवस्था पनि उस्तै छ ।

सिरहाको बरियारपट्टी र औरही गाउँपालिकास्थित क्वारेन्टिन दैनिक रुपमा फोहोर बन्दै गएको छ । बरियारपट्टी–३ स्थित जनता माध्यमिक विद्यालयका क्वारेन्टिनमा ६८ जना छन् भने औरहीले स्थानीय विद्यालयमा ५५ जना बसिरहेका छन् ।

क्वारेन्टिनमा बसेकाहरुका लागि प्लाष्टिकको झोलामा खाना प्याकिङ्ग गरेर पुर्‍याउने गरेको छ । खाना, नास्ता र चिया प्याकिङमा प्रयोग भएको कागज तथा प्यास्टिक यत्रतत्र फलिएको छ भने खानेपानी र शौचालयको समेत राम्रो व्यवस्था छैन ।

जबकी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी २०७६ सम्भव भए शौचालयसहित छुट्टै कोठा र त्यो नभए न्यूनतमप्रति कोठा अधिकतम तीन जनाको दरले राख्नुपर्ने, ६ जनाका लागि एउटा साझा शौचालय र स्नान गृह भएको हुनुपर्ने, विद्युत, पानी लगायतका आधारभूत सेवा हुनुपर्ने भनेको छ ।

प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्काे खाटबीच न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने, ओढ्ने, ओछ्याउने र आवश्यक्ता अनुसार झुलसहित खाट, फोहोर फाल्ने डस्टबिन उपलब्ध गराउनुपर्ने मापदण्डमा छ ।

गर्भवती महिला, १० वर्षसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि प्राथमिकता दिई अलग्गै क्वारेन्टिन व्यवस्था गर्ने र स्वस्थ्य खाना र शुद्व पिउने पानीको व्यवस्था गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीलाई आवश्यताअनुसार खानाको व्यवस्था गर्नुपर्छ ।

मापदण्डमा सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख रहने अनुगमन समिति बनाउने भनिएपनि न कसैले अनुगमन गरेको छ, न चासो नै दिएका छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे क्वारेन्टिन सम्बन्धी मापदण्डले निर्देश गरेका बिषयहरु अनुशरण नगरिए थप समस्या आउनसक्ने बताउँछन् । ‘कोरोनाको जोखिम न्यूनिकरणका लागि सबै क्वारेन्टिनलाई व्यवस्थित गर्नु जरुरी छ’ उनी भन्छन्,‘ शौचालयदेखि फोहोर व्यवस्थापन, सेनिटाइजरहरुको व्यवस्था राम्रोसँग नभए जोखिम बढ्न सक्छ ।’

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?