Comments Add Comment

संक्रमण पुष्टि भएको तीनदिनमै कोरोनामुक्त बनिन् गर्भवती !

१७ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत हेटौंडा घर भएकी एक २५ वर्षीया गर्भवती युवती कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमै संक्रमण मुक्त भएकी छिन् ।

हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालाले गत जेठ १४ गते ती महिलामा संक्रमण पुष्टि भएको जनाएको थियो । उनको जाँच जेठ १० गते भए पनि संक्रमण पुष्टि भने प्रयोशालाले जेठ १४ गते मात्रै गरेको थियो । सोही आधारमा एक साता मानेर शनिबार स्वाब लिएर दुईपटक कोरोना परीक्षण गरिएको थियो ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुई पटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ की ती महिला पाँच महिनाकी गर्भवती छिन् ।

भरतपुर अस्पतलाका फिजिसियन डा. प्रमोद पौडेलले गर्भवती महिला यति छिटो नै संक्रमणमुक्त भएको पहिलो घटना हुन सक्ने बताए । भाइरल लोड कम र इम्युनिटी पावर राम्रो भएकोले उनी छिटो निको भएको हुन सक्ने पौडेलले बताए ।

उनलाई आइतबार बिहान अस्पतालबाट डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताए ।

जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ती महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई भरतपुर अस्पतालमा ल्याएर उपचार गरिएको थियो । उनी र उनका श्रीमान चितवनमै रोजगारी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment