Comments Add Comment

७ जनामा संक्रमण पुष्टि, ३२ जिल्लामा पुगे २८१० जना

१७ जेठ, कैलाली । गौरीफन्टा नाकाबाट ८ जेठमा २४ सय ९८ जना नेपाल प्रवेश गरे । दार्चुलाको धार्चुला नाकाबाट ३१९ जना भित्रिए । दुई नाकाबाट एकैदिन नेपाल आएका २८१७ जनामध्ये ७ जनामा कोरोना संक्रमणको पुष्टि भयो ।

उनीहरु मध्ये ६ जनाको कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेको सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । ‘८ गतेको भीडमा रहेका केहीको आरडीटी परीक्षणमा पोजेटिभ आएको थियोे । केहीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखेपछि यहाँ ल्याइएको थियो,’ श्रेष्ठले भने,  ‘यसरी ल्याइएका १९ जनामध्ये ६ जनामा संक्रमित पुष्टि भयो । अरु डिस्चार्ज भए ।’

बैतडीको शिवनाथ गाउँपालिकाका ४ र अछामको मेल्लेख गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

अर्का संक्रमित दार्चुला अस्पतालको आइसोलेसनमा छन् । उनी महाकाली नगरपालिकाका हुन् ।

३२ जिल्लामा पुगे २८१० जना

जेठ ८ मा दुई नाकाबाट नेपाल आएका २८१० जना ३२ जिल्लामा पुगेको पाइएको छ ।

गौरिफन्टा नाकाबाट भित्रिएकामध्ये २८९ जना कैलालीमा छन् । १४५ जना कञ्चनपुर, १९१ जना अछाम, ८२९ जना बैतडीमा र ६५ जना बझाङ पुगेका छन् । यस्तै डडेल्धुरामा ३३१ जना, डोटीमा ३८२ जना, बाजुरामा २२ जना र दार्चुलामा १३ जना गएका थिए ।

सुदूरपश्चिम प्रदेश बाहेकका अन्य २३ जिल्लामा २३७ जना नागरिक गएका छन् । उनीहरु काठमाडौं, बाग्लुङ, म्याग्दी, सुर्खेत, स्याङ्जा, मोरङ, रुपन्देही, तनहुँ लगायतका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले ८ जेठ कैलाली नाकाबाट आएकाहरुमध्ये ६ जनामा संक्रमण पुष्टि भएपछि अरुलाई पनि जानकारी गराइएको छ । सबै क्वारेन्टिनमा रहेको भन्दै उनले भने, ‘संघीय सरकारले सम्बन्धित क्वारेन्टिनमा जानकारी गराइसकेको छ ।’

उता दार्चुलाको धार्चुला नाकाबाट आएका ३१९ जना अस्पतालको आइसोलेसनमा छन् ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा त्यसदिन १८६ जना भित्रिएका थिए । १३२ जना अन्य जिल्लामा थिए । उनीहरु मध्ये धेरै सुर्खेत दैलेख, हुम्ला र जुम्लामा गएका छन् ।

परीक्षणमा समस्या

८ गते कैलालीको गौरिफन्टा र दार्चुलाको धार्चुला नाकाबाट नेपाल भित्रिएकामध्ये सबैको स्वास्थ्य परीक्षण हुन नसकेको स्वास्थ्य निर्देशनायका निरीक्षक हेमराज जोशी बताउँछन् । ‘सबै भिडमा थिए । अहिलेसम्म सबैको परीक्षण भएको छैन’ उनले भनेका छन्, ‘तर १४ दिनभित्र सबैको परीक्षण हुन्छ ।’

दैनिक सयौंको संख्यामा मानिसहरु आएकाले परिक्षण गर्न समस्या भइरहेको जोशीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका ४ नाकाबाट जेठ महिनामा मात्रै आधा लाख नागरिक नेपाल भित्रिएका छन् । तर पर्याप्त किट नहुँदा उनीहरुमध्ये अधिकांशको परीक्षण हुन सकेको छैन । प्रदेशमा अहिले पीसीआर र आरडीटी दुवै किटछैन । जिल्लाहरुमा भएको किट पनि क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गर्न पर्याप्त छैन ।

‘केही दिन पहिले ४ हजार किट आएको थियो । सबै जिल्लामा पठाइएका छौ । प्रदेशमा किट छैन,’ उनले भने, ‘जिल्लामा पुगेको किट पनि पर्याप्त छैन भन्ने सूचना आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment