
१८ जेठ, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । ११ महिनादेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
२०७६ साउन १ गतेदेखि वडा कार्यालय र गाउँपालिकाको निर्देशनमा काम गरे पनि तलब नपाएको भन्दै गाउँपालिका र वडा कार्यालयमा कार्यरत कार्यालय सहायक, सामाजिक परिचालक, पशु प्राविधिक आन्दोलनमा उत्रिएका हुन् ।
तलब नपाउँदा कोरोना भाइरसको महामारीमा जीवन निर्वाह गर्न समस्या भएको, बिरामी हुँदा उपचार गर्न नसकेको र भोकमरीमा पर्ने खतरा रहेको आन्दोलनरत कर्मचारी रमेन्द्र थान तिवारीले बताए ।
‘वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक/कार्यालय सहायकहरुको म्याद ०७६ असार मसान्तमा सकिएको थियो, तर गाउँपालिकामा आवश्यक छ भनेर ०७७ असार मसान्तसम्मका लागि म्याद थप गरिएको हो । तर तलब भत्ता भने नदिएर झुलाएर राखेका छन्’ तिवारीले भने ।
४ जना सामाजिक परिचालक र झण्डै ३० जना करार र ज्यालादारी कर्मचारी गाउँपालिकामा छन् ।
गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले भने विशेष गाउँ सभा हुन नसक्दा कर्मचारीका लागि बजेट निकासा गर्न नसकेको बताए ।
‘वीरगञ्जबाट नजिक भएकोले जिल्लाबाट समायोजनमा करार र ज्यालादारीका धेरै कर्मचारी पालिकामा आउनुभएको थियो । तर पछि संघ सरकारले नै ज्यालादारी र करारमा कर्मचारी नराख्नु भनेपछि समस्या भएको हो’ उनले भने ‘उहाँहरुले काम गरिसक्नुभएको छ, त्यसैले आन्तरिक स्रोतबाट जे जति सकिन्छ व्यवस्था गर्ने तयारी गरेका छौं ।’
प्रतिक्रिया 4