
१२ असार, वीरगञ्ज । कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगञ्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिन सञ्चालनमा आएको छ ।
महानगरपालिकाले हस्तान्तरण गरेको ६ दिनपछि मेसिन सञ्चालनमा ल्याइएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ । अब नारायणी अस्पतालमा कोरोना परीक्षण गर्ने दुईवटा मेसिन भएको छ । पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक ५÷६ सय नमुना सहजै परीक्षण गर्न सकिने ल्याबका प्राविधिक बताउँछन् ।
नारायणी अस्पतालमा संघीय सरकारले ३६ वटा स्वाब एकैपटक परीक्षण गर्न सकिने मेसिन पठाएको थियो । तर महानगरपालिकाले किनेको मेसिन त्यो भन्दा दोब्बर क्षमताको भएको दावी गरिएको छ ।
कोरोना कोषमा उद्योगी, व्यवसायी र दाताले जम्मा पारेको रकमबाट महानगरले कोरोना परीक्षण गर्ने मेसिन किनेको हो । असार ५ गते वीरगञ्ज आइपुगेको मेसिन असानर ६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नारायणी अस्पताललाई हस्तान्तरण गरेका थिए ।
नारायणी अस्पतालकी प्रयोगशाला प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट डां नीरा पाठकले बिहीबारदेखि उक्त मेसिन सञ्चालनमा ल्याएको बताइन् ।
महानगरपालिकाले ‘एक घर, एक पीसीआर’ गर्ने लक्ष्य लिएको छ । त्यसका लागि दुई हजार पिस रिएजेण्ट किट मगाएको छ । सोमबारसम्म किट आइपुग्ने र समुदायमा परीक्षण शुरु गरिने वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बताए ।
प्रतिक्रिया 4