Comments Add Comment

सुशान्तको आत्महत्याले उदांगो बनाइदिएको बलिउड

यस्तो छ, आत्महत्या प्रकरणको अन्तरकथा

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरण झन्–झन् गाँठो पर्दै गएको छ । दुई साता अगाडि आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । डिप्रेसनका कारण सुशान्तले आत्महत्या गरेको ‘तथ्य’ लाई अहिले धेरैले पत्याउन छाडेका छन् ।

भारतीय मिडियाको दाबीअनुसार उनी एक वर्षदेखि मनोचिकित्सकको परामर्शमा डिप्रेसनको औषधि सेवन गरिरहेका थिए । तर, यो दावीलाई पुष्टि गर्ने ठोस प्रमाण उनीहरुले सार्वजनिक गर्न सकेका छैनन् । प्रहरीले सुशान्तको फ्ल्याटमा खानतलासी गर्दा डाक्टरको प्रेस्किप्सन फेला नपारेको रिपोर्ट केही मिडियामा आएका छन् । सुशान्तको साथमा कुनै ‘सुसाइड नोट’ पनि भेटिएको छैन ।

अहिलेसम्म मिडियामा आएको अपुष्ट घटना विवरण यस्तो छ :

घटना गत १४ जूनको हो । त्यस दिन बिहान १० बजे सुशान्तले आफ्नी बहिनीसँग फोनमा कुरा गरेका थिए । साढे १० बजे उनी आफ्नो बेडरुमबाट निस्किए र चिसो जुस पिए । फेरि बेडरुमभित्र पसेर ढोका लक गरे ।

त्यसबेला उनको फ्ल्याटमा दुई कुक, घरेलु कामदार र एक साथी गरी चारजना थिए । धेरै बेरसम्म सुशान्त बाहिर ननिस्किएपछि साढे १२ बजेतिर उनीहरुले ढोका ढक्ढक्याए । कुनै चालचुल सुनिएन ।

त्यसपछि डुब्लीकेट साँचो बनाउने मिस्त्रिलाई बोलाइयो । मिस्त्रीले साँचो बनाइदिएपछि ढोका खोलियो । भित्र सुशान्त पङ्खामा झुण्डिरहेका थिए । आफ्नै बेडको तन्नाको पासो लागेका उनलाई सबैले मिलेर उतारे । त्यसपछि मात्रै प्रहरीलाई खबर भयो । अनि हतार–हतार अस्पताल लगियो । तर, अस्पताल पुर्याउँदा उनको शरीरमा प्राण बाँकी थिएन ।

प्रहरीले तत्कालै यसलाई आत्महत्या बतायो । पोष्टमार्टम रिपोर्टमा पनि सुशान्तले आत्महत्या गरेको ठहर गरिएको छ । तथापि परिवारजन र सुशान्तलाई नजिकबाट चिन्नेहरुलाई यसलाई विश्वास गरेका छैनन् । उनीहरुले सीबीआईबाट घटनाको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरिरहेका छन् । हाल मुम्बई पुलिसले अनुसन्धान गरिरहेको छ ।

यस प्रकरणमा भारतीय मिडियाहरुमा विरोधाभाषपूर्ण रिपोर्टहरु आइरहेका छन् । मुलधारका मिडिया र साना मिडिया (यूट्यूव च्यानलहरुसहित) को भाष्य विलकुल फरक छ । मुलधारका मिडियाले डिप्रेसनका कारण सुशान्तले आत्महत्या गरेको भनेर घटनालाई सरलिकरण गरेका छन् । तर, साना मिडियाले चाहिँ घटनालाई शंकाष्पद मानेका छन् । कतिपय हत्या नै भएको ठोकुवा पनि गरेका छन् । सामाजिक सञ्जालमा भारतीयहरुको आम अभिमत पनि यो सामान्य आत्महत्या होइन भन्ने छ ।

सुशान्त पछिल्लो समय दुईवटा कुराले प्रताडित थिए, पहिलो करिअर र दोस्रो प्रेम । करिअरले सोचेको उचाई लिन सकिरहेको थिएन भने प्रेममा उनीमाथि चिटिङ भइरहेको थियो ।

टेलिभिजनबाट संघर्ष गर्दै सुशान्तले सन् २०१३ बाट ठूलो पर्दामा इन्ट्री गरे । गुड लुकिङ हुनुका साथै अभिनय पनि ठिकठाक भएकाले सुशान्तलाई लामो रेसको घोडा मानिएको थियो । पहिलो फिल्म ‘काइ पो चे’ बाट नै सुशान्तले प्रशस्त प्रशंसा बटुल्न सफल र्भए । सो फिल्म बक्स अफिसमा पनि सफल थियो ।

त्यसयता सुशान्तले जम्मा ११ वटा फिल्ममा काम गरे, जसमध्ये अन्तिम फिल्म ‘दिल बेचारा’ रिलिज हुन बाँकी छ । उनका फिल्ममध्ये २०१६ मा रिलिज भएको ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ सर्वाधिक चर्चित र सफल रह्यो । त्यसबाहेक ‘शुद्ध देसी रोमान्स’, पीके (केमियो), ‘केदारनाथ’, ‘छिचोरे’ जस्ता चलचित्रबाट पनि उनले राम्रै चर्चा पाए ।

समग्रमा उनलाई असफल भन्न मिल्दैन । उनको फ्यान फलओइङ निकै राम्रो थियो । तर, पनि सुशान्तको करिअरको ग्राफ उकालो लाग्न सकेन । उनी बलिउडमा उग्ररुपले हावी नेपोटिज्म (परिवारवाद) को शिकार भइरहेका थिए । प्रतिभाशाली र मिहिनेती भएर पनि उनलाई नेपोटिज्मले पछाडि धकेलिरहेको थियो ।

यशराज फिल्म्सको अवरोध

पहिलो चलचित्र नै हिट भएपछि सुशान्तमाथि धेरैले प्रोडक्सन हाउसले चाख देखाए । तीमध्ये यशराज फिल्म्सले उनलाई तीन चलचित्रका लागि अनुवन्ध गर्यो । ती फिल्महरु नसकिँदासम्म अन्य प्रोजेक्टमा काम नगर्ने शर्तसहितको सम्झौतापत्रमा सुशान्तले हस्ताक्षर गरे । यही सम्झौता उनका लागि गलपासो बन्यो ।

यशराज फिल्मले सुशान्तलाई बन्धकजस्तो बनाइदियो । न आफूले गतिलो फिल्म दियो, न बाहिरबाट अफर आएका प्रोजेक्टमा काम गर्ने अनुमति । बलिउडका नामी निर्माता–निर्देशकहरु सुशान्तसँग काम गर्न इच्छुक देखिएका थिए । निर्देशक सञ्जय लिला भन्सालीले उनलाई ‘राम लिला’ र ‘बाजी राव मस्तानी’ मा प्रमुख भूमिकामा अफर गरेका थिए । तर यशराजले उनलाई अनुमति दिएन । ती दुवै फिल्म रणवीर सिंहले हत्याए । जबकि रणवीरसँग पनि यशराजको उस्तै प्रकृतिको सम्झौता थियो । उनलाई चाहिँ यसराजले रोकेन ।

यसैगरि प्रख्यात निर्देशक राजकुमार हिरानीले ‘सञ्जु’ मा मुख्य भूमिकाका लागि सुशान्तलाई पहिलो छनोटमा राखेका थिए । तर, यहाँ पनि यशराज अवरोध बन्यो । सम्झौताबाट बाँधिएका सुशान्तले सञ्जु छोड्नुपर्यो । उक्त फिल्म ‘स्टार किड’ रणवीर कपुरले हात पारे । सो फिल्म बम्पर हिट भयो । यो फिल्ममा काम गर्न पाएको भए सम्भवतः सुशान्तले सफलताको उचाई छुने थिए ।

सन् २०१८ मा यसराजसँग सुशान्तको सम्झौता समाप्त भयो । तर, त्यतिबेलासम्म यशराजसँग उनको सम्बन्ध खराब भइसकेको थियो । त्यसैले यशराजले उनको करिअरमा टाङ अडाउन छोडेन । बलिउडकै ठूलो र शक्तिशाली प्रोडक्सन हाउसले आफ्नो पहुँच प्रयोग गरेर सुशान्तलाई राम्रा फिल्महरुबाट वञ्चित गरिरह्यो । यशराज फिल्म्सका मालिक आदित्य चोपडा हुन् । उनी नायिका रानी मुखर्जीका श्रीमान हुन् ।

निशानामा करण जोहर र सलमान खान

सुशान्तको ‘आत्महत्या’ पछि उनका फ्यानहरु आदित्य चोपडासहित अन्य केही बलिउड हस्तिहरुमाथि खनिएका छन् । सबैभन्दा बढि आक्रमणको तारो बनेका छन् निर्देशक करण जोहर र नायक सलमान खान । उनीहरुविरुद्ध विहारको एक अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा समेत दायर भएको छ । यी दुईको के कनेक्सन थियो त सुशान्तसँग ?

सन् २०१२ मा नवनायिका जिया खानले आत्महत्या गरिन् । उनलाई आत्महत्यातर्फ धकेल्ने प्रमुख पात्र मानिएका थिए, पुराना अभिनेता आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोली । सुरजलाई दोषि देखाउने धेरै प्रमाण हुँदाहुँदै पनि यो घटनालाई यत्तिकै दवाइयो । अदालतले पनि सुरजलाई क्लीन चिट दियो ।

पछि नायक सलमान खानले आफ्नो प्रोडक्सन हाउसबाट निर्माण गर्ने फिल्ममा सुरज पन्चोलीलाई ब्रेक दिए । यसरी सलमानको छत्रछाया पाएपछि सुरजलाई कसैले छुन सक्ने कुरै भएन । उनको रवाफ निकै बढ्यो । एउटा पार्टीमा उनको सुशान्तसँग झगडा पर्यो । यो झगडाको खबर सलमानको कानसम्म पुग्यो । आफ्नो फिल्मको हिरोसँग झगडा गरेको भन्दै सलमानले सुशान्तलाई फोन गरेर झपारे ।

त्यसबेला सुशान्त निर्देशक करण जोहरको नयाँ चलचित्र ‘ड्राइभ’का लागि अनुबन्धित भएका थिए । सलमानले सुशान्तलाई सो चलचित्रबाट हटाउनका लागि करणलाई दवाव दिए । करण आफैं शक्तिका पुजारी हुन् । उनी आफ्ना फिल्ममा कि नाम चलेका स्टारलाई लिन्छन्, कि स्टार किड्सलाई । उनले उक्त फिल्मबाट सुशान्तलाई हटाउन त हटाएनन् बरु फिल्मलाई हलमा रिलिज नै गरेनन् करणले । सलमानलाई खुशी पार्नका लागि उनले सो फिल्मलाई थियटरमा नचलाई नेटफ्लिक्समा मात्रै राखे ।

योभन्दा अगाडि करणले सुशान्तलाई गरेको उपेक्षा र तिरस्कारको अर्को कथा छ । हिन्दूस्तान टाइम्समा प्रकाशित रिपोर्ट अनुसार करणको धर्मा प्रोडक्सनले बनाउने एउटा फिल्ममा करण अनुवन्धित भएका थिए । तर, बिनाकारण उनी निकालिए । त्यसपछि सुशान्तले लगातार करणलाई फोन गरे । तर, करणले उनको फोन कहिल्यै रिसिभ गरेनन् । अन्तिममा करणका म्यानेजरले फोन उठाए । उनले जवाफ दिए कि हाम्रो फिल्ममा या त स्टारले काम गर्छन् या स्टार किड्सले । यस्तो जवाफले निकै आहत भए सुशान्त । उनले करणको फिल्मका लागि केही प्रोजेक्टहरु पन्छाएका थिए । निकै तयारी पनि गरेका थिए । सबै खेर गयो ।

सुशान्तको आत्महत्यालगत्तै करणले लेखेको स्टाटसले पनि यसको स्वीकारोक्ति पाइन्छ । करणको स्टाटस यस्तो थियोः

‘बितेका वर्षमा म तिमीसँग सम्पर्कमा नआएकोमा आफैंलाई आरोपित गर्छु । तिमीलाई आफ्नो जीवनबारे विभिन्न कुराहरु सेयर गर्न मानिसहरु चाहिएको थियो । तर, मैले त्यो अनुभूतिलाई पछ्याउन सकिनँ । अब आइन्दा यस्तो गल्ति कहिल्यै गर्ने छैन । सुशान्तको असामयिक निधन मेरो लागि ठूलो सावधानीको घन्टी हो ।’

करण र सलमानसँगै बलिउडका अन्य स्टार किड्सलाई सामाजिक सञ्जालमा चौतर्फी हमला भइरहेको छ । सोनाक्षी सिन्हा, सोनम कपुर, आलिया भट्ट, परिणिती चोपडा लगायतका कलाकारहरु निशानामा परिरहेका छन् । उनीहरुलाई सामाजिक सञ्जालमा अनफलो गर्ने क्रम तीव्ररुपमा बढिरहेको छ ।

सत्रुध्न सिन्हाकी छोरी सोनाक्षी सोनाक्षी सिन्हाले गाली सहन नसकेर ट्विटर अकाउन्ट नै बन्द गरिन् । करण जौहरले ट्विटरमा ८ जनालाई छोडेर सबैलाई अनफलो गरेका छन् । अनिल कपुरकी छोरी नायिका सोनम कपुरले आफूलाई आएका अश्लिल गालीहरु संकलन गरेर ट्विटरमा पोष्ट गर्दै चित्त दुखाएकी छन् ।

महेश भट्ट कनेक्सन

सुशान्तको आत्महत्या प्रकरणमा अहिले अर्को ट्विस्ट आएको छ । उनकी प्रेमिका रिया चक्रवर्ती बयोवृद्ध बलिउड निर्देशक महेश भट्टसँग समानान्तर अफेयरमा रहेको खुलासा भएको छ ।

महेश भट्ट र रियाका अन्तरंग तस्वीरहरु अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएका छन् । सुशान्तको दुखान्तमा महेश भट्ट र रियाको अहम् भूमिका रहेको चर्चा तीव्र भइरहेको छ । यद्यपि, शक्तिको भक्ति गाउने मुलधारका मिडियाले भने यो विषयलाई ढाकछोप गर्न खोजेका छन् ।

७१ वर्षिय निर्देशक महेश भट्ट चर्चित नायिका आलिया भट्टका बुवा हुन् । उनको छवि पहिल्यैदेखि विवादित छ । आफ्नै छोरी पुजा भट्टसँग आपत्तिजनक फोटोसेसनदेखि कास्टिङ काउचसम्मका विवादमा उनी मुछिएका छन् ।

भट्टले लोरेन ब्राइट नाम गरेकी विदेशी युवतीसँग पहिलो विवाह गरेका थिए । तर, विवाह गरेको केही समयमै उनी परबिन भावी नाम गरेकी अभिनेत्रीसँग उनको अफेयर सुरु भयो । त्यो थाहा पाएपछि लोरेनले उनलाई छोडिन् । यता, परविनसँग पनि उनको सम्वन्ध टुट्यो । पछि परविनले आत्महत्या गरिन् । त्यसपछि भट्टले मुस्लिम युवती सोनी राजदानसँग बिहे गरे । सोनीबाटै जन्मिएकी हुन् आलिया ।

त्यसो त आलियाको विषयमा विभिन्न अफवाह छन् । उनलाई सोनीले नभएर सौतेनी दिदी पुजा भट्टले जन्माएको भनेर गाईंगुईं चल्दै आएको छ । पुजा महेशकी पहिलो श्रीमतीतर्फकी छोरी हुन् । आफ्नै छोरीसँग पनि महेशको पवित्र सम्वन्ध थिएन । एक अन्तरवार्तामा उनले भनेका थिए, ‘मेरी छोरी नभएको भए पुजासँग विहे गर्थेँ ।’ महेशले छोरी पुजासँग टङ किस गरेको कभर फोटो एक म्यागजेनमा प्रकाशित भएको थियो ।

केही समय अगाडि ‘कफी विथ करण’ नामक टिभी कार्यक्रममा गेस्ट बनेर गएकी थिइन् आलिया भट्ट । उक्त टक शोका सञ्चालक करण जौहरले उनलाई सोधे, ‘तपाईंको विषयमा फैलिएको सबैभन्दा ठूलो अफवाह के हो ?’ आलियाले निशंकोच जवाफ दिइन्, ‘यही कि म आफ्नी दिदी पुजा भट्टको छोरी हुँ ।’

बुढेसकालसम्म पनि महेश भट्ट नयाँ–नयाँ अफेयरमा रमाइरहे । सात वर्ष अगाडि आत्महत्या गरेकी नायिका जिया खानसँग पनि महेशको प्रेमसम्वन्ध रहेको खुलासा भएको थियो ।

आफूभन्दा ४० वर्ष कान्छी युवती रियासँग तीन वर्षदेखि निकट भएका हुन् महेश । दुई वर्ष अगाडि रियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा महेशसँगका अन्तरंग तस्वीरहरु हालेकी थिइन् । त्यसको क्याप्सनमा लेखेकी थिइन्– ‘माइ बुढ्ढा’ (मेरो बुढो) । ती तस्वीर र क्याप्सनले सामाजिक सञ्जाल निकै तताएको थियो । पछि महेश भट्टले स्पष्टिकरण दिँदै रिया आफ्नो छोरीजस्तो भएको बताए । जबकि तस्वीरहरुले उनीहरुबीच नाजायज सम्वन्ध रहेको स्पष्ट देखाउँछन् । अहिले भाइरल भएका तस्वीर तिनै हुन् । रियाले आफ्नो अकाउन्टबाट यी तस्वीरहरु हटाइसकेकी छन् ।

हजुरबा उमेरका वृद्धसँग रिया कसरी प्रेममा परिन् त ? यसमा दुई कारण थिए, पैसा र करिअर । महेश उनका लागि जति पैसा खर्च गर्न पनि तयार थिए । साथै उनले आफ्ना फिल्ममा पनि रियालाई चान्स दिने लोभ देखाएका थिए । दुईवटा फिल्ममा खेलाएका पनि छन् । महेशले बनाएका ‘मेरे ड्याडकी मारुती’ र ‘हाफ गर्लफ्रेन्ड’मा रियाको छोटो भूमिका छ ।

रिया र सुशान्तको सम्वन्ध

सुशान्तसँग २०१३ बाट रियाको चिनजान भएको हो । तर, त्यसबेला सुशान्तको अंकिता लोखन्डे नामकी युवतीसँग प्रेममा थिए । उनीहरुको ईंगेजमेन्टसमेत भइसकेको थियो । तर सन् २०१६ मा उनीहरुको ब्रेकअप भयो । त्यसपछि सुशान्त रियासँग नजिकिएका हुन् । उनीहरु २०१८ बाट औपचारिक प्रेम सम्वन्धमा रहेको बताइन्छ ।

उता महेशसँग पनि रियाले समानान्तर अफेयर राखिरहिन् । महेशसँगको सम्वन्ध थाहा पाएर पनि सुशान्तले उनलाई छोड्न सकेनन् । गत तीन महिनादेखि सुशान्त र रिया लिभिङ टुगेदरमा थिए । बान्द्रामा रहेको सुशान्तको फ्ल्याटमै बस्थिन् रिया ।

सुशान्तले रियालाई आफ्नो मन–मुटु मात्र सुम्पेका थिएनन्, भौतिक सम्पत्तिमा पनि रजाईं गर्न दिएका थिए । सुशान्तले विभिन्न क्षेत्रमा काम गर्ने तीनवटा कम्पनी खोलेका थिए, तीमध्ये दुईवटामा रियालाई डाइरेक्टर बनाएका थिए । जबकि रियाको दुवै कम्पनीमा एक रुपैयाँ पनि लगानी थिएन । रियाका भाइलाई पनि उनले कम्पनीको महत्वपूर्ण जिम्मेवारी दिएका थिए । यो कुरालाई लिएर सुशान्तको परिवार उनीसँग असन्तुष्ट थियो ।

निर्देशक रुमी जाफरीले खुलासा गरेका छन् कि उनको आगामी फिल्ममा सुशान्त र रियाले एक साथ काम गर्नेवाला थिए । आफूले सुशान्तसँग यही वर्षको नोभेम्बरमा बिहे गर्ने तयारी गरेको रियाले प्रहरीसँगको बयानमा बताएकी छन् ।

सुशान्तले आत्महत्या गर्नुभन्दा केही दिन अगाडि रिया बान्द्रास्थित सुशान्तको घर छोडेर हिँडेकी थिइन् । उनले सामाजिक सञ्जालबाट सुशान्तसँगका सबै तस्वीरहरु पनि हटाइन् । महेश भट्टले नै उनलाई सुशान्तबाट अलग हुन दवाव दिएका थिए । तर, सुशान्तले भने रियालाई आफ्नो मनबाट उखेल्न सकेनन् ।

सुशान्तले आत्महत्या गर्नुअगाडि अन्तिम फोन कल रियालाई नै गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । तर, सो कल रियाले रिसिभ गरिनन् । त्यसै दिन रिया उनको घरमा आउने योजना बनेको भए पनि नआएको प्रहरीले जनाएको छ ।

झुण्डीएको अवस्थामा भेटिएपछि सुशान्तलाई अस्पताल पुर्याइएको थियो । खबर थाहा पाउनासाथ रिया पनि तुरुन्तै अस्पताल पुगिन् । त्यहाँ सुशान्तको परिवारका सदस्यहरु उनीमाथि खनिएका थिए । उनीहरुले सुशान्तको अन्त्येष्टिमा नआउन रियालाई चेतावनी दिएका थिए । त्यसैले रिया अन्त्यष्टिमा सहभागी भइनन् ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले रियासँग ११ घन्टा लामो बयान लिएको छ । अर्कोतर्फ बिहारको मुजफ्फरपुरस्थित एउटा अदालतमा रियाविरुद्ध मुद्दा दायर भएको छ । सुशान्तका एक फ्यानले दायर गरेको मुद्दामा उनीमाथि आत्महत्या दुरुत्साहनको अभियोग लगाइएको छ ।

महेश भट्टले आफूमाथि थप सन्देहमा पार्ने गरी गत २२ जूनमा एउटा ट्वीट गरेका छन् ।  एउटा अस्थिपञ्जरको तस्वीर हालेर उनले लेखेका छन्, ‘मर्न लागेको मान्छेले अनौठा कुराहरु सोच्छ । हामी सबै यहाँ त्यही अवस्थामा छौं । होइन त ?’

यो ट्विटको व्यापक आलोचना भयो । सुशान्तको मजाक उडाएको भनेर धेरैले उनलाई तथानाम गाली गरेका छन् । तर, पनि अहिलेसम्म भट्टले ट्विट हटाएका छैनन् ।

अर्को एउटा सन्दर्भ पनि छ । सुशान्तको आत्महत्या लगत्तै महेश भट्टका दाजु मुकेश भट्टले टेलिभिजनमा अन्तरवार्ता दिए । त्यसमा उनले सुशान्तले आत्महत्या गर्छन् भन्ने आफूलाई पहिल्यै लागेको दावी गरेका छन् ।

मुकेश भट्ट भन्छन्, ‘मैले उसलाई एक–डेढ वर्षअघि भेट्दा नै यो अनुमान गरको थिएँ । उ आफैंमा हराइरहेको थियो । उसको मन मस्तिष्क ठिक ठाउँमा थिएन । मैले आफ्नो भाइसित भनेको पनि थिएँ, यो मान्छे परविन भावीकै बाटोमा जान्छ ।’

तेस्रो सन्दर्भ । महेश भट्टकी छोरी आलियालाई ‘कफी विथ करण’ करण जोहरले सोधेका थिए, ‘बलिउडका हिरोहरुमध्ये कोसँग बिहे गर्न, कोसँग डेट जान र कसलाई मार्न चाहनुहुन्छ ?’ यस्तो आपत्तिजनक प्रश्नलाई आलियाले सहजरुपमा लिइन् र जवाफ पनि सहजै दिइन्, ‘रणवीर कपुरसँग डेट जान चाहन्छु, रणवीरसँगै बिहे गर्न चाहन्छु र सुशान्तलाई मार्न चाहन्छु ।’

बलिउडको कालो पाटो

बाहिरबाट हेर्दा चमकदमकपूर्ण छ भारतीय फिल्म नगरी बलिउड । तर, त्यहाँभित्रको कथा–व्यथा अर्कै छ । संसारकै दोस्रो ठूलो फिल्म नगरी भए पनि केही ठूला घरानाहरुको मुठ्ठीमा छ बलिउड । यी घरानाबाहेकका संघर्षशील कलाकारलाई दोस्रो दर्जाको व्यवहार हुन्छ । उनीहरुले अनेक व्यवधान खेप्नुपर्छ । सुशान्तको आत्महत्याले बलिउडको यही कालो पाटोलाई उदांगो बनाइदिएको छ ।

बलिउडलाई परिवारवादले गाँजेको विषयमा पहिल्यैदेखि धेरै बहसहरु हुँदै आएका छन् । स्टार किड्स (चर्चित कलाकारहरुका सन्तान) ले त्यहाँ चलचित्रमा स्थापित हुन कुनै संघर्ष गर्नु पर्दैन । फिल्ममा डेब्यू गर्नु अगावै मिडियाहरुले उनीहरुलाई स्टार बनाइसकेका हुन्छन् । लगातार फिल्म फ्लप हुँदा पनि उनीहरुको चर्चा कम हुँदैन ।

स्टार खानदानसँग असम्वन्धित साना सहरहरुबाट आएकाहरुले फिल्मका लागि सजिलै अडिसन दिन समेत पाउँदैनन् । फिल्म पाइहाले पनि उनीहरुलाई मिडियाले स्थान दिँदैनन् । उनीहरुले प्रत्येक फिल्ममा आफूलाई प्रमाणित गर्नुपर्छ । एउटा फिल्म फ्लप भयो भने करिअरमाथि प्रश्न उठ्न थाल्छ ।

बलिउडमा स्टार किड्स र अन्य कलाकारहरुलाई बेग्लाबेग्लै दर्जामा राखिन्छ । फिल्म पाउनेदेखि अवार्ड पाउने अवसरसम्ममा स्टार किड्सको अग्राधिकार जस्तै छ । उनीहरुले फ्लप फिल्मबाट पनि अवार्ड पाउँछन् । अरुले हिट फिल्मबाट पनि पाउँदैनन् । ७ वर्षसम्म बलिउडमा सक्रिय रहेका, थुप्रै हिट फिल्म दिएका सुशान्तले एउटै अवार्ड पाएनन् । भारतीय मिडियाले पनि उनलाई कहिल्यै स्टारको रुपमा हेरेनन् किनकी उनी कपुर, चोपडा, खान, बच्चन वा भट्ट परिवारका सदस्य थिएनन् ।

भारतीय मिडियाका लागि संघर्षशील कलाकारहरुको कुनै मूल्य हुँदैन । तर, स्टार किडहरु चाहिँ फिल्ममै नआइकन मिडियामा छाउँछन् । सैफ अली खानका छोराले कतिपटक आची गरे, साहरुखकी छोरीले कस्तो कलरको ब्याग बोकिन् ? ऐश्वर्या रायकी छोरी ब्रेकफास्टमा के खान्छिन् जस्ता विषयहरु भारतीय मिडियामा ठूला समाचार बन्छन् ।

सुशान्तको आत्महत्याका सन्दर्भमा सामाजिक सञ्जालमा भारतीयहरुले उठाइरहेका प्रश्नलाई महत्व दिएका छैनन् । बरु कतिपय विषयवस्तुलाई दवाउन खोजेका छन् । महेश भट्ट र रिया चक्रवर्तिको अफेयरलाई यी मिडियाले अहिलेसम्म कार्पेटमुनि लुकाइरहेका छन् । बलिउडका हस्तिहरुले पनि उनको आत्महत्याबारे प्रभावकारी अनुसन्धान हुनुपर्ने कुरामा जोड दिएका छैनन् । बरु सुशान्तलाई मानसिक रोगीको रुपमा चर्चा गर्न उद्यत देखिएका छन् ।

सात वर्षअघि जिया खानले आत्महत्या गर्दा घटनालाई जसरी दबाइयो, अहिले पनि सम्भवतः त्यसैगरी दबाइने छ । त्यसैले भोलि अरु कलाकारहरुले पनि सुशान्तको बाटो नसमात्लान् भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment