
१५ असार, काठमाडौं । सुनिँदै आएको छ, सलह किरा नेपालमा ६० वर्ष पहिले देखापरेको थियो । उसबेला काठमाडौं उपत्यकामा सलह देख्नेमध्येका एक हुन्– चर्चित संस्कृतिविद् सत्यमोहन जोशी ।
ज्येष्ठ नागरिक जोशी अहिले १०१ वर्ष पुगिसकेका छन् । काठमाडौंमा सलह आउँदा आफू १३ वर्षको भएको उनको सम्झना छ । यो हिसाबलाई मान्ने हो भने काठमाडौंमा ६० हैन, ८८ वर्ष पहिले सलह आएको मान्नुपर्ने हुन्छ ।
आखिर जहिले आएको होस्, तिथिमिति खुट्याउने जिम्मा अनुसन्धानकर्ताहरुको हो । यहाँ, ८ दशकअघि नेपालमा सलह देखेका संस्कृतिविद् जोशीको किशोरकालीन अनुभव सुनौं–
म त्यस्तै १३ वर्षको थिएँ । सानै भएकाले त्यति धेरै कुराको हेक्का हुँदैनथ्यो । काठमाडौंमा सलह आएको कुराले भने त्यतिबेला सबै सल्बलाएका थिए । मै बच्चालाई पनि त्यो नौलो घटनाले आकर्षित गरिहाल्यो ।
त्यतिबेला गोरखापत्र हप्तामा एक दिन प्रकाशित हुन्थ्यो । त्यसले सलहबारे समाचार लेख्यो, लेखेन थाहा भएन ।
उसबखत अहिलेको जस्तो सलह कहाँ आइपुग्यो, नेपालमा आउँछ कि आउँदैन, आयो भने के बिगार गर्छ ? भनेर बताउने विज्ञहरु थिएनन् । विज्ञका कुरा समाजमा पुर्याउने पत्रपत्रिका वा अनलाइन र पत्रकारहरु पनि थिएनन् । सलह एक्कासी आएपछि खैलाबैला भयो । सलहको बथान यति ठूलो थियो कि दिउँसो बादलले घाम छलेजस्तै भयो ।
त्यतिबेला अहिलेजस्तो खचाखच घर थिएनन् । काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश भागमा खेती गरिन्थ्यो । मकै हुर्किँदै गरेको समय थियो । सलहको बथान आएर मकैबारीमा छपक्क बस्थ्यो । सलह उडेर जाँदा कलिला मकैको फेदको डाँठमात्र बाँकी रहन्थ्यो । त्यो देखेर हामी केटाकेटी जिल्ल पथ्र्यौं ।
उपत्यकामा दुई–तीन दिनसम्म सलह देखिएको थियो । सलहले नटोक्ने भएकाले हामी केटाकेटी त्यसको खुट्टामा धागो बाँधेर खेल्थ्यौं ।
अहिले त म १०१ वर्षको भैसकेँ, पुराना कुरा धेरै सम्झन सक्तिनँ । अहिले फेरि सलह नेपाल भित्रिएपछि एउटा रमाइलो कुरा सम्झिएको छु ।
त्यसबेला मानिसहरुले सलह खाएका थिए । सलह बेच्न पसलहरुमा राखेका पनि थिए । अहिलेजस्तो ग्यास थिएन । दाउराको आगोमा मकै पोलेजसरी सलह पोल्थे र बिक्री गर्थे । मैले पनि किनेर खाएको थिएँ ।
देशभर सलहले कति नोक्सान गर्यो, त्यो मलाई थाहा हुने कुरा भएन । सलहका कारण अनिकाल लाग्यो कि लागेन त्यो पनि थाहा भएन ।
त्यतिबेला सबैले भनेको एउटा कुरा के हो भने– सलह गतिलो चिज चाहिँ होइन ।
प्रतिक्रिया 4