
१५ असार, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिज आफैंमा अन्य पुलभन्दा सुन्दर छन् । यसलाई अझ सुन्दर बनाउने गरी सडक विभागले तयारी थालेको छ।
विभागमा महानिर्देशक केवश कुमार शर्मा यो ब्रिजमा रंगरोगन गरेर बत्ती जोड्न लागिएको बताउँछन् । शहरको सौन्दर्यता बढाउने उद्देश्यले नै सरकारले धोबीखोलामा यस्तो पुल बनाएको थियो ।
‘अब साँझसको सयममा यो पुललाई झिलिमिलि बत्तीले सजाउँछौं,’ उनले भने,’रात्रीकालीन जीवन प्रवर्द्धनका लागि पनि यो पुलले विशेष महत्व दर्शाउनेछ ।’
यी पुलको दायाँबायाँको कोरिडोरका पुल मुनिका सडक खोल्ने र पुललाई थप व्यवस्थिति बनाइने शर्माले बताए ।
विभागका अनुसार यो काम सकिएपछि बानेश्वर-माइतीघर सडकखण्ड आकर्षक देखिनेछ ।
बिजुलीबजारको पुलको ठेक्का १३ पुस २०७१ मा दिइएको थियो । तोकिएभन्दा केही ढिला गरेर निर्माण सकिएपनि अन्य पुलहरुको तुलनामा यो पुलमा छिटो काम भएको थियो ।
धोबिखोलामाथिको दुई वटा आर्क ब्रिजसँगै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तिनकुनेको बाग्मती नदीमाथि पनि उस्तै आकारको पुल बनाउन लागेको थियो । १३ पुस २०७१ मै ठेक्का लागेको यो पुलको निर्माण कार्यमा लपरवाही भएपछि पप्पु कन्स्ट्रक्सनसँग विभागले ठेक्का तोडेको छ । र, त्यहाँ आर्क पुल बनाउने योजना अलपत्र छ ।
के हो ‘नेटवर्क आर्क ब्रिज’ ?
‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हो । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ ।
आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क (धनुष) फिक्सिङ गरिन्छ ।
र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ । आर्कहरुलाई पनि क्रस ढलान गरेर जोडिन्छ । र केलबहरु प्रयोग गरेर लोड व्यवस्थापन गरिन्छ ।
आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार केबल नेटवर्कमार्फत आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ ।
त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । पुलमा आरसीसी प्रविधिबाट आर्क बनाइन्छ । आर्क पुलको आकर्षक पक्ष भनेको यसले दिने शहरी सौन्दर्यता पनि हो यी पुलका आर्कमा ‘कलरफुल लाइट’ जडान गर्न सकिन्छ ।
यसले शहर झिलिमिलि मात्रै हुनै छैन, पुललाई आकर्षक समेत देखाउँछ ।
प्रतिक्रिया 4