Comments Add Comment

के मेटल गीतले सलहलाई कक्रक्क पार्छ ?

१६ असार, काठमाडौं । कृषिमन्त्री घनश्याम भुसाल उडन्ते कुरा गर्ने नेता होइनन् । तर, उनको एउटा अभिव्यक्तिलाई ‘उडन्ते’ भन्दै सामाजिक सञ्जालमा मजाक बनाइएको छ । कतिपयले प्रधानमन्त्रीको संगतमा परेपछि भुसालले पनि हावादारी कुरा गर्न थालेको टिप्पणी गरेका छन् ।

सन्दर्भ हो सलहको । नेपालमा सलहको प्रवेश भएसँगै कृषि मन्त्रालयलाई नयाँ भाउँतो आइलागेको छ । सलहको रोकथाम र नियन्त्रणका लागि विभिन्न रणनीतिको खोजी मन्त्रालयले गरिरहेको छ । यही विषयलाई लिएर कृषिमन्त्री भुसालले एउटा अन्तरवार्तामा अमेरिकी मेटल संगीतले सलहलाई कक्रक्कै पार्ने भन्दै यस्ता गीतहरु संकलन भइरहेको बताएका थिए ।

मन्त्री भुसालले भनेका छन्, ‘मलाई अष्ट्रेलियामा बस्ने भाइले फोनमा सलह किरा नियन्त्रणका लागि गीत–संगीत प्रभावकारी हुने भनेका छन् । त्यही अनुसार गीत संकलन गर्न लागिएको छ ।’

यस विषयमा थप प्रष्ट्याउँदै मन्त्री भुसालले अनलाइनखबरसँग भने, ‘सलह नियन्त्रणका विभिन्न उपायमध्ये यो पनि एउटा रहेछ भनेको हुँ । थाल ठटाउनुजस्तै हेभी मेटल म्युजिक बजाउनु पनि प्रभावकारी हुँदोरहेछ ।’

आफूलाई अष्ट्रेलियाबाट एक व्यक्तिले फोन गरेर यस विषयमा जानकारी गराएको उनले बताए ।

‘अष्ट्रेलिया बस्ने एकजना शेर्पा भाइले सलहकै विषयमा अनुसन्धान गर्दै रहेछन् । उनले मलाई हिजोमात्रै फोन गरेर मेटल संगीतले सलहलाई लट्ठाउन सक्ने सुनाए । त्यही कुरा मैले सेयर गरेको हुँ । तर, यसको अर्थ गीत बजाएर मात्रै सलह नियन्त्रणमा ल्याउने भनेको होइन,’ मन्त्री भुसालले भने ।

कृषिमन्त्री घनश्याम भुसाल ।

उनी थप्छन्, ‘ठूलो आवाजमा मेटल गीत घन्काउँदा सलह आतंकित बनेर चल्न, चट्पटाउनै नसक्ने अवस्थामा पुग्दो रहेछ । त्यही बेला विषादी छर्किँदा प्रभावकारी हुँदो रहेछ । अमेरिकाको नेभादामा सन् २००६ मा भएको अनुसन्धानले पनि यसलाई प्रमाणित गरेको मलाई ती साथीले बताए । त्यसैले हामी पनि यस्तो प्रयोग गर्न सक्छौं ।’

तर, सरोकारवाला निकायहरुले भने यो विषयमा अनभिज्ञता प्रकट गरेका छन् । सलह नियन्त्रण तथा रोकथाम टास्कफोर्सका संयोजक सहदेव हुमागाईंले मन्त्री भुषालबाट यस सम्वन्धमा कुनै सल्लाह वा निर्देशन आफूहरुलाई नआएको बताए ।

‘उहाँले कतैबाट सूचना पाउनुभएको होला । हामीसँग चाहिँ अहिलेसम्म सेयर गर्नुभएको छैन । हिजो मिटिङमा सँगै थियौं । यो कुरा गर्नुभएन । अब भन्नुहुन्छ कि ?’

संगीतले सलहलाई लट्पट्याउने कुरा आफूलाई थाहा नभएको उनले बताए । यद्यपि, ठूलो आवाज निकालेर होहल्ला गर्ने, थाल र अन्य भाँडाकुडा ठटाउने, टिन ठटाउने तरिका भने आफूहरुले सुझाइरहेको हुमागाईले जानकारी दिए ।

भारतको प्रयोग

मेटल संगीत भनेको आधुनिक वाध्ययन्त्र प्रयोग गरी चर्को आवाजमा गाइने अंग्रेजी संगीत हो । यो रक संगीतको विधामा पर्छ । अमेरिका र बेलायतमा सन् १९६० र ७० को दशकमा यो संगीतको विकास भएको थियो । यस्तो संगीत युवापुस्ताले रुचाउँछन् भने पुरानो पुस्ताले कर्कश मान्छन् ।

मेटल गीतमा डाङडाङडुङडुङ आवाज आउने भएकाले किरा फट्याङ्ग्राहरु पनि तर्सिन्छन् । भारतका केही स्थानहरुमा स्थानीयवासीले ठूलो आवाजमा गीत बजाएर सलह भगाउने सफल अभ्यास गरिरहेका छन् । यद्यपि, उनीहरुले मेटल संगीत नै बजाएका भने होइनन् ।

भारतमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा सहल भगाउन आफ्नो खेतवारीमा कृषकले डीजे सिस्टम नै लगेर म्युजिक बजाएको देखिन्छ । यो भिडियो टाइम्स अफ इन्डियाले पनि सेयर गरेको छ । यो तरिकाले सलह भगाउन मद्दत गरेको कृषकहरुले बताएका छन् ।

मन्त्री भुसालले भनेजस्तो यस्तो संगीतले सलहलाई ‘लट्याउने’ वा कक्रक्क पार्ने चाहिँ अप्रमाणिक कुरा हो ।

भगाउने कि मार्ने ?

सरकारी टास्क फोर्सका संयोजक हुमागाईंका अनुसार अहिले सरकारले सलह मार्न विषादी प्रयोग गर्ने कुरालाई अन्तिम विकल्पमा राखेको छ । थाल वा भाँडाकुँडा ठटाउने, होहल्ला गर्ने वा धुवाँउने विधि नै मन्त्रालयको प्राथमिकतामा छ ।

‘ठूलो आवाजले सलहहरु आत्तिन्छन् र बसिरहेको स्थानबाट भाग्छन् । यो सबैतिर प्रयोग भइरहेको अभ्यास हो । हामीले पनि यस्तो सुझाव दिइरहेका छौं,’ उनले भने ।

तर, बसेको ठाउँबाट भाग्दैमा समस्या समाधान हुने होइन । किनकी एक ठाउँबाट भागेका सलह अर्को ठाउँमा गएर फेरि बसिहाल्छन् । त्यसैले सलहलाई नियन्त्रणमा लिनु वा मार्नु नै उपयुक्त हुने कतिपय विज्ञहरुको मत छ ।

यस विषयमा हुमागाईं भन्छन्, ‘अहिलेसम्मको स्थिति हेर्दा हामीकहाँ ठूलो विनाश निम्त्याउने गरी सलह आएको छैन । सानासाना झुण्डहरु छन् र तिनीहरुले धेरै नोक्सान पुर्‍याएका छैनन् । एकाध ठाउँमा मात्रै बालीनाली नष्ट गरेको रिपोर्ट आएको छ । धेरैजसो बन जंगलमा बसेको देखिन्छ । त्यसैले आत्तिइहाल्नु पर्ने अवस्था छैन ।’

उनले धेरै ठाउँमा धान रोपाईं बाँकी रहेकाले सलहबाट धानका ब्याडहरु जोगाउने चुनौति भने रहेको उनले बताए ।

संगीत र जनावरको सम्वन्ध

संगीतले मानिसको हृदयलाई त स्पर्श गर्छ नै, यसले प्रकृतिका अन्य जिवजन्तुलाई पनि प्रभावित तुल्याउन सक्ने विभिन्न अध्ययनबाट पुष्टि भएका छन् । कुकुरदेखि बाँदर र हात्तीदेखि परेवासम्ममा संगीतको असर पर्ने अध्ययनमा संलग्नहरु बताउँछन् । यहाँ हामीले वैज्ञानिक अध्ययनबाट देखिएका केही तथ्यहरु प्रस्तुत गर्दैछौं :

१. ककुर

सन् २०१२ मा अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीले १ सय १७ वटा घरपालुवा कुकुरहरुमाथि अध्ययन गरेको थियो । अध्ययनकर्ताहरुले फरक–फरक विधाका गीतहरु कुकुरहरुलाई सुनाएका थिए । त्यसमध्ये कुकुरहरुमा शास्त्रीय संगीतको अत्यधिक प्रभाव देखिएको थियो । शास्त्रीय संगीत बजाउँदा धेरैजसो कुकुरहरु निदाएका थिए । यस्तो संगीतले कुकुरहरुको मस्तिष्कलाई आराम दिने निस्कर्ष अध्ययनबाट निकालिएको थियो ।

२. बाँदर

सन् २००९ मा गरिएको अध्ययनले बाँदरहरुमा पनि संगीतको असर देखियो । यस्तो असर खुट्याउन भने अध्ययनकर्ताहरुलाई गाह्रो परेको थियो । ‘बायोलोजी लेटर्स’ नामक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अध्ययनकर्ताहरुले थुप्रै विधाका गीत बजाउँदा बाँदरले वेवास्ता गरेका थिए । तर मेटल गीत बजाउँदा भने उनीहरुमा प्रतिक्रिया देखियो ।

३. गाई

३. सन् २००१ मा युनिभर्सिटी अफ लिसेस्टरका अध्ययनकर्ताहरुले एक हजार गाईमाथि अध्ययन गरेका थिए । नौ हप्ता लगाएर गरिएको अध्ययनका क्रममा गाईले सुन्ने गरी दैनिक १२ घन्टा विभिन्न विधाका संगीत बजाइएको थियो । यस अवधिमा ती गाईहरुले सामान्य अवस्थामा भन्दा बढी दूध दिएको अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

४. हात्ती

हात्तीहरुले आफ्नो सुँडको सहायताले पेन्टिङ गरेको भिडियो त हामीले हेरेका छौं । संगीतमा पनि उनीहरुको झुकाव रहेको एउटा अध्ययनले देखाएको छ । सन् २००८ मा थाइल्यान्डमा गरिएको अध्ययनका क्रममा भायोलिन बजाउँदा हात्तीहरुले आनन्द मानेर आफ्नो सुँड उचालेका थिए । हात्तीहरुलाई शान्त अवस्थामा ल्याउन संगीतले सहयोग गर्न सक्ने अध्ययनको निस्कर्ष छ ।

५. चरा

चराहरु त गीत सुन्ने मात्र होइन, आफैं गाउन पनि सक्छन् । एक अध्ययनले मानिसपछि सबैभन्दा बढी संगीतको प्रभाव चराहरुमा पर्ने देखाएको छ । सन् २००५ मा २० वटा भाले र पोथी भँगेरामाथि अध्ययन गरिएको थियो । भालेको तुलनामा पोथी भँगेरामा संगीतले अझै बढी प्रभाव पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

६. लामखुट्टे

हालै मात्र गरिएको एक अध्ययनले लामखुट्टेमा पनि संगीतको प्रभाव पर्ने देखिएको छ । संगीत बजेको बेला लामखुट्टेले मान्छेलाई टोक्ने सम्भावना अरु बेलाभन्दा कम हुने अध्ययनको निष्कर्ष छ । यति मात्र होइन, संगीत सुनिरहेको बेला लामखुट्टे सहवास गर्न पनि नरुचाउने अध्ययनकर्ताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment