
१६ असार, काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध आर्जन गरेको अख्तियारको आरोप छ ।
२०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरमा ओभरसियर पदमा सरकारी सेवा प्रवेश गरेका उनले २०७६ फागुन मसान्तसम्म १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ आम्दानी गरेको अख्तियारले जनाएको छ । यस अवधिमा उनको वैध आम्दानी १ करोड ६१ लाख ७३ हजार ५ सय ६१ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।
शाक्यले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण र सवारी साधन खरिद गर्नुका साथै भान्जी नाता पर्ने व्यक्तिको नाममा समेत जग्गा किनेर लुकाएको पाइएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
उनले आफू र परिवारका सदस्यको नाममा मुद्धति खातामा रकम जम्मा पारेको र मुद्धति निक्षेप परिपक्व नहुँदै त्यसलाई धितो राखेर ऋण लिएको पाइएको अख्तियारले जनाएको छ ।
शाक्यविरुद्ध संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल, खोटाङको आयोजना प्रमुख हुँदा कमिसन नलिई काम नगर्ने, आ.व.०७५/०७६ मा करिब एक करोड कमिसन असुल गरेको, २०७६ आसारमा विभिन्न ठेक्केदारसँग करिब पचास लाख खातामा राख्न लगाई बील भुक्तानी गरेको भनी उजुरी परेको थियो ।
२०४९ सालमा ओभरसियरबाट सरकारी सेवा प्रवेश गरेका उनी २०६४ माघ १ गते इन्जिनियर र २०७२ कात्तिक १० गते सिनियर डिभिजन इन्जिनियर भएका थिए ।
शाक्यले ललितपुर उपमहानगरपालिका वडा नं. १३ को ४ आना जग्गा आयोगमा संक्षिप्त सम्पत्ति विवरण फारम बुझाएकै दिन २०७६ माघ १२ मा पत्नी अल्का शाक्यको नामबाट भान्जी प्रभा शाक्यको नाममा परिवर्तन गरेर सम्पत्ति लुकाउन खोजेको पनि अख्तियारले बताएको छ ।
शाक्यविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा १६ को उपदफा (२) बमोजिमसमेतको सजाय गरी गैरकानूनी आर्जन गरेको १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ विगो असुल गर्न अख्तियारले माग गरेको छ ।
प्रतिक्रिया 4