
नेपाल कम्युनिष्ट पार्टीको ६९औं स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा २०७५ वैशाख ९ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए ‘जुत्ता मिलेन भने खुट्टा ताछेर भए पनि मिलाउनुपर्छ ।’
पार्टी एकतामा देखिएका असन्तुष्टिको एकमुष्ट सम्बोधन गर्दै उनले समानताकै आधारमा एकताका सम्पूर्ण प्रक्रिया टुंगो लगाउने र कसैको अपमान नहुने /नगर्ने सवालमा यस्तो अभिव्यक्ति दिएका थिए ।
पार्टी एकतापछि गरिएको संयुक्त कार्यक्रम भनिए पनि ब्यानरमा तात्कालीन नेकपा माओवादीले असहमति जनाएपछि कार्यक्रम पूर्वनिर्धारित समय भन्दा निकै ढिलो सुरु भयो । सबै भन्दा आश्चर्य त कार्यक्रममा दुईवटा ब्यानर राखिए ।
त्यसदिन तात्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको दाँतमा लागेको ढुंगाले अझै दुःख दिएको छ । अध्यक्ष दाहाललाई २ वर्ष बढी दुःख दिएको त्यो ढुंगाको पीडा अहिले सिंगो पार्टी पंक्तिमा देखिएको छ । त्यसले देश र जनतालाई पनि दुख दिएको छ । साथै दु:ख र पीडाको अवतरण कुन ढंगमा हुने हो भन्ने त्रास जनतामा फैलिएको छ । राजनीतिक अस्थिरताको सुरुवातका विभिन्न अड्कलबाजी भएका छन् ।
त्यस दिन अध्यक्ष दाहालको दाँतमा ढुंगा मात्रै लागेको थिएन । एकताभित्र अंकुरित अपमानको झिल्को भुँसको आगो फैलिएजसरी फैलियो पूर्वमाओवादीभित्र । विशेष गरी एकताको समयमा गरिएको देखिने/नदेखिने सम्झौताको आधारलाई प्रधानमन्त्री ओलीले निमोठ्ने प्रयास गरे पनि पूर्वमाओवादीभित्र कैयौं घाउहरु बनायो । ओठ बन्दै राखेर घाउलाई दबाउने भरमग्दुर प्रयास गरे दाहालले ।
तर, त्यो घाउ क्रोनिक बन्दै गयो । त्यो घाउलाई निको बनाउनभन्दा बल्झाउनेतर्फ प्रधानमन्त्रीका कदमहरु केन्द्रित भए । फकाउने, मनाउने, प्रलोभन देखाउने र अन्तमा तर्साउने प्रधानमन्त्री ओलीको कार्यशैलीले दाहालभित्र लागेको घाउ संक्रामक बन्दै गयो र अहिले त्यसको प्रदुषण नेकपाभित्र तीव्र गतिमा फैलियो ।
त्यही प्रदूषणमा पर्ने खतरा टार्नका लागि प्रधानमन्त्री ओलीले रणनीतिक औजार प्रयोग गरिरहेका छन् । सबैभन्दा ठूलो डर रहेको संसदको कारवाहीबाट बच्न चालु संघीय संसदको अधिवेशन अन्त्य गरे । अब क्रमैसँग जुत्ता परिर्वतन गर्न थालेका छन् खुट्टा अनुसार । यसका लागि उनले स्थायी कमिटीको बैठक टार्दै आइरहेका छन् ।
प्रधानमन्त्री ओलीले खुट्टै काटेर भए पनि जुत्तामा खुट्टा मिलाइन्छ भनेका थिए । उनी खुट्टा काट्न तयार भएनन् वा खुट्टा काटेर पनि जुत्ता नमिलेको हो भन्ने कुरा जनताले बुझ्नै पाएनन् ।
आफैंले प्रतिवद्धता गरेका विषयमा जनतालाई जवाफ दिनुपर्छ भन्ने हेक्का उनले राखेनन् । जनताको मस्तिष्कमा सुशासन, समृद्ध मुलुक बनाउनका लागि गरेको प्रतिवद्धताको वहीखाता यथावत छ । असन्तुष्टिको ब्याज थपिँदै गएको छ् । त्यो संघीय राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न शहरका सडकमा पोखिन थालेको छ ।
संयोग पनि कस्तो, त्यसदिन मञ्चमा राखेका दुईवटा ब्यानर । अन्ततः पार्टीमा पनि दुई अध्यक्ष । दुईवटा पाईलटले कुशलतापूर्वक चलाउने र निर्दिष्ट गन्तव्यमा पुर्याउने भनिएको जहाज अहिले दुर्घटनाको संघारमा छ ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर पार्टीभित्र एकै ठाउँमा रहने सम्भावना न्यून रहेको ढंगले ब्रिफिङ गरे । मन्त्री मन्त्रीहरुलाई कित्ता क्लियर गर्न आदेश दिनुको अर्थ त्यही नै हो ।
प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा उतिबेला भनेका थिए, ‘हामी मिश्रणको रुपमा होइन, अन्तरघुलित भएका छौं । घोलिएको एउटै पार्टी । हिन्द महासागरमा गएर कोशीको पानी खोज्न थालियो भने, कर्णालीको पानी खोज्न थालियो भने, कहाँ पाइन्छ ? हिन्द महासागरमा गएर कोशी कहाँनेर छ, सेती कहानेर छ भनेर खोजेर हुँदैन ।’
तर, उनले हिजोआज घोलिएको नेकपाभित्र पूर्वएमालेको मुहान खोज्न थालेका छन् । त्यसभित्र पनि कोशीको मुहान । सेतीको मुहान पूर्वएमालेमा ओलीको नेतृत्व भएदेखि नै विभेदपूर्ण व्यवहारमा पर्दै आएको थियो । ओलीले हिजो पनि सेतीको मुहानलाई पार्टीभित्र घुल्न दिएनन्, आज पनि दिएका छैनन् । उनले सेतीको मुहानलाई हुडलियाँको संज्ञा दिएका छन् ।
२०७४ असोज १७ गते नेकपा एमाले, माओवादी र नयाँ शक्तिबीच पार्टी एकताका लागि ६ बुँदे सहमति भएका दिन ओलीले भनेका थिए “पार्टी विलय गराएको होइन । दुवै मिसिएर एकीकृत भएर आएको हो । नयाँ पार्टी स्थापना गरेको होइन । “
यो एकताले कम्युनिष्टहरु फुट्न जान्दैनन् भन्ने प्रमाणित गरेको दाबी गरेका ओलीको आँखामा दुई वर्ष केही महिनामा नै पूर्वनेकपा एमालेको तस्वीर झलझली नाच्यो । अनि उनले पुरानै सत्तालोलुपको खेल सुरु गरे । राजनीतिक दल फुटाउने अध्यादेशमा असफल भएका ओली चालु संसदको अधिवेशन अन्त्य गर्न सफल भए । निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराउने चलखेलमा लागे ।
पार्टी एकताको दिन उनले भनेका थिए ‘कम्युनिष्टहरु जुट्न जान्दैनन्, फुट्छन् मात्रै भनिन्थ्यो । त्यो इतिहास भयो । अब कम्युनिष्टहरु फुट्न जान्दैनन्, जुट्छन् मात्रै ।
सिंहदरबार र बालुवाटारको शक्ति र सत्ताको रापमा उनले आफ्नै अभिव्यक्तिलाई त बिर्सिए नै, अब पार्टी फुट्ने हो भने नेपालका कम्युनिष्टको राजनीति सकिन्छ भन्ने हेक्कासम्म राखेको देखिएन । दैनिक १८ घण्टा आफू कसरी सत्तामा टिकिरहने भन्ने तानाबाना बुन्नै व्यस्त भएका ओलीले सार्वजनिक रुपमा भन्ने गर्थे ‘म दैनिक १८ घण्टा काम गर्छु । बिरामी मान्छेबाट योभन्दा बढी अपेक्षा के गर्ने ?’
उनलाई नेपालका कम्युनिष्टहरुमा आफ्नै कारणले ‘विन्टर सिजन’ सुरु भइसकेको पत्तै छैन । सत्ताको शक्तिमा उन्मक्त भएका ओली आफ्नो अहम, दम्भ र घमण्डले आकार छोडेका खुट्टाका लागि उपयुक्त जुत्ता खोज्दै बसेका छन् ।
कहिले कुन जुत्ता लगाउँछन् त कहिले कुन लगाउँछन् । आफ्ना खुट्टामा नमिल्ने जुत्ताको सिफारिस गर्नेहरुसँग पनि उनी असन्तुष्ट छन् । आक्रोशित छन् ।
बालुवाटार र सिंहदबारको शासन सत्ताले सायद बिर्साइदियो होला आफैंले भनेका कुरालाई । २०७५ वैशाख ९ गतेका दिन उनले भनेका थिए “कहिले कहिले चिसो मौसममा पतझड हुन्छ । स्याउका रुखबाट पात झरेका बेला मान्छेलाई रुख मर्यो कि भन्ने भ्रम पर्छ । अलि पछाडि लटरम्म स्याउ फलेको देखेपछि छक्क पर्छन् । अब नेपालको कम्युनिष्ट आन्दोलनमा ‘देयर इज नो विन्टर सिजन !’
कम्युनिष्ट आन्दोलनमा अब विन्टर सिजन नै छैन भनेका ओली स्वयम् नै विन्टर सिजनलाई निम्ता दिने पात्र बनिरहेका छन् । स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकारमा एउटै पार्टीसँग बहुमत छ । कसैले हल्लाउन ढाल्न नसक्ने गरी एकल बहुमत हुँदा सहकार्य, सहअस्तित्व स्वीकार गरी दम्भ र घमण्ड त्यागेको भए नेकपाका अगाडि सुन्दर सम्भावनाहरु थिए, जसले नेपालको कम्युनिष्ट इतिहासलाई स्वर्ण अक्षरले लेख्न सक्थे ।
नमिल्दा नमिल्दा, अप्ठ्यारा अप्ठ्यारा कुरा गरेर कुनामा बस्नु कम्युनिष्ट सिद्धान्त होइन भन्दै ओलीले भनेका थिए ‘कोही कोही बानी बिग्रेका केटाकेटीजस्तो । ‘
अहिले उनी स्वयंममा संकीर्णता, अहंकार, दम्भ र जिद्दीका कारण अस्वभाविक बालहठ देखिएको छ ‘प्रधानमन्त्री पनि छाड्दिनँ । अध्यक्ष पनि छाड्दिनँ । मेरा विरुद्ध भएका षडयन्त्रहरुलाई बाइवर्ड, बाईस्टेप नियन्त्रण गर्छु । ‘
‘कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह, हिजो कुन पक्षबाट आएको थियोजस्ता खालका भावनाहरुबाट कुनै प्रकारको भेदभाव गरिँदैन/ गरिने छैन ।’ हिजोका दिनमा उनले भनेका कुरामा सत्यता छ ? केही झुण्डबाहेक सबैले बुझेका छन्, प्रधानमन्त्रीको भनाइ र गराइलाई ।
उनले भनेका थिए ‘मिल्नुभन्दा अगाडि अर्कै अर्को जस्तो हुन्छ । बिहे गर्नुभन्दा आगाडि दुलहीको घर अन्तै हुन्छ । दुलाहाको घर अन्तै हुन्छ । त्यसकारण यो घर, त्यो घर भन्ने हुन्छ । बिहे गरिसकेपछि एकै घर हुन्छ, अनि त्यो घरको बाछोको पनि माया लाग्छ । बिरालोको पनि माया लाग्छ । अनि कुकुरको पनि माया लाग्न थाल्छ । यो एकता पनि त्यस्तै त्यस्तै हो । त्यो ९ गते दाँतमा किडिक्क गरेर अलि कर्याककुरुक गरेको के रहेछ । आफैंलाई हाँसो लाग्छ । आफैंलाई अचम्म लाग्छ ।’
एकताको सुरुवातमा केही कुरा नमिल्दा जस्तो लागे पनि भावुक हुन नहुने भन्दै उनले भनेका थिए ‘अचानक आइलागेको र बाटोबाट टपक्क टिपेको एकता होइन । भवितव्यमा सुपरमार्केट घुम्न गएका बेला आइलागेको होइन । त्यसैले, पार्टी एकताबाट उम्कने बाटो छैन ।’ उनले भनेका थिए ‘कसैको टाउकोमा जिम्मेवारी फालेर उम्कने बाटो छैन । हामीले अब एकतालाई सफल पार्ने बाहेक अर्को बाटो छैन । हामी यो ठाउँमा पुगिसक्यौं । अब त मेरो जुत्ता मिलेन त्यसकारण लाउदिनँ भन्ने ठाउँ छैन । जुत्ता मिलेन भने खुट्टा अलि ताछतुछ गरेर भए पनि मिलाउनुपर्छ । जुत्ता मिलेन भनेर हुँदैन । खुट्टा ताछेर पनि मिलाउनुपर्छ । अब अर्को बाटो छैन ।’
त्यही समारोहलाई सम्बोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले विश्व इतिहासमा जनताको अपार मतका साथ सत्तामा पुगेका कम्युनिष्ट पार्टीका नेताहरु सत्तामा पुगेसँगै भ्रष्ट, आदर्शहीन र सिद्धान्तबाट स्खलित भएको र जनताले समातेर पिटीपिटी मार्नुपर्ने अवस्थामा पुगेको भन्दै आचरण शुद्धीकरणतर्फ सर्तक गराएका थिए ।
प्रचण्डले भनेका थिए, इतिहासमा धेरै कम्युनिष्ट पार्टीहरु, संघर्षमा ठूला-ठूला पार्टीहरुले धेरै ठूलो त्याग गरे बलिदान गरे । संसारलाई नै थर्काउने गरी । संसारलाई नै हल्लाउने गरी क्रान्तिहरु भए । तर, सत्तामा पुगिसकेपछि तिनै पार्टी यति भ्रष्ट, यति स्खलित, यति आदर्शहीन भए र जनताले समातेर तिनलाई पिटीपिटी मार्नुपर्ने नेतामा परिणत भए । कमरेडहरु, आज एकताको घोषणा गर्दै गर्दा हामीले संकल्प लिनै पर्दछ, हामी त्यस्तो हुन दिने छैनौं ।’
सत्तामा पुगेपछि कम्युनिष्ट नेताहरुमा सत्तालोलुपता पलाएका कारण उनीहरु अधिनायकवादतर्फ उन्मुख हुने र अन्ततः पतनको बाटोमा पुग्ने गरेको विश्व कम्युनिष्ट इतिहासका कुरा अध्यक्ष दाहालले अन्य धेरै सार्वजनिक कार्यक्रमहरुमा पनि राख्दै आएका छन् ।
यसबाट उनी पार्टी एकताको सुरुवाती दिनदेखि नै प्रधानमन्त्री ओलीसँग सन्तुष्ट थिएनन् भन्ने देखाउँछ । त्यसै दिन उनले युद्धकालीन अवस्थाको स्मरण गर्दै पद, प्रतिष्ठा र सत्तालोलुप नबन्न सचेत गराएका थिए ।
‘म मर्न पहिला पाइनँ भनेर झगडा हुन्थ्यो । म मर्ने लडाइँमा पहिलो हुन पाइनँ । पहिला जान पाउँ । यसै गु्रपमा मलाई नै पारियोस् भन्ने प्रतिस्पर्धा हुन्थ्यो । तर, अहिले प्रतिस्पर्धा म सांसद हुन पाउँ । म मन्त्री हुनैपर्यो । म प्रधानमन्त्री हुनै पर्यो भन्नेजस्तो प्रतिस्पर्धा जो भएको छ, यहीँनेर नै पूर्वी युरोपमा देखिएका जस्तै बिउ देखिन्छन् । अहिले हुर्केको त छैन, त्यो बिउमै निमिट्यान्न पारेर कम्युनिष्ट आर्दशतिर लाग्ने हो ।’
एकतापछि दुवै अध्यक्षले ‘निरन्तर जनताको पक्षमा जनताका निम्ति समर्पित हुनुबाहेक कम्युनिष्ट हुनुको अर्को औचित्य छँदै छैन’ भन्दै आए । तर, ओली र प्रचण्ड दुवैका प्रयास त्यसतर्फ केन्दि्रत हुन सकेनन् । विशेष गरेर केन्द्रीय जिम्मेवारीमा बसेका प्रधानमन्त्री ओलीको ।
ओलीले पार्टीभित्रको त्रिकोणात्मक संघर्षलाई मिलाउने प्रयास कहिल्यै गरेनन् । एकताको सुरुआती दिनमा दाहाल र ओली एउटा कर्नरमा बसेर माधव नेपाल, झलनाथ खनाललगायत नेतालाई पाखा लगाए । नेता नेपालले दिएको स्वास्थ्यलाभको शुभकामना पनि चाहिँदैनसम्म भने प्रधानमन्त्री ओलीले ।
फेरि नेता नेपालसँग मिलेर दाहाललाई पाखा लगाए । जनताको साझा अभिभावकका रुपमा रहेका प्रधानमन्त्रीले आफ्नै पार्टीभित्र सबैलाई समान व्यवहार गर्न सकेनन् । सधैं ‘टे्रङगुलर फाइट’ गरिरहे । त्यसक्रममा विभिन्न प्रलोभनका कार्ड फ्याँके, अनि बामदेव गौतम, खनाल, नेपाल लगायतलाई चास्नीमा घुमाइरहे ।
दाहाल लामो समय मौन बसे । प्रचण्डको यो मौनताले पनि ओलीलाई निरंकुश र अधिनायकवादी कार्यशैलीतर्फ उद्दत्त गरेको देखिन्छ ।
पश्चाताप, आवेश, लघुताभाष, डाह, विरक्ति लगायतलाई चुपचाप सहेर महाधिवेशनमा बलियो अध्यक्षको रुपमा निर्वाचित हुने सपना देखेका थिए अध्यक्ष दाहालले । ताकि, ओली जति विवादित र आलोचित हुन्छन् त्यसको नाफा अध्यक्ष दाहालको पोल्टामा पुगोस्, जुन उनी चाहन्थे पनि । तर, पछिल्ला दिनमा भने अध्यक्ष दाहालले प्रधानमन्त्रीको कार्यशैलीको खुलेर प्रतिकार गर्न थालेका छन् ।
अरुको अस्तित्व नस्वीकार्ने ओलीको कार्यशैलीमा परिर्वतन नहुने हो भने एकताको उत्साह र उमंगमा दलेको अबीर क्षणभरमा नै खरानी हुन्छ । अनि जनताले सम्मृद्ध नेपाल र सुखी नेपालीको सपना अधुरै राखेकोमा नेपालका कम्युनिष्ट नेताहरुसँग बदला लिनेछन् ।
अध्यक्ष दाहालले भनेजस्तै जनताले सत्ताको चास्नीमा झुमेका नेताहरुलाई सिध्याउन सक्छन् । त्यो दिन आउन नदिनका लागि नेकपाका नेताहरुसँग अझै पनि समय छ ।
प्रतिक्रिया 4