
८ साउन, काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहीबार हात हल्लाउँदै सदरखोर डिल्लीबजारबाट निस्किए ।
प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले पूर्वनिर्धारित जन्मकैदको सजाय ‘चर्को पर्न गएको आफ्नो चित्तमा लागेको’ भन्दै सजाय छुट दिएपछि कोइरालाको जेल अवधि छोट्टिएको हो ।
जघन्य अपराधमा नगण्य कारण देखाएर सजाय छोट्याइएको भन्दै सर्वोच्चको यो फैसला विवादमा परिरहेको छ । त्यसबेला ‘चुनौतिपूर्ण’ परिस्थितिबीच कठिन अनुसन्धान गरेर रञ्जनलाई जेल पठाउने तत्कालिन एसएसपी राजेन्द्र श्रेष्ठचाहिँ अहिले के सोचिरहेका होलान् ?
अनलाइनखबरसँग संक्षिप्त कुराकानीमा श्रेष्ठले अदालतले दिएको सजाय छुटका विषयमा आफूले टिप्पणी गर्न नमिल्ने बताए ।
‘प्रहरीको पार्ट भनेको कुनै पनि अपराधको अनुसन्धान गरेर त्यसको प्रोफाइल बनाई अदालतमा पेश गर्ने हो । हाम्रो कामको लास्ट प्वाइन्ट नै त्यही हो’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्यसपछिको सबै जिम्मेवारी अदालतमा निहीत हुन्छ । फैसलामा हाम्रो चासो त हुन्छ, तर टिप्पणी गर्ने अधिकार हुँदैन । त्यसैले यो फैसलमा मेरो कुनै टिप्पणी छैन ।’
त्यसबेला प्रहरीले गरेको अनुसन्धानमा रञ्जनले श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको थियो । जिल्ला अदालत काठमाडौंले पनि सोही निस्कर्षका आधारमा कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साबिक पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।
तर, अहिले सर्वोच्चले गरेको फैसला भने फरक छ । सर्वोच्चको फैसलामा रञ्जनले परिस्थितिजन्य कारणले रीस र आवेशमा आएर हत्या गरेको उल्लेख गरिएको छ । साथै, ‘मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रीसले गर्दा घटना भएको’ सर्वोच्चको फैसलामा उल्लेख छ ।
यस विषयमा प्रश्न गर्दा श्रेष्ठले घुमाउरो जवाफ दिँदै भने, ‘घटना के हो, हामीले कस्तो अनुसन्धान गरेका थियौं, भन्ने त डकुमेन्ट नै बोलिरहेको छ, मैले बोलिरहनै पर्दैन ।’
करिब नौ वर्ष अगाडि भएको यो बिभत्स घटनाको अनुसन्धान श्रेष्ठका निम्ति दुई कारणले अविस्मरणीय छ । एक त त्यसबेलाको बहालवाला डीइआइजीजस्तो हाइप्रोफाइल व्यक्ति मुछिएको केस, अर्को मुख्य अभियुक्त स्वयं उनका ‘लगौंटिया दोस्त’ ।
तर, चरम दबावको स्थितिमा आफ्नै निकट मित्रमाथि निष्पक्ष अनुसन्धान गरेर उनले आफ्नो कर्तव्य निभाए । राजेन्द्र र रञ्जन ‘ब्याजी’ पनि हुन् ।
राजेन्द्रसँग यस पंक्तिकारले करिब ४ वर्ष अगाडि उक्त हत्याकाण्डको अनुसन्धानका विषयमा लामो कुराकानी गरेको थियो । त्यसबेला उनले भनेका थिए, ‘आफ्नै साथीमाथि लागेको जघन्य अभियोगको अनुसन्धान गर्दा म करिब १५ रात झिमिक्कै निदाउन सकिनँ ।’
अनुसन्धानको कथा
२०६८ साल पुस २९ गते रञ्जनले आफ्नी श्रीमती गीता ढकाललाई बेपत्ता पारेको भनेर प्रहरी परिसर काठमाडौंमा माइतीका तर्फबाट उजुरी पर्यो । त्यसबेला परिसरका प्रमुख थिए, एसएसपी राजेन्द्र ।

राजेन्द्र र रञ्जन कलेज पढ्दादेखिका साथी हुन् । रञ्जन मीनभवन क्याम्पसमा पढ्थे भने राजेन्द्र त्रिचन्द्रमा । क्याम्पस फरक भए पनि उनीहरुको समूह एउटै थियो । २०४६ सालमा प्रहरी निरीक्षकमा आवेदन खुल्दा उनीहरुले एक साथ फारम भरे । ५ जनाको नाम निस्किँदा त्यसमा उनीहरु दुवै छानिए ।
नाम निस्केपछि तालिम सुरु भयो । त्यतिबेला प्रहरी तालिम केन्द्र त्यहीँ थियो, जसलाई अहिले पुलिस एकेडेमी भनिन्छ । तालिममा सहभागी ३६ जनामध्ये उनीहरु आपसमा निकै घनिष्ठ भए । उनीहरुको धेरै कुरा मिल्थ्यो । त्यसबेला राजेन्द्रले कल्पना पनि गरेका थिएनन्, कुनै दिन रञ्जनको हातमा आफैंले हत्कडी लगाउनुपर्ला भन्ने ।
तालिमपछि राजेन्द्रको पोस्टिङ पोखरामा भयो । रञ्जन प्रहरी एकेडेमीमै रहे । त्यसपछि उनीहरु भौतिकरुपमा टाढिए । पछि सशस्त्र प्रहरी संगठन स्थापना भएपछि रञ्जन डीएसपी भएर सशस्त्रतिर गए । २२ वर्षपछि उनीहरु फेरि आमने–सामने भए, तर एकदमै भिन्न स्थितिमा । राजेन्द्र एक अनुसन्धान अधिकृत र रञ्जन एक हत्या आरोपीका रुपमा ।
जब रञ्जनविरुद्ध अपहरणको उजुरी आयो, स्वभावतः राजेन्द्रको भित्री आकांक्षा थियो कि रञ्जन निर्दोष होउन् । यसअघि उनले रञ्जनमा अपराधिक प्रवृत्ति देखेका पनि थिएनन् । साथै, उजुरीकर्ताहरुसँग ठोस प्रमाण पनि थिएन । तर, उनीहरु रञ्जनलाई तत्काल पक्राउ गर्न दबाव दिइरहेका थिए ।
उजूरीकै भरमा कुनै स्पष्ट आधारबिना प्रहरीले आरोपीलाई पक्राउ गरिहाल्न सक्दैन । तर, मिडियाले चाहिँ आफ्नो साथी भएकाले रञ्जनलाई राजेन्द्रले जोगाउन खोजेको भनेर लेख्न थाले । तर, पनि उनी विचलित भएनन् । तीन पटकसम्म राजेन्द्रले आफ्नै कार्यकक्षमा दुवै पक्षलाई बोलाएर छलफल गराए । रञ्जनले आफूमाथि लागेको आरोप ठाडै अस्वीकार गरे ।
त्यसबेला रञ्जनले भनेका थिए, ‘श्रीमतीको मसित राम्रो सम्बन्ध थिएन, राति–राति एक्लै हिँड्थी, कतै गई होली ।’ तर, माइती पक्षलाई भने उनैले अपहरण गरेको विश्वास थियो । आखिर उनले अपहरण हैन, हत्या नै गरिसकेका रहेछन् ।
रञ्जनको वैवाहिक जीवन पहिलादेखि नै सुमधुर नरहेको बारे राजेन्द्र पनि बेखबर थिएनन् । कानूनीरुपमा डिभोर्स भइनसके पनि उनीहरु छुट्टिएर बस्थे । रञ्जनले अर्कै महिलालाई गैरकानूनी श्रीमती बनाइसकेका थिए । त्यसैले राजेन्द्रलाई पनि कतै रञ्जनले श्रीमतीलाई अपहरण गरेर कतै लुकाएको छ कि भन्ने पर्यो । हत्या नै गरेको चाहिँ उनले सोचेका थिएनन् ।
रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण थिएन । त्यसैले सुरुमा प्रमाण जुटाउन केन्द्रित भए राजेन्द्र ।
गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राति साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान पाँच बजेतिर फर्केको तथ्य फेला पर्यो । त्यसपछि उनले रञ्जनका हरेक गतिविधिमाथि निगरानी राख्न लगाए ।
राजेन्द्र भन्छन्, ‘नयाँ अपराधीको एउटा साइकोलोजी हुन्छ,, ऊ अपराध गरेको स्थानमा कुनै प्रमाण छुटेका छन् कि भनेर चेक गर्न दोस्रोपटक जाने सम्भावना धेरै हुन्छ । रञ्जनको हकमा पनि यस्तै भयो ।’
यसैबीच, पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा लास ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले भेट्टाएको खबर प्रहरीमा आयो । उनीहरुले सडकबाट २० मिटरभित्र जंगलमा उक्त शव फेला पारेका थिए । आफ्नै गाउँ नजिक यसरी लास जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थाले ।
रञ्जन घटनास्थलमा दोस्रोपटक पुगे । उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास गरे । तर, आफू सशस्त्रको डीआइजी भनेर उनी उम्कन सफल भए । तर, त्यहाँबाट फर्किने क्रममा नागढुंगामा काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्यो ।
पालुङमा भेटिएको शवको अवशेषमाथि अनुसन्धान गरियो । हातको घडी सद्दे नै थियो । गीताकी आमालाई लगेर त्यो घडी देखाउँदा उनले छोरीकै भएको पुष्टि गरिन् । उक्त शवको डीएनए टेस्ट पनि गरियो । नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि डीएनए टेस्टको सहारा लिएको त्यो सम्भवतः यो पहिलो घटना थियो । डीएनए टेस्टबाट पनि उक्त शव गीताकै हो भन्ने पुष्टि भएपछि प्रहरीको अनुसन्धानले लय समात्यो ।
सुरुमा रञ्जनले अपराध स्वीकार गरेका थिएनन् । नेपालको कानूनमा कुनै पनि आरोपीलाई मौन बस्ने हक प्रत्याभूति गरिएको छ । उसले जवाफ दिन्न वा बोल्दिनँ भन्न पाउँछ । रञ्जनले त्यही ‘हतियार’ प्रयोग गरे । यतिबेलासम्म पनि पत्रपत्रिकाले यो घटनाको सही अनुसन्धान नभएको भनेर राजेन्द्रलाई निशाना बनाइरहेका थिए । तथापि उनले मिडियाको ‘ट्रायल’मा भन्दा कानूनका दफाहरुमा टेकेर अनुसन्धान अगाडि बढाउँदै लगे ।
राजेन्द्रले रञ्जनका बडीगार्ड, ड्राइभरदेखि घरेलु कामदारसम्मको वयान लिए । श्रीमती गीता बस्ने घरमा व्यापक खोजतलास गरियो । श्रीमान–श्रीमती छुट्टिएर बस्न थालेको लामो समय भइसकेको थियो । रञ्जन अर्की युवतीसित लिभिङ टुगेदरमा थिए । ती महिलाको पनि वयान लिइयो ।
सबै प्रमाणहरु जुटाइसकेपछि रञ्जनले नै हत्या गरेको हो भन्ने निश्कर्षमा प्रहरी पुग्यो । रञ्जनले पनि अन्ततः प्रहरीसामु अपराध कबुल गर्न वाध्य भए । अपराध कबुल गर्दा राजेन्द्रसँग रञ्जनले भनेका थिए, ‘हो, मैले गरेको हुँ । अब म सकिएँ ।’
प्रहरीको अनुसन्धानबाट रञ्जनले आफ्नै घरमा गीताको हत्या गरेको देखिएको थियो । सम्भवतः सिरानी वा कपडाले घाँटी थिचेर मारिएको प्रहरीको निस्कर्ष छ । हत्यापछि प्रमाण नष्ट गर्नका लागि लासलाई गाडीमा हालेर पालुङ पुर्याइएको थियो । रञ्जनले पेट्रोलसमेत घरबाटै लिएर गएका थिए । राति जंगल छेउमा गाडी रोकेर लास जलाएपछि पूर्णरुपमा जलिनसक्दै उनी फर्किएको अनुसन्धानले देखाएको थियो ।
सबै प्रमाण जुटाइसकेपछि प्रहरीले अदालतमा मुद्दा दायर गर्यो । काठमाडौं जिल्ला अदालतले उनलाई सर्वश्वसहित जन्मकैद सुनायो । उनकी प्रेमिकालाई एक वर्षको सजाय तोकियो ।
रञ्जन र गीताको सम्बन्ध
पोखराका रञ्जन र काठमाडौंकी गीता ढकालबीच ०५० जेठ ३१ गते मागी बिहे भएको थियो । बिहेको केही समय उनीहरुको सम्वन्ध राम्रै चल्यो । तर, परस्त्रीसँग हुरुक्क हुने रञ्जनको स्वाभावले गर्दा सम्वन्धमा दरार आउन थाल्यो । यसबीचमा उनीहरुका दुई छोरा जन्मिए ।
०५७ सालतिर रञ्जनले बाहिर अर्कै केटी राखेको सूचना गीताले पाइन् । त्यसपछि उनीहरु सँगै बस्ने अवस्था रहेन । गीता आफ्नो माइतीले दाइजोमा दिएको बालुवाटारको जग्गामा घर बनाएर बस्न थालिन् । रञ्जन भने सातदोबाटोस्थित आफ्नै घरमा बसे । एउटा छोरा बुवासँग र एउटा आमासित बस्थे ।
यसैबीच उनीहरुबीच सम्पत्तिको झगडा सुरु भयो । गीताले ०६८, मंसिर १४ गते जिल्ला अदालतमा मानाचामल भराइपाउँ भन्दै अंशमुद्दा हालिन् । अदालतले गीताको पक्षमा फैसला गर्दै रञ्जनको तलब रोक्का गर्न सशस्त्रलाई आदेश दियो । सम्भवतः यही घटनापछि रञ्जनले गीताको हत्या योजना बुन्न थालेको प्रहरीको अनुमान छ । हत्याको योजनामा रञ्जनकी प्रेमिकाको पनि संलग्नता रहेको आधारमा उनलाई पनि छानविनको दायरामा ल्याइएको थियो ।
अदालतले ०७१ वैशाख ७ गते रञ्जनलाई हत्यारा ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । उनकी प्रेमिकालाई पनि योजनामा संलग्न रहेको ठहर गर्दै एक वर्षको जेल सजाय सुनाइएको थियो । मन्त्रिपरिषदले रञ्जनलाई आगामी दिनमा सरकारी सेवामा अयोग्य हुने गरी सशस्त्रबाट बर्खास्त गर्यो ।
के थियो रञ्जनको वयान ?
प्रहरीसँग सुरुमा आफूले घटना गराएको अस्वीकार गरेका रञ्जनलाई अन्तत राजेन्द्रले गलाए । प्रहरीसँग पछिल्लो बयानमा उनले गीताको हत्या गरेको स्वीकारेका छन् । तर, अदालतमा भने उनले वयान फेरेका थिए ।
प्रहरीलाई रञ्जनले दिएको वयान यस्तो थियो :
‘हाम्रो विवाह राजीखुशीले नभई बुवाआमाको करकापमा भएको हो । श्रीमतीले मलाई पुलिस मनै पर्दैन भनेर खटपट भएकाले १० वर्षदेखि अलग–अलग बस्न थालेका हौं ।
म चीनको नेसनल डिफेन्स कोर्सका लागि २०६८ साल भाद्रमा बेइजिङमा गएर पुस २१ गते नेपाल फर्केको थिएँ । फर्केपछि श्रीमतीसँग फोन वा भेटघाट भएको थिएन । पुस २७ गते बिहान ७ः३० बजेतिर गीताको मोबाइलबाट कान्छो छोराले फोन गरेर मलाई लिन आउनू भन्यो । उसलाई लिनका लागि म, जेठो छोरा र चालक रामकुमार गुरुङसहित तीन जना गीता बस्दै आएको घरमा गयौं र १० बजेतिर लिएर आयौं । त्यसबेला गीतासँग भेट भए पनि गफगाफ भएको थिएन ।
त्यहाँबाट फर्केर मैले दुबै छोरालाई टेनिस खेल्नका लागि हल्चोकमा छाडेँ । आफूचाहिँ सपिङ गर्न भाटभटेनी सुपरमार्केटमा गएँ । त्यहाँ सपिङ गर्दागर्दै गीताले फोन गरी सल्लाह गर्नु छ, तुरुन्त घरमा आउनू भनिन् । म पनि केही जरुरी काम होला भनी अपरान्ह १२ बजेतिर घर पुगेँ । म घरमा पुग्दा गीता भर्याङ चढ्ने ठाउँनेर घाम तापेर बसिरहेकी थिइन् ।
भेट हुनासाथ गीताले मलाई व्यापार गर्नका लागि इन्डिया जानुपर्ने भयो भनेर चार–पाँच लाख रुपैयाँ मागिन् । मैले पैसा छैन भनेर घरबाट निस्केर बाहिर जान खोज्दा गीताले मलाई रोकिन् । उनले मेरो ज्याकेट समातेर तान्दै विभिन्न गालीगलौज गर्न थालिन् । तानातानकै क्रममा हात हालाहाल भयो । यसैबीचमा म भर्याङ चढी गीता सुत्ने कोठामा गएँ । उनी गालीगलौज गर्दै सोही कोठामा आई झगडा गर्न थालिन् । सो कोठामा पनि हामीबीच हात हालाहाल र धकेलाधकेल भयो ।
हातपातकै क्रममा मैले गीतालाई धकेल्दा उनी कोठाकै भित्तामा बजारिँदा निजको टाउको भित्तामा ठोकिन पुग्यो । त्यसपछि उनी बोल्न चल्न नसकी अचेत भइन् । मैले नाटक गरेकी होला भन्ठानी बैठक कोठामा आई १०÷१५ मिनेट बसेँ । त्यसपछि पुनः गीता पल्टेको ठाउँमा गई हेर्दा सोही ठाउँमा पहिलेकै अवस्थामा पल्टिरहेकी थिइन् । त्यसपछि मैले उनलाई हल्लाई चलाउँदासमेत कुनै प्रतिक्रिया नजनाएपछि उनको स्वास–प्रश्वाससमेत बन्द भइसकेको यकिन भयो । त्यसपछि निजलाई बिस्तराको कुनापट्टि छाडी उनी सुत्ने कोठामा लक गरी चाबी बाहिर छोराले किताव राख्ने ठाउँनेर फाली म १ बजेतिर निस्किएँ ।
म एकदमै आत्तिई विक्षिप्त भई गीताको लासलाई के गर्ने भनी सोची कुनै एकान्त स्थानमा लगी जलाई नष्ट गर्नु उपयुक्त सम्झेँ । बेलुका ६ बजेतिर चालक शंकर पौडेललाई फोन गरी बा १ झ ६२१३ नम्बरको सरकारी प्राडो गाडी लिएर महाराजगञ्ज चोकमा आउनु भनी बोलाएँ । र, बेलुकी ७ बजेतिर गाडी ल्याएँ ।
मैले बसुन्धरातर्फबाट महाराजगञ्ज नपुग्दै केही वरै निजलाई गाडी रोक्न लगाई केही क्षणमा फर्किन्छु भनी म गाडी लिएर गीता बस्ने गरेको घरमा गएँ । मैले गेट खोली गाडीभित्र गई गीताको लासलाई कम्बलले बेरी भान्सा कोठाकै ढोकाबाट बाहिर निकाली गाडीको पछाडि राखी सवा ८ बजे मूल सडकमा आई शंकर पौडेललाई फोन गरेँ ।
मैले गाडी हाँकी चालकलाई छोडेको ठाउँमा पुगी म गाडीबाट ओली ड्राइभरलाई गाडी चलाउन लगाएँ । सशस्त्र प्रहरीको पेट्रोलपम्पमा गई ३०/३५ लिटर जति डिजेल भर्न लगाई थानकोटतर्फ जाँदै गर्दा नागढुंगा चेकपोष्टमा ९ बजे पुग्यौं । मैले सो गाडीमा तीन–चारवटा ग्यालोनमा पहिलेदेखि ल्याएको पेट्रोलले गीताको लासलाई जलाई नष्ट गर्ने योजना बनाएँ ।
लास जगाउन सुनसान र एकान्त ठाउँ जरुरी थियो । मैले खानीखोला पुगेपछि मेरो ड्राइभरलाई त्यहीँ ओर्लिन लगाएँ । त्यसपछि निश्चित गन्तव्य र योजना बिना गाडी आफैंले चलाई नौबिसे हुँदै हेटौंडातर्फ अगाडि बढेँ । एक–डेढ घन्टा गाडी चलाई अगाडि बढेपछि सुनसान जस्तो ठाउँ देखी गाडी रोकेँ । मैले उक्त लासलाई सुनसान र सडकदेखि पर लैजान नसक्ने भएपछि सडक छेउमा जलाई नष्ट गर्न उचित सम्झी सडक छेउमा राखी पेट्रोल लासमाथि खन्याई आगोले जलाई फेर्केको हुँ ।
खानीखोला आइपुगेपछि मैले ड्राइभर शंकरलाई बोलाई निज आएपछि गाडी चलाउन दिई ४ः३० बजेतिर नागढुंगा क्रस गरी इचंगुनारायणको घरमा आएर गाडी अफिसमा राख्न पठाएको थिएँ । घटनामा अरु कसैको संलग्नता छैन । मेरो मात्र संलग्नता छ ।’
राजेन्द्रको शुभकामना
अनुसन्धानका क्रममा रञ्जनले आफूसँग कहिल्यै पनि सदासयताका लागि याचना नगरेको बताउँछन् राजेन्द्र । सायद आफ्नो साथीको स्वभाव राम्ररी बुझेको भएर पनि हुनुपर्छ ।
अदालतले रञ्जनलार्ई जेल पठाएपछि राजेन्द्र एकपटक उनलाई भेट्न गएका थिए । प्रहरीका रुपमा नभएर एउटा साथीका रुपमा । उनले रञ्जनलाई भनेका थिए, ‘हेर, मानवीय नाताले भेट्न आएको हुँ । मैले एउटा अनुसन्धान अधिकृतका रुपमा जे गर्नुपर्थ्यो, त्यही गरेँ । मैले जे गरेँ, त्यसमा म सन्तुष्ट छु ।’
रञ्जन बिल्कुल भावहीन र मौन रहे ।
एउटा प्रहरीले आफ्नो कर्तव्यपालन गरिरहँदा साथी, त के आफ्नै बाबुलाई पनि उन्मुक्ति दिन सक्दैन । रञ्जनसित व्यक्तिगत सम्वन्ध जति गहिरो भए पनि उनले गरेको अपराधमा राजेन्द्रले आफ्नो मन कमलो बनाएनन् । तथापि साथी जेल जाँदा उनलाई दुःख अवश्य लागेको थियो ।
रञ्जन अहिले छुटेका छन् । राजेन्द्रलाई कस्तो लागेको छ ?
‘अहिले म खुशी वा दुःखी छु भन्ने समय होइन । उहाँ आफ्नो कैद सजाय भोगेर बाहिर निस्किनुभएको छ । उहाँको बाँकी जीवन राम्रोसँग बितोस् । मेरो शुभकामना छ ।’ राजेन्द्रले भने ।
के उनीहरुबीच पुरानो मित्रता फेरि बौरिन सक्छ ? राजेन्द्रले एक वाक्यमा जवाफ दिए, ‘मलाई थाहा छैन ।’
प्रतिक्रिया 4