
१४ असार, काठमाडौं । मेलम्चीको मुख्य सुरुङको ‘अडिट’ सुरुङमा पानी थुन्न बनाइएको ढोकाको डिजाइन र जडानमा भएको त्रुटिका कारण गत असार ३० गते एक जनाको मृत्यु र एक जना बेपत्ता हुने गरी दुर्घटना भएको पाइएको छ ।
दुर्घटनापछि खानेपानी मन्त्रालयले गरेको अध्ययनले सुरुङमा ढोका जोड्दा व्यवहारिकता अपनाउने नाममा लापरवाही गरिएको निष्कर्ष निकालेको छ ।
खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी नेतृत्वको समितिले आयोजनाको स्थलगत अध्ययन गरेर डिजाइनअनुसार गेट नजोड्दा सुरुङमा दुर्घटना भएको निष्कर्ष निकालेको हो ।
सुरुङभित्र पानीको चाप मापन गर्ने भरपर्दो र विश्वसनीय प्रणाली पनि नजोडिएकाले समस्या आएको प्रतिवेदनमा औल्याइएको छ । सुरुङको ढोका खुल्नुमा आयोजना, ठेकेदार कम्पनी र परमर्शदाता सबै कम्पनी दोषी रहेको गरिएको छ ।
गत असार ३० गते मेलाचीको सुरुङमा पानी भर्ने क्रममा अम्बाथानस्थित फ्लसिङ सुरुङको ढोकाबाट पानी बाहिर निस्किएको थियो । एक्कासी ढोका खुल्दा पानीको लिकेज जाँच्न पुगेका इन्जिनियर र सवारी चालकलाई पानीको बाहबले मेलम्ची खोलामा खसालिदिएको थियो ।
४ जनालाई बगाएकोमा इन्जिनियर सतिशकुमार गोइतको मृत्यु भएको थियो भने सवारी चालक राधाकृष्ण थापा मगर बेपत्ता छन् । दुई जना इन्जिनियर घाइते थिए ।
आयोजना प्रमुख तिरेशकुमार खत्रीका अनुसार आयोजनाको अडिट सुरुङको गेटको डिजाइन र जडानमा त्रुटि भएको परमर्शदाता र आपूर्तिकर्ता कम्पनीले पनि स्वीकार गरिसकेको छ ।
परामर्शता कम्पनी इप्टिसाका प्रतिनिधि आयोजनामै छन् भने गेट खुलेर दुर्घटना भएपछि भारतीय आपूर्तिकर्ता कम्पनी प्रेसिसनका प्रतिनिधि नेपाल आएका छन् ।
खत्रीका अनुसार अडिट सुरुङ बन्द गर्ने ढोकाहरु भित्रबाट खुल्ने गरी जोेड्नुपर्ने थियो । त्यस्तो अवस्थामा पानीको जतिसुकै दबाव परे पनि फ्रेमले खुल्न दिँदैनथ्यो ।
तर, जडानका बेलामा भित्रबाट ढोका बन्द गर्दा प्राविधिक निस्कन समस्या पर्ने भएपछि बाहिरबाटै जोडिएको थियो । ढोका जोडेपछि गत असार २९ गतेदेखि सुरुङमा पानी भरेर परीक्षण गर्न सुरु गरिएको थियो । सुरुङमा अम्बाथानसम्म पानी भरिँदै गएपछि ढोकामा पानीको स्वभाविक चाप पर्न सुरु गरेको थियो ।
भित्रबाट पानीको चाप पर्न थालेपछि बाहिरबाट फिक्स गर्न प्रयोग गरिएका नट बोल्ट फुस्किएर गेटबाट एक्कासी पानी बाहरिएको थियो ।
आयोजनाका अनुसार घरको ढोका बाहिरपट्टी खुल्ने गरी राखेर बाहिरबाटै चुकुल लगाएजस्तै गरी नट बोल्टमार्फत सुरुङको ढोका बन्द गरिएको थियो ।
यदि सो ढोका भित्रपट्टि खुल्ने गरी राखेको भए फ्रेममा पनि पानीको चाप पथ्र्यो । अहिले जसरी ढोका बाहिरबाट फुस्किएर जाँदैन थियो ।
तर, जोड्ने क्रममा भित्रबाट ढोका बन्द गर्दा प्राविधिकलाई बाहिर निस्कन कठीन पर्ने भएपछि डिजाइनलाई लत्याएर ढोकालाई बाहरिबाट खुल्ने गरी जोडिएको थियो । जसमा परामर्शदाता इप्टिसाका प्रतिनिधिले पनि सहमति जनाएका थिए । बाहिरबाट कम चाप पर्ने भएकाले भित्रको पानीको चाप व्यवस्थापन गर्न फ्रेमलाई बलियो बनाएर ढोकालाई भित्रै खुल्ने गरी राख्नुपर्नेमा कमजोरी भएको खत्रीको भनाइ छ ।
आयोजना प्रमुख खत्रीका अनुसार अम्बाथानसहित ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा यस्ता चारवटा गेट जोडिएको छ । जसलाई अब सच्याएर मात्रै पानी हाल्नुपर्ने भएको छ ।
‘अब परामर्शदाताले पनि डिजाइनको पुनरावलोकन गर्छ, बाहिरबाट पनि ढोका खोल्ने बनाउँदा पानीको चाप थेग्नसक्ने गरी डिजाइन गर्ने विधि छन्,’ उनले भने,‘अब जोडिएका गेटहरुलाई फेरि वैज्ञानिक डिजाइनमा नजोडेसम्म पानी हाल्न सकिँदैन ।’
त्यसका लागि आपूर्तिकर्ता र परामर्शदाता कम्पनीले एकदेखि डेढ महिनाको समय लाग्ने बताएको छ । त्यतिन्जेलसम्म अब सुरुङमा पानी हालेर परीक्षण नगरिने खत्रीले बताए ।
मन्त्रालय स्रोतका अनुसार आयोजनालाई प्राविधिक त्रुटि सच्याएर छिटो आयोजनाको परीक्षण थाल्ने वातावरण बनाउन निर्देशनसहितको पत्र पठाउने तयारी छ । त्यसका लागि के–के गर्ने भनेर मन्त्रालयले कार्ययोजना बनाउन भन्नेछ ।
प्रतिक्रिया 4