
१६ साउन, काठमाडौं । मन्त्रिपरिषद्को २३ असारको बैठकले उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने निर्णय गर्यो ।
त्यसका लागि शर्त छ, सीट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राख्ने, एक पङ्क्तिको सिटमा एक जनामात्र राख्ने, सबै यात्रुले मास्क लगाउने, स्यानिटाइजर राख्ने, चालक र सहचालकले पनि मास्क र ग्लोब्स लगाउनुपर्ने ।
सार्वजनिक यातायात त्यसरी नै चलेको छ त ? यही जान्न बिहीबार अपराह्न काठमाडौं उपत्यकाका विभिन्न रुटमा चल्ने पाँचवटा बस तथा माइक्रोबसमा हामीले यात्रा गर्यौं ।
यात्राको निष्कर्ष छ, कोरोना भाइरस (कोभिड–१९) फैलिन सक्ने सार्वजनिक सवारी भगवान् भरोसामा चलिरहेको छ । न त स्वास्थ्य सुरक्षाको उपाय अपनाइएको छ, न त सामाजिक दुरी कायम गरिएको छ । अनि आफूले भनेअनुसार स्वास्थ्य मापदण्ड पालना भए नभएको राज्यका निकायले पनि हरेको छैन ।
००००
साँझ ७ बज्नै लाग्दा ललितपुरको महालक्ष्मीस्थानमा वाग्मती यातायातको एउटा गाडी रोकियो ।
बसमा यात्रु भरिभराउ थिए । पछाडिपट्टी दुई वटामात्र सिट खाली थियो । बसमा यात्रारत केहीले मास्क त लगाएका थिए तर मास्कले चिउँडो मात्र छोपेको थियो । गाडीमा न त स्यानिटाइजर थियो न त सामाजिक दुरी कायम गर्ने गरी बस्ने र नबस्ने सिट छुट्याइएको थियो ।
बसभित्र तस्वीर खिच्न खोज्दा धेरै यात्रुले मास्क चिउँडोबाट माथि सारेर नाकसम्म छोप्न थाले ।
भरिभराउ गाडी चोकचोकमा बसेका ट्राफिक प्रहरीकै अघिबाट गुड्थ्यो तर कसैले पनि रोकेर स्वास्थ्य मापदण्ड पालना भए/नभएको चेकजाँच गरेनन् ।
तर जबजब गाडीमा भिड बढ्थ्यो, चालक दीपु शिवाकोटी ८ महिनाकी छोरीलाई सम्झिन्थे । बसमा न त सामाजिक दुरी, न सुरक्षा उपाय । त्यसमाथि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
त्यसैले दीपु बस चलाउनै छोडूँ कि भन्ने निष्कर्षमा पुगेका छन् । ‘केही गर्दा पनि गाडीमा सामाजिक दुरी कायम गराउन सकिएन’ उनले अनलाइनखबरसँग भने, ‘घरबाट पैसा मागेको छु, पैसा पठाए भने पर्सिदेखि काम छाड्ने सोच छ ।’
००००
चक्रपथ परिक्रमा गर्ने महानगर यातायातको एउटा बसमा स्यानिटाइजर राखिएको भेटियो ।
तर यात्रुहरू त्यसलाई प्रयोग गर्दैनन् । आधा भाँडो स्यानिटाइजर देखाउँदै सहचालक अमर राई भन्छन् ‘दुईदिन भयो जत्तिको त्यति छ । म मान्छे बोलाउन जान्छु, उहाँहरू सिटमा गएर बस्नुहुन्छ । कसैले स्यानिटाइजर लगाउँदैनन् ।’
रत्नपार्कबाट साँगासम्म चल्ने एउटा साझा यातायातमा स्यानिटाइजर राखिएको छ । सहचालकले पैसा लिने बेलामा यात्रुहरूलाई स्यानिटाइजर प्रयोग गर्न लगाएर मात्र पैसा लिने गरेको भेटियो । तर अधिकांश सवारी साधनमा स्यानिटाइजर नै राखिएको पाइएन ।
००००
भक्तपुरका राजेन्द्र श्रेष्ठ ना ३ ख ३४१३ नं को मिनीबस चढेर सिद्धपोखरीबाट पुतलीसडक आए । सो यात्राको लागि उनले ४० रुपैयाँ भाडा तिरे । पुतलीसडकसम्म आइपुग्दा उनी बसेको सिटसँगैको अर्काे सिटमा ३ जना नयाँ यात्रुले यात्रा गरिसकेका थिए ।
श्रेष्ठलाई एक पङ्तिको सिटमा एक जना मात्र बस्नुपर्ने सरकारको नियम थाहा छ । तर त्यस विपरीत आफू बसेको सिटसँगै खाली छोड्नुपर्ने सिटमा अरू यात्रु बस्दा उनलाई अप्ठ्यारो लाग्छ । तर मुख फोरेर केही भन्न पनि सक्दैनन् ।
यातायात व्यवसायीहरूले सार्वजनिक यातायातका साधनमा बस्न मिल्ने–नबस्ने सिट तोकेका छैनन् ।
चालक र सहचालकले पनि यसरी सामाजिक दुरी कायम नगरी बस्नेलाई केही भन्दैनन् । ‘पूरा सिटमा मान्छे बोक्दा त तेलको पैसा समेत उठ्दैन । बस्न मिल्ने र नमिल्ने छुट्याउँदा के हाल होला ?’ एक चालक भन्छन् ‘साहुले त्यस्तो लेख्न मान्दैनन् ।’ तर साविकको भाडामा ५० प्रतिशतभन्दा बढी रकम लिन छोड्दैनन् । सार्वजनिक सवारी चढ्नासाथ न्यूनतम २५ रुपैयाँ तिर्नुपर्छ ।
रत्नपार्क–साँगा रुटमा चल्ने साझा यातायातको बा ३ ख २२२३ नं को बसका सहचालक राजन बख्रेल यात्रुले भाडा बढी भयो भनेर सधैं गुनासो गर्ने गरेको बताउँछन् । उनका अनुसार रत्नपार्कबाट साँगासम्म साझाको भाडादर ४० रुपैयाँ हो, अहिले ६० रुपैयाँ भाडा लिने गरिएको छ । ‘तैपनि महँगो भयो भनेर यात्रुहरूसँग जहिल्यै झगडा पर्छ’ अनलाइनखबरसँग उनले भने ‘अरू जे भए पनि साझाले धेरै किन लिने भनेर झगडा गर्छन् तर यात्रुहरूले सुरक्षाको बारेमा भने आफैंले ध्यान दिने गरेका छैनन् ।
यात्रुद्वारा झनै लापरवाही
सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरू समेत आफ्नो स्वास्थ्यबारे सचेत छैनन् । यात्राको क्रममा एउटा सिट खाली हुँदाहुँदै मान्छे भएको सिटमै गएर बस्छन् । धेरै यात्रु मास्क लगाउँदैनन्, लगाए पनि च्यापुमा मात्र छोपिने गरी लगाउँछन् ।
चालकको आफ्नै पीडा
काभ्रे पाँचखालका धनबहादुर तामाङ भक्तपुर–रत्नपार्क रुटमा माइक्रोबस चलाउँछन् । दुई महिना घरमै बसेर आजित भए पछि उनी साउनको पहिलो साता काठमाडौं आए ।
घरबेटीले बत्ती र पानीको सहित पैसा लिएपछि आम्दानीको लागि साहुसँग कुरा गरेर गाडी निकाले । ६५०० रुपैयाँको तेल हालेर चलाएको माइक्रोको इन्डिकेटर देखाउँदै तामाङ भन्छन् ‘अब दुई टिपलाई पुग्छ यो तेलले । अहिलेसम्म एक पटक २५ सय र एक पटक १७ सय रुपैयाँ गरेर ४२ सय रुपैयाँ उठ्यो । अब दुई लट गर्दा तेलको पैसामा एक हजार रुपैयाँ जति घाटा लाग्नेवाला छ ।’
त्यसै गाडी राख्यो भने पाटपुर्जा नै खराब हुने भएकोले अलिअलि घाटा लागे पनि साहुले गाडी चलाउन भनेको भन्दै उनी भन्छन्, ‘समाज सेवाका लागि गाडी चलाएको जस्तो भयो । त्यसै राखौं भने गाडी झनै बिग्रिन्छ भनेर चलाउन थालेको एक पटक तेल हाल्दा एक हजार रुपैयाँ नोक्सान हुँदो रहेछ ।’ त्यसमाथि कोरोनाको जोखिम बढेकाले गाडी नै चलाउन छाडूँ कि झैं लागेको उनले बताए ।
प्रतिक्रिया 4