
१६ साउन, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बुधबार प्रदेश मन्त्रिपरिषद बैठकबाट नियुक्त भएका जोशीलाई मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ गराए भने प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले नियुक्तिपत्र प्रदान गरे ।
सपथ लिएपछि डा. जोशीले जिम्मेवारी अनुसार काम गरेर देखाउने बताए । उनले प्रतिष्ठानका वारेमा अवधारणापत्र पनि प्रस्तुत गरेका थिए । डा. जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको हो ।
यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सेजको रजिस्ट्रार, वीर अस्पतालमा युरोलोजिष्ट प्रमुखसमेत रहेका जोशीले सन् १९७४ मा एमडी र १९८३ मा डाक्टर उपाधी हासिल गरेका थिए ।
सपथ ग्रहणमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठान स्थापना गरेर प्रदेश सरकारले उल्लेखनीय कार्य गरेको दावी गरे ।
मुख्यमन्त्री डोरमणि प्रतिष्ठानको काम अब तीब्र गतिमा अघि बढ्ने भन्दै उपकुलपतिको योग्यता र क्षमताका आधारमा प्रदेशमा ल्याएको बताए ।
प्रतिष्ठानमा रुपान्तरण भएपछि हेटौंडा अस्पताल अब ३ सय बेडको हुने मुख्यमन्त्री पौडेल जानकारी दिए । उनले प्रदेशका १३ वटै जिल्लाका अस्पताललाई प्रतिष्ठानभित्र ल्याउने योजना रहेको उनले सुनाए ।
प्रतिक्रिया 4