
२२ साउन, काठमाडौं । किलो सुनकाण्डमा प्रहरीको भूमिकामाथि छानविन गर्न गठिन समितिले कसैलाई विभागीय कारबाहीको सिफारिस विनै अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
घटनामा संलग्न दुई प्रहरी अधिकृत निलम्बनमा परिसकेको र दरबारमार्गका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन दाहालको पनि सरुवा भइसकेको उल्लेख गर्दै समितिले विभागीय कारबाही आवश्यक नभएको निष्कर्ष निकालेको छ । स्रोतले भन्यो, ‘प्रहरीको संलग्नताबारे उल्लेख गरिएको छ तर, प्रहरीले दुई जनालाई मुद्दा चलाइसकेकाले थप कारबाहीको सिफारिस गरिएको छैन ।’
महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले भने प्रतिवेदन आएको विषय के छ भन्ने नमिल्ने बताए । ‘समितिले बिहीबार प्रतिवेदन बुझाएको छ, अब हेडक्वार्टरमा बुझाउने छौं’, पोखरेलले अनलाइनखबरसँग भने, ‘प्रतिवेदनमा के छ भन्ने अहिले भन्न मिल्दैन, हेडक्वार्टरमा बुझाएपछि त्यतैबाट बुझ्नु होला ।’
प्रहरीले १३ साउनमा काठमाडौंको कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको र अभियुक्त फरार भएको सार्वजनिक गरेको थियो ।
तर, राजधानी जस्तो संवेदनशील ठाउँबाट दिउँसै कसरी अभियुक्त भाग्न सफल भए भन्ने प्रश्न उठेको थियो । त्यसपछि प्रहरीको भूमिकामाथि छानविन गर्न महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपककुमार थापाको नेतृत्वमा समिति बनाएको थियो ।
समितिकी सदस्य एसएसपी किरण बज्राचार्यले अन्य चार वटा समितिमा रहेको कारण देखाउँदै नराख्न भनेपछि रानीपोखरीले एसएसपी शुशीलकुमार यादवलाई समितिमा राखियो । वरियताका आधारमा उनले नै समितिको नेतृत्व गरेका थिए ।
समितिका अन्य सदस्यमा एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी दुर्गा दाहाल र राजकुमार केसी थिए । समितिले घटनामा प्रहरी जवान बहादुरसिंह कडायत र एन्जल श्रेष्ठले अभियुक्तलाई भगाउन मद्दत गरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो । काठमाडौं प्रहरी परिसर, टेकुले दुवै जना प्रहरीलाई संगठित अपराध सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
दरबारमार्गका तत्कालीन प्रमुख दाहाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सरुवा गरिएको छ । ‘अपरेशनल काममा उहाँको कमजोरी देखिएको छ तर, नेतृत्वबाट हटाइसकिएकाले त्यही कारबाही हो’, समितिका एक अधिकृतले भने ।
काठमाडौं प्रहरी मातहतको दरबारमार्ग प्रहरी वृत्तले भगाएका अभियुक्तलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले पूर्वी नवलपरासीबाट तीन दिनपछि पक्राउ गरेको थियो । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल, निलेश सखिया र अभियुक्तले काठमाडौंबाट भाग्न प्रयोग गरेको ट्याक्सीका चालक सन्दिप गुरुङ थिए । गुरुङलाई सुन प्रकरणबारे कुनै जानकारी थिएन ।
यद्यपि, उनलाई पनि काठमाडौं प्रहरीले संगठित अपराधको मुद्दामा म्याद थप गरेको छ ।
यो पनि पढ्नुस्
सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन
सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा
सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?
सुनकाण्डमा ‘डबल–क्रस’ : सुराकीको प्रहरी र तस्कर दुवैतिर साँठगाँठ
सुनबारे थाहै नभएका व्यक्तिलाई संगठित अपराधमा म्याद थप, गाडी धनी फरार
सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई पक्राउ पूर्जी, संगठित अपराधमा म्याद थप
सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ
प्रतिक्रिया 4