
१४ भदौ, काठमाडौं । कोरोनाका कारण चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लगत्तै देशैभर राहत वितरणको लहर नै आयो । लकडाउनबाट प्रभावितहरुलाई विभिन्न खाद्य सामग्री बाँड्न मनकारीबीच तँछाड-मछाड चल्यो ।
तत्कालीन समयमा सरकारी निकायदेखि निजी तथा गैरसरकारी संघ संस्थाहरुले देशैभर राहत वितरण गर्ने अभियान चलाएका थिए । तर, यो क्रम धेरै समय टिक्न सकेन । टिकोस् पनि कसरी, लकडाउन नै चार महिनासम्म लम्बिएपछि । सुरुवाती समयमा राहत बाँडिरहेकाहरु अहिले आफैं राहत थाप्नुपर्ने अवस्थामा पुगेका छन् ।
जतिबेला देशमा कोरोना नभएर त्रास मात्रै थियो, राहत र सहयोगको अभियान ब्यापक भयो । तर, देश साँचिक्कै कोरोना कहरमा परेका बेला भने अहिले राहत वितरणको कुनै चहल पहल छैन । बरु, एउटा अभियानले व्यापकता पाउन थालेको छ, जुन दिनेका लागि सुविधा र सन्तोषजनक र लिनेका लागि सम्मानजनक छ ।
फुड बैंक एउटा अभियान हो। र, यसको मूल नारा छ- हुनेले दिएर जाऔं, नहुनेले लिएर ।
दोस्रो चरणको निषेधाज्ञाको दोस्रो हप्ता चल्दै गर्दा देशका विभिन्न ठाउँमा जनस्तरबाट सञ्चालनमा आएको फुड बैंकबारे सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । हुनेले दिने र नहुनेले लिने फुड बैंकको अवधारणा हो ।
फुड बैंकको अवधारणा
धादिङको गजुरी गाउँपालिकाबाट फुड बैंकको अवधारणा सुरु भएको थियो । फुड बैंकको नयाँ अवधारणाको सुरुवात सोही गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले गरेकी थिइन् ।
परापूर्व कालमा नेपाली प्रचलनमा रहेको ‘धर्म भकारी’ भन्ने अभ्यासलाई केही परिमार्जन गर्दै फुड बैंकको अवधारणा कार्यन्वयनमा ल्याइएको उपाध्यक्ष ढुंगाना बताउँछिन् । २०७६ चैत २२ गते धादिङको गजुरी गाउँपालिकाले नेपालको पहिलो फुड बैंक सुरुवात गरेको थियो ।
हुने र सक्नेले खाद्यान्न दान गर्ने र नहुने विपन्नले लिएर जाने गरी स्थापना गरिएको फुड बैंकबाट हालसम्म गाउँपालिकाका ३२ सय घरधुरी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।
राहत वितरण गर्दा धेरै मानिसहरु जम्मा हुने, तामझामसहित फोटो सेसन गर्ने र त्यसलाई सामाजिक सञ्जालमा हाल्ने प्रवृत्ति छ । यसबाट एकातर्फ कोरोनाको जोखिम बढ्छ भने अर्कोतर्फ यस्ता तस्वीर सामाजिक सञ्जालमा आउँदा राहत लिनेहरुमा लघुताभाष पैदा हुन्छ ।
तर, फुड बैंकमा दिने र लिनेबीच प्रत्यक्ष सम्पर्क हुँदैन । न त फोटो सेसन नै गरिन्छ ।
दिन चाहनेले आफ्नो सुविधा अनुसार कुनै पनि समयमा सामग्री फुड बैंकमा हस्तान्तरण गर्न सक्छन् । लिनेले पनि आवश्यकता हेरेर सामग्रीहरु लिन सक्छन् । यसरी काम गर्दा संक्रमणको जोखिम पनि न्यून हुन्छ ।
देशभर फैलिँदै फुड बैंक
स्थानीय स्तरबाट सुरु भएको फुड बैंकको अवधारणा यतिबेला पूर्वको मोरङदेखि पश्चिममा भैरहवासम्म सुरु भएको छ । यसैसाता ललितपुरको गोदावरी नगरपालिकाले पनि चापाँगाउँमा फुड बैंक सुरु गर्यो ।
नगरपालिकाको ११ वडामा सुरु भएको फुड बैंकबाट चामल, दाल, सोयाबिन जस्ता खाद्यान्न विपन्नका लागि वितरण भइरहेको नगरपालिकाले जनाएको छ । नगरले संस्थागतभन्दा पनि स्थानीय युवाले थालेको काममा समन्वय गरिदिएको जनाएको छ ।
मोरङको केराबारीमा पनि गत सातादेखि फुड बैंक सञ्चालनमा आएको छ । स्थानीय युवाबाट सञ्चालित फुड बैंक हरेक दिन बिहान ९ देखि १० बजेसम्म सञ्चालनमा आउँछ । नहुनेले लिन र हुनेले दिएर जानसक्ने फुड बैंक गाउँपालिकाको कार्यालय परिसरमा राखिएको छ ।
लकडाउन तथा निषेधाज्ञाका कारण मर्कामा परेका श्रमिकहरुलाई लक्षित गर्दै भैरहवामा पनि फुड बैंक सञ्चालनमा ल्याइएको छ । लकडाउनका कारण कसैको पनि चुलो बल्न नरोकियोस् भन्ने उद्देश्यले बुधबारदेखि फुड बैंक स्थापना गरिएको मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवाले जनाएको छ ।
फुड बैंकमा चामल, दाल, नुन, तेल, मस्यौरा, आलु, प्याज, तरकारी मसला तथा पीठो आवश्यकताअनुसार लकडाउन अवधिभर हुनेबाट लिइने र नहुनेलाई वितरण गरिने सञ्चालकहरुले जनाएका छन् ।
पाँचथर, बारा, बैतडी लगायतका जिल्लामा पनि फुड बैंक सञ्चालनमा आएका छन् ।
पोखरामा १० वर्षीया बालिका प्रिन्सा रेग्मीले पनि ‘भोक उपचार केन्द्र’ नाम दिएर फुड बैंक सञ्चालनमा ल्याएकी छिन् । चामल, तेल र नुन उनको उपचार केन्द्रबाट वितरण हुन्छ ।
‘समाजको सुन्दर पक्ष’
महामारीको समयमा नागरिक स्तरबाट भएको यस किसिमको सहयोगको भावनाले समाजमा मानवीय भावना थप मजबुत बनेको समाजशास्त्रीय बुझाइ छ । हुनेले स्वच्छ मनले दान गर्ने र नहुनेले अप्ठ्यारोमा गुजारा चलाउने गतिलो अवधारणा फुड बैंक भएको समाजशास्त्री नरेन्द्र मिश्र बताउँछन् । ‘नेपाली समाजमा परम्परागत रुपमा पैँचो तथा दानको प्रचलन रहेको छ, र अझ विपदका बेला यस्तो कार्यको महत्व बढी हुने गर्छ,’ मिश्र भन्छन् ।
विपदका बेलामा नागरिकले गरेको यस्तो सहयोग दीर्घकालीन र स्थायी हुन नसक्ने सम्भावना भएकाले राज्यस्तरबाट सहयोग निरन्तरता हुनुपर्ने उनको जोड छ । यस्ता अवधारणा कार्यान्वनयन गरिँदा लक्षित वर्गको पहुँच र स्वभावमा विशेष ख्याल गरिनुपर्ने उनले अनलाइनखबरलाई बताए ।
प्रतिक्रिया 4