
१५ भदौ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१० मा भदौ ८ गते २२ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये १८ जना एउटै टोलका थिए । कतिपय परिवारका सबै सदस्यमा संक्रमित भएका थिए ।
साउन ३२ गते परीक्षणका लागि स्वाब दिएका १०१ जनाको भदौ ८ गतेमात्रै नतिजा आएको थियो । एकैपटक धेरै संक्रमित भेटिएपछि गाउँमा त्रास बढेको छ । तर नगरपालिकाको स्वास्थ्य शाखा त्यहाँ संक्रमितको सम्पर्कमा आएकाहरुको खोजीका लागि पुगेकै छैन । संक्रमित भेटिएको २४ देखि ४८ घण्टाभित्र कन्ट्याक्ट ट्रेसिङ गरिसक्नुपर्ने सरकारी नियम छ ।
संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु पत्ता लगाएर पाँच दिनभित्र उनीहरुको स्वाबको नमुना संकलन गरिसक्नुपर्छ । तर यहाँ भने न संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गरियो न उनीहरुको परीक्षण नै ।
संक्रमित भेटिएपछि भदौ ९ गतेदेखि १४ गतेसम्म पुरै वडा सिल गरियो । ‘सिल गरेपछि सबैको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गर्नुपर्छ भनेका थियौँ’ वडा सदस्य रामप्रसाद भण्डारीले भने ‘स्वास्थ्य शाखाबाट १४ दिन कटेपछि केही हुँदैन भन्ने जवाफ आयो ।’
कन्ट्याक्ट ट्रेसिङ नहुँदा संक्रमित व्यक्तिबाट उनीहरुको सम्पर्कमा आएका व्यक्तिमा कोरोना संक्रमण सरेको भए ती व्यक्तिबाट अन्यमा स¥यो कि सरेन पत्ता लागेको छैन ।
सानो ठाउँमा धेरैलाई संक्रमण पुष्टि भएकाले गाउँमा त्रास बढेको स्थानीय कृष्ण मिश्र बताउँछन् । ‘उनीहरु को को सँग सम्पर्कमा आए भन्नेबारे पनि अहिलेसम्म कसैले चासो दिएको छैन, यसले समुदायमा संक्रमण फैलन खतरा बढेको छ’ उनले भने ।
तर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कैलाश रावत भने हाकाहाकी नै कन्ट्याक्ट ट्रेसिङ नगर्ने र संक्रमितको सम्पर्कमा आएका कसैको पनि परीक्षण नगर्ने दावी गर्छन् ।
‘हामीसँग भीटीएम (स्वाब संकलन गर्ने भाँडो) छैन, त्यसैले कन्ट्याक्ट ट्रेसिङ गरेर त्यो अनुसारको स्वाब संकलन गर्न सक्दैनौँ’ उनी भन्छन्, ‘त्यही भएर कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन नगरेका हौँ ।’
उनले पहिलो चरणमा स्वाब लिएको १४ दिन पूरा भइसकेका कारण पनि अब कन्ट्याक्ट ट्रेसिङ र त्यो अनुसारको स्वाब संकलन गर्न आवश्यक नरहेको बताउँछन् ।
कैलालीको घोडाघोडीमा हाल सम्म ८९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तो बेला परीक्षणको दायरा बढाउनु पर्नेमा संक्रमित बढी रहेको टोलमै थप परीक्षण गरिएन । नियमित खोप कार्यक्रमको बाहनामा भन्दै भदौ ७ गतेदेखि १२ गतेसम्म स्वाब संकलन बन्द गरेको स्वास्थ्य शाखाले त्यसपछि भीटीएमको अभावलाई कारण देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामी भने संक्रमित भेटिएपछि अनिवार्य रुपमा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने बताउँछन् । तर, जनशक्ति अभाव सबैभन्दा ठूलो समस्या रहेको उनको भनाइ छ ।
‘स्थानीय तहको स्वास्थ्य शाखाले नियमित स्वास्थ्य सेवा पनि दिनैपर्छ’ उनले भने ‘यस्तो अवस्थामा जनशक्ति अभावले कन्ट्याक्ट ट्रेसिङमा समस्या सिर्जना भएको छ ।’
कैलालीमा १७ हजार बढीको स्वाब संकलन भइसकेको छ । तीमध्ये जिल्लामा १६ सय बढी संक्रमित फेला परेका छन् । अहिले जिल्लामा भीटीएम अभाव भएको पनि जिल्ला स्वास्थ्य प्रमुख धामी बताउँछन् ।
‘पालिकाहरूले दैनिक ५ सय भन्दा बढी किट माग गर्छन् तर, हामीले ५० वटा पनि दिन सकेका छैनौँ’ उनले भने ।
प्रतिक्रिया 4