
१५ भदौ, जनकपुरधाम । मनरा सिस्वा नगरपालिका–४, महोत्तरीका ३७ बर्षीय हेल्थ असिष्टेन्टको आफ्नै घरमा औषधि पसल थियो । गाउँघरमा मानिसहरु पनि गाह्रोसारो पर्दा उनी कहाँ पुग्थे । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेलामा पनि उनी रुघाखोकी, झाडापखाला, ज्वरोका बिरामी हेर्थे ।
भदौ पहिलो साता उनी र श्रीमती दुबै विरामी परे । टाउको दुख्ने, ज्वरो आउने भयो । आफैं औंषधि खाँदा पनि कम नभएपछि जचाउन ९ भदौमा जनकपुरधाम पुगेको वडा अध्यक्ष अताबुल राइन बताउँछन् । जनकपुरधामका चिकित्सकले काठमाडौं जान सल्लाह दिएपछि उनी त्यसदिन फर्केर घर गएका थिए ।
एम्बुलेन्सको बन्दोबस्त गरेपछि पत्नीसहित उपचार गराउन १० भदौको बिहान घरबाट हिँडे । तर बाटोमा दुबैको स्वास्थ्य अवस्था विग्रियो, श्वासप्रश्वासमा कठिनाई भयो । ‘एम्बुलेन्समा एउटा मात्र अक्सिजन सिलिण्डर थियो । कुनै बेला श्रीमानले लगाउने त कुनै बेला श्रीमतीले लगाउने गरिएको रहेछ’ राइनले भनेका छन् ।
दिउँसो बल्खुस्थित बयोध्या अस्पातल पुग्दा चिकित्सकले स्वास्थ्यकर्मीलाई मृत घोषणा गरे । उनी र श्रीमती दुबैको स्वाब लिइयो । २ दिनपछि दुबैको रिपोर्ट पोजेटिभ आएको छ ।
अहिले मृतककी पत्नीको स्वास्थ्यमा सुधार आएको र हिँडडुल गर्न थालको वडाध्यक्ष राइनले जानकारी दिए ।
पहिले दाइलाई भएको थियो संक्रमण
मृतक स्वास्थ्यकर्मीका ४६ बर्षीय दाजुलाई पनि कोरोना संक्रमण भएको पाइएको छ । साउन अन्तिम साता बिरामी परेका उनी जनकपुरधाम हुँदै काठमाडौं आएका थिए ।
उनलाई पनि श्वासप्रश्वासमा समस्या भएको थियो । काठमाडौंको नर्भिक अस्पतालमा आएर उपचार गर्ने क्रममा संक्रमण पुष्टि भएका उनी अहिले पनि अस्पतालमै छन् ।
स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनको सम्पर्कमा आएका ८० जनाको स्वाब संकलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा गाउँका ८० जनाको स्वाब संकलन गरेर रिपोर्ट नआउँदासम्म घरमै बस्न आग्रह गरेको वडाध्यक्षले बताए ।
प्रतिक्रिया 4