+
+
Shares
शिक्षामा कोरोना कहर- ३ :

बाल शिक्षा : अंकुराउन नपाउँदै कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते २१:४३

१८ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) लक्षित लकडाउन तथा निषेधाज्ञाबाट बढी प्रभावित क्षेत्रमध्ये एक हो, शिक्षा । शिक्षा क्षेत्रमा कोरोना कहरको चर्चा गर्दा अक्सर विश्वविद्यालय र विद्यालय तहमा परेको प्रभावमा केन्द्रित भइरहेका हुन्छौं । तर, सिकाइका हिसाबले सबैभन्दा संवेदनशील उमेर समूह पढ्ने नर्सरी, केजी, मन्टेसरी लगायतका प्रारम्भिक बाल शिक्षाका विषयमा भने राज्यको ध्यान जान नसकेको शिक्षाविदहरू बताउँछन् ।

‘कोरोनापछि प्रारम्भिक बाल विकास शिक्षा पुरै ओझेलमा परेको छ’, शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्, ‘सरकारले पनि त्यो उमेर समूहलाई वेवास्ता गरे जस्तो लाग्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार २०७६ सालमा देशभरि ११ लाख ३१ हजार ९१ बालबालिकाले प्रारम्भिक बाल शिक्षाका लागि नाम दर्ता गराएका थिए ।

तथ्यांक विभागका अनुसार नेपालको दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय जना छ । विभागको आँकडाअनुसार वृद्धि भएको संख्या नजोड्दा पनि लकडाउन वा निषेधाज्ञाका कारण प्रारम्भिक बाल शिक्षाबाट बञ्चित बालबालिका कम्तिमा ११ लाख हुन्छ ।

युनिसेफले नेपालसहित १०० वटा देशमा हालै गरेको दूर शिक्षामा पहुँच योग्यता -दि रिमोट लर्निङ रिच्याबिलीटी) प्रतिवेदनमा पुर्व-प्राथमिक तहका विद्यार्थी मध्ये १२ करोडलाई दुरशिक्षामा समेट्न नसकेको उल्लेख छ ।

‘यस्तो हुनुमा धेरै साना बालबालिकाहरूका लागि अनलाइनको सिकाइ चुनौतीपूर्ण हुनु, यो समूहका बालबालिकाका लागि दुरशिक्षा कार्यक्रमको अभाव र त्यसका लागि घरमा उपकरणको अभाव आदि पर्दछन्’, प्रतिवेदनमा भनिएको छ ।

नेपालमा पनि अनलाइन, टेलिभिजन, रेडियोलगायतका दुरशिक्षाको सिकाइ प्रभावकारी नहुने उमेर समूहका यि लाखौं बालबालिकाको सिकाइमा बेलै ध्यान दिनुपर्नेमा सम्वद्धहरूको जोड छ ।

प्राकृतिक सिकाइमा धक्का

युनिसेफको अध्ययन प्रतिवेदनअनुसार विद्यालय जाने उमेरका १० मध्ये ३ बालबालिका मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाईमा माध्यमहरूमा पहुँच राख्छन् । साधन स्रोतमा पहुँच भएका ५ मध्ये ४ जनाले मात्रै यी माध्यमलाई दुरशिक्षाका लागि उपयोग गरेका छन् ।

सबै भन्दा गरीब परिवारका बालबालिकामा त झन २० मध्ये १ जनाले मात्रै दुरशिक्षामा पहुँच प्राप्त गरेर यसको सदुपयोग गरेको युनिसेफको निश्कर्ष छ । प्रतिवेदनमा भनिएको छ, ‘नेपालको हकमा परिवार जति गरिब हुन्छ, त्यति नै सो परिवारका बालबालिकाले दुरशिक्षामा पहुँच प्राप्त गर्ने वा त्यसको उपयोग गर्ने सम्भावना त्यति नै कम हुन्छ ।’

यी तथ्यहरू हेर्दा निश्चित उमेर समहूका बालबालिकाका लागि अनलाइन कक्षा औपचारिकतामै सीमित भएको प्रष्ट छ । गत चैतमा लकडाउन सुरु भए लगत्तै अनलाइन कक्षा सञ्चालन गर्दै आएको काठमाडौंको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल आधारभूत तहकै विद्यार्थीलाई ‘भर्चुअल कक्षा’मा जोड्न चुनौतीपूर्ण रहेको बताउँछन् ।

‘कक्षा १-३ सम्मका विद्यार्थीको उपस्थिति दर नै जम्मा १०-१५ प्रतिशत छ’ प्रधानाध्यापक कडेल भन्छन्, ‘यसबाट प्रारम्भिक बाल शिक्षाका लागि अनलाइन कक्षा कति प्रभावकारी हुन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।’

युनिसेफले दुरशिक्षामा पहुँचको दर उमेर समूहअनुसार फरक पर्ने उल्लेख गरेको छ, जसअनुसार सबैभन्दा साना विद्यार्थीहरूले आफ्नो अध्ययन र सिकाईको सबैभन्दा संवेदनशील उमेरमै दुरशिक्षाका अवसर गुमाइरहेका छन् ।

मन्टेस्वरी एसोसियसन अफ नेपालकी अध्यक्ष सुष्मा लामा कोभिड-१९ लक्षित लकडाउनले प्रारम्भिक बाल शिक्षा क्षेत्रमा सबैभन्दा बढी असर पारेको बताउँछिन् । जब कि सिकाइका हिसाबले यही उमेर समूहलाई संवेदनशील उमेर मानिन्छ ।

‘दिमागको ७० देखि ८० प्रतिशत विकास ३ देखि ६ वर्षमा हुन्छ, यति बेला सिकाईबाट बञ्चित हुँदाको क्षती पछि पूर्ति गर्न असम्भव प्रायः हुन्छ’ अध्यक्ष लामा भन्छिन्, ‘कतिपयले एक वर्ष पढाई छुटेर के भयो र ? पनि भन्छन्, तर ६ वर्षमा जान्नुपर्ने कुरा ७ वा ८ वर्षमा सिकेर हुँदैन ।’

रेडियो, टेलिभिजन, जुम वा म्यासेन्जरबाट गरिने पढाइ उनीहरूका लागि प्रभावकारी नहुने लामाको विश्लेषण छ । घण्टौं ल्यापटप वा कम्प्युटर अगाडि बसेर पढ्ने उमेर पनि यो हुँदै होइन । स्वास्थ्यको दृष्टिले पनि घण्टौंसम्म विद्युतीय उपकरणमा बस्नु हितकर मानिदैन ।

रचनात्मककालमा कोरोना

राति ‘भूत आयो’ भन्दा भुतप्रेतमा विश्वास नगर्नेहरू पनि एक पटक झस्कन्छन् । यस्तो किन हुन्छ त ? किनभने प्रारम्भिक बाल शिक्षा प्राप्त गर्ने उमेरमा उनीहरूको दिमागमा कसै न कसैले भुतबारे डर लाग्दो छाप बसालेको हुन्छ ।

आफूलाई आधुनिक र शिक्षित ठान्ने अभिभावकहरूले समेत बालबालिकालाई आफूले भनेको नमान्दा ‘भूत आउँछ’ भनेर एक न एक पटक तर्साउने गरेको हुन्छ । ठूलो हुँदै भएर विज्ञानमा विश्वास गर्ने भएपछि भुत हुँदोरहेनछ भन्ने बोध हुन्छ ।

तर, प्रारम्भिक बाल शिक्षा पाउने उमेरमा भुतबारे कसैले जगाइदिएको विश्वासकै कारण भूतको कुराले पछिसम्म झस्काउने गर्दछ । मनोविदहरुका अनुसार यो उमेरमा विज्ञानसम्मत कुरा सिक्ने बालबालिकालाई भने भुतको डर लाग्दैन ।

‘हामीले जे रोप्छौं, त्यही फल्छ भने जस्तै यो उमेरमा जे सिकाउँछौं बालबालिकाले त्यही कुरा सिक्छन्’ मन्टेस्वरी एसोसियसन अफ नेपालकी अध्यक्ष लामा भन्छिन्, ‘मन्टेस्वरी भनेको यथार्थ र सत्य कुरा मात्रै सिक्ने उमेर हो ।’

युनिसेफका कार्यकारी निर्देशक हेनेरियता फोरको शब्दमा भन्ने हो भने महिनौंसम्म यतिधेरै बालबालिकाहरू पढाइ र सिकाइबाट बञ्चित हुनु भनेको विश्वव्यापी शैक्षिक आपतकाल हो । उनी भन्छन्, ‘यसको असर आगामी केही दशकसम्मै अर्थतन्त्र र समाजमा महसुस हुनेछ ।’

बालबालिका होइन, अभिभावकलाई पढाऔं

कोभिड-१९ को खोप पत्ता लागिनसकेको र संक्रमितको संख्या बढ्दै गएको सन्दर्भमा ‘फेसटुफेस’ पढाइ तत्काल हुुने सम्भावना देखिँदैन । कतिपय देशले शैक्षिक सत्र खेर गएको घोषणासमेत गरिसकेका छन् ।

नेपाल सरकारले पनि अनिश्चितकालका लागि शैक्षिक संस्था, मन्टेश्वरी केन्द्र, ट्युसन सेन्टरहरू बन्द गरेको छ । बालबालिकाको सिक्ने उमेर घर्किंदै गर्दा प्रारम्भिक बाल शैक्षिक केन्द्र सामान्यरुपमा कहिले सञ्चालनमा आउँछ भन्ने नै अनिश्चित छ । यस्तोबेलामा अभिभावकले नै शिक्षकको दायित्व निर्वाह गर्नुपर्ने देखिन्छ ।

कोरोनाकालभरि ‘घरपरिवार नै बालबालिकाको पहिलो पाठशाला हो’ भन्ने उक्तिलाई आत्मसात् गरेर अभिभावकले नै आफ्ना बालबालिकालाई पढाउनुपर्नेमा सम्वद्धहरूको जोड छ ।

मन्टेस्वरी एसोसियसन अफ नेपालकी अध्यक्ष सुष्मा लामा शिक्षा मन्त्रालय, प्रदेश सरकार र पालिकाहरूले अभिभावकलाई यो उमेरका बालबालिकालाई कसरी पढाउने भन्ने विषयमा ‘ओरिन्टेसन’ दिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘सामान्य अवस्थामा अभिभावकहरुले शुल्क तिर्दा पुग्थ्यो । तर, अब बालबालिकाको शिक्षक र साथी तपाईँहरू आफै हो ।’

राष्ट्रिय स्वयंसेवक परिचालन

वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ मा प्रारम्भिक बालविकास उमेर समूहका बालबालिकाका लागि स्थानीय सरकार र विद्यालयले रेडियो, टेलिभिजन तथा अनलाइन सामग्रीमा जोड दिइएको छ ।

निर्देशिकामा सिकाइ सहजीकरणका लागि सहयोगी कार्यकर्ता तथा अभिभावकका लागि घरायसी विद्यालय सञ्चालन गर्न सकिने उल्लेख छ ।

देशभरिका बालबालिकासम्म शिक्षाको उज्यालो घाम पुर्‍याउन अभिभावक मात्रै पर्याप्त नहुन सक्छ । नेपाल अभिभावका संघका अध्यक्ष सुप्रभात भण्डारी बाबा-आमा दुवै ‘फ्रन्टलाइन’मा खटिएका बालबालिकाका लागि स्वयमसेवी शिक्षकको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

विदामा बसेका विद्यार्थी, दलका कार्यकर्तालाई पनि ‘ओरेन्टेसन’ दिएर पढाउन लगाउनुपर्नेमा उनको जोड छ । भण्डारी भन्छन्, ‘देशलाई संकट परेका बेलामा राजनीतिक दलले पनि आफ्ना कार्यकर्तालाई यस्तो सेवामूलक काममा लगाउनुपर्छ ।’

लकडाउनमा समेत अहोरात्र खटिएका अभिभावकका सन्तानलाई पनि शिक्षामा समेट्ने गरी राष्ट्रिय स्वयंसेवक परिचालन गर्नुपर्ने भण्डारीको भनाइ छ ।

मान्यता बदल्ने अवसर

हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै यो महामारीलाई पुरानो मान्यता बदल्ने अवसरमा परिणत गर्न सकिने शिक्षाविद् डा. विद्यानाथ कोइरालाको विश्वास छ । उनी परम्परागत शिक्षणलाई मात्रै सिकाई मान्ने पद्दति भत्काउनुपर्ने बताउँछन् ।

प्रारम्भिक बालविकासका विद्यार्थीको सिकाइ पाठ कण्ठस्थ गर्नु होइन । समूह मिलेर बस्नु, खेल्नु पनि सिकाई नै हो । कोरोनाले गर्दा मन्टेस्वरी जान नपाइरहेका बालिबालिकलाई घर, करेसाबारीमै सिकाउन सकिने डा. कोइरालाको भनाइ छ ।

‘औपचारिक शिक्षा लिएका/नलिएका अभिभावकले आफ्ना नानीहरूलाई मौलिक ज्ञान सिकाउन सक्छन्’ उनी भन्छन्, ‘लेख पढ्न गर्न नसक्ने अभिभावकले जानेका सीपलाई सरकारले पुनःअभिमुखीकरण गराए पुग्छ, प्रत्येक अभिभावकसँग एउटा न एउटा स्थानीय ज्ञानको अभाव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?