+
+
Shares

भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती : राष्ट्रपति

प्रेस काउन्सिलको वाषिर्कोत्सव सचिव र महानिर्देशक गएनन्

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १५:११

६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यममा प्रकाशित र प्रसारित भइरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन् । प्रेस काउन्सिल नेपालको ५१औँ वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादासमेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेको बताइन् ।

‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ भन्ने मैले ठानेको छु,’ शीतलनिवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भनिन्, ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।’

कोरोना महामारीका कारण सञ्चार माध्यम र सञ्चारकर्मीसमेत पीडित हुनु परेकोमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रतिकूल परिस्थितिमा समेत अविचलितरूपमा पेशाप्रतिको दायित्ववहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको बताइन् । उनले आमसञ्चारको क्षेत्रमा देखिएका कमी-कमजोरीहरू हट्दै जाने विश्वाससमेत व्यक्त गरिन् ।

भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । ‘स्वतन्त्रता र चेतनाको संवाहकका रूपमा रहेको प्रेसको निब परपीडक हुनुहुँदैन’ उहाँले भन्नुभयो ।

सचिव र सदस्यसचिव गएनन्

प्रेस काउन्सिलको वाषिर्कोत्सवका अवसरमा हरेक वर्ष राष्ट्रपति कार्यालयमा कार्यक्रम आयोजना गर्ने परम्परा छ । यस कार्यक्रममा विभागीय मन्त्री, सचिव र मन्त्रालयका उच्च पदस्थ अधिकारीको उपस्थिति रहने गरेको थियो ।

यसपालि सञ्चार मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले सम्भालेका छन् । उनी प्रेस काउन्सिलको कार्यक्रममा अनुपस्थित रहे । यसैगरी, सञ्चार मन्त्रालयका सचिव हरि बस्याल, तथा काउन्सिलका सदस्य सचिव समेत रहेका सूचना विभागका महानिर्देशक किरणराज शर्मा कार्यक्रममा गएनन् ।

प्रेस काउन्सिल स्रोतका अनुसार प्रधानमन्त्रीकै निर्देशनमा उनीहरुले प्रेस काउन्सिलको कार्यक्रम ‘बहिष्कार’ गरेका हुन् ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसित प्रधानमन्त्रीको चिसो सम्वन्ध रहँदै आएको छ । उनले श्रेष्ठलाई काउन्सिलबाट हटाउन पटक-पटक प्रयास गरे पनि अदालतले रोकेका कारण सफल भएका छैनन् ।

पत्रकारहरु पुरस्कृत

काउन्सिलको वाषिर्कोत्सवका अवसरमा विभिन्न पुरस्कार प्राप्त गर्ने पत्रकारहरूलाई राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । यस वर्ष पाल्पाको तानसेन नगरपालिकाले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार पुरस्कृत पूर्वराजदुत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।

यस्तै, प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी १ लाख ५१ हजार रुपैयाँ छ । १ लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिएको छ भने ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिएको छ ।

त्यस्तै २० हजार राशिको प्रेस काउन्सिल कि्रयाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ)लाई दिइएको छ ।

यस्तै, १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार यस वर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिराहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ)लाई दिइएको छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?