+
+
Shares

एयरलाइन्सका आकर्षक घुमफिर प्याकेज, झस्किए पर्यटन व्यवसायी

अच्युत पुरी अच्युत पुरी
२०७७ असोज १४ गते १६:४०

१४ असोज, काठमाडौं । कोरोना महामारीका कारण झण्डै ६ महिना घरभित्र थुनिएका नेपालीका लागि एयरलाइन्स कम्पनीहरुले आकर्षक घुमफिर प्याकेज ल्याएका छन् । यसमा यति एअरलाइन्स, बुद्ध एअर र समिट एअर अगाडि देखिएका छन् । उडान सेवा दिने कम्पनीहरुले घुमफिर प्याकेज ल्याएपछि पर्यटन व्यवसायी भने झस्किएका छन् ।

एअरलाइन्सका सस्तो प्याकेज लामो समयसम्म नटिक्ने र त्यसले मूल्य चाहिँ घटाउने चिन्ता उनीहरुमा छ । ‘एअरलाइन्सका ट्राभल प्याकेज टिकाउ त हुँदैनन् नै’, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाई भन्छन्, ‘मूल्य बिगारेर पर्यटन व्यवसायीलाई व्याकेज बिक्री गर्न नसक्ने बनाउन चाहिँ सक्छ ।’

आज १४ हजारमा बेचिरहेको प्याकेज ६ महिनापछि २० हजारमा प्रस्ताव गर्दा उपभोक्ताले विश्वास नगर्ने उनी बताउँछन् ।

एयरलाइन्सका आकर्षक प्याकेज आएपछि नाट्टा अध्यक्ष गुरागाई र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले संयुक्त विज्ञप्ति जारी गर्दै सबै प्रकृतिको व्यवसायले अरुको व्यवसायमा हस्तक्षेप गर्न नहुने बताएका छन् ।

हवाई कम्पनीले ल्याएको प्याकेजलाई उनीहरुले ट्रेकिङ र ट्राभल कम्पनीको काम खोस्न खोजेको रुपमा अर्थ्याएका छन् । संयुक्त विज्ञप्तिमा ‘कसैले कसैको व्यवसायमाथि हस्तक्षेप गरी काम नगर्नु/नगराउनु हुन पनि हामी जोडदार माग गर्दर्छौं’ भनिएको छ ।

उता, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल समग्र पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने गरी प्याकेज ल्याएको बताउँछन् ।

यतिले डेढ दर्जन गन्तव्यका लागि प्याकेज ल्याएको छ । बुद्धले पोखरा र चितवन तथा समिट एयरले एभरेष्ट ट्रेकका लागि सस्तो प्याकेज ल्याएको छ ।

गलत हो त विमान कम्पनीका प्याकेज ?

नेपाल पर्यटन बोर्डका निर्वतमान प्रमुख कार्यकारी निर्देशक (सीइओ) दीपकराज जोशी अरुका प्रतिस्पर्धी मूल्य र प्याकेजमा गुनासो गर्नुभन्दा ग्राहकलाई आफूतर्फ आकर्षित गर्ने अन्य उपाय खोज्नु उत्तम हुने बताउँछन् ।

उनका अनुसार, प्रचलित कानून अनुसार मूल्यमा प्रतिस्पर्धा हुनु उपभोक्ताको दृष्टिकोणबाट राम्रै पनि हो ।

‘एअरलाइन्सका प्याकेज आउनासाथ पर्यटक गन्तव्यहरु भरिभराउ भइहाल्छन् भन्ने पनि होइन’, जोशी भन्छन्, ‘मानिसको चासो बढ्छ, सोधखोज हुन्छ भने त्यो सकारात्मक पक्ष हो । पर्यटन उद्योगका खेलाडीहरु आपसी विवादमा अल्झनु भन्दा मिलेरै व्यवसायमा फर्कनु उपयुक्त हुन्छ ।’

सरकारले घुमफिरमा जान सक्ने गरी लकडाउन खुला गरेपछि एअरलाइन्स कम्पनीहरु आक्रामक रुपमा आए पनि ट्रेकिङ र ट्राभल व्यवसायी तात्तिइसकेका छैनन् । उनीहरु आकर्षक प्याकेजहरुका साथ व्यावसाय प्रवर्द्धनको माहौल बनाउन अग्रसर नभई पर्यटन बोर्डबाट आउने प्याकेज कुरेर बसेका छन् । एयरलाइन्स कम्पनीहरुले यसैलाई मौका बनाएको देखिन्छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?