+
+
Shares

‘शाहले चलाउँदा देश अगाडि बढेन, ओली र भुसाल पनि एकै हुन्’

‘हाम्रो बौद्धिक उत्पादनको हिस्सा औसत बुद्धिजीविको हातमा छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते २०:४६

१५ मंसिर, काठमाडौं । युवा पुस्ताका लेखक एवं साहित्यकार युग पाठक नेपाली साहित्य एवं वौद्धिक क्षेत्रमा परिचित नाम हो । वौद्धिक विमर्शमा पाठकले फरक धारको पहिचान बनाएका छन् ।

नेपालको वौद्धिक क्षेत्र मध्यमस्तरको अर्थात औषत बुद्धिजीवीहरुको हातमा रहेको पाठकको विश्लेषण छ । उनी भन्छन्, ‘विडम्वना भन्नुपर्छ, हाम्रो बौद्धिक उत्पादनको हिस्सा केही मेडियोकर (औषत) बुद्धिजीविको हातमा छ । बालबालिका र विश्वविद्यालयका किताबसमेत उनीहरूले लेख्ने हुँदा लाजमर्दो अवस्था छ ।’

समसामयिक राजनीतिक विश्लेषण र साहित्य लेखनमा जमेका पाठकको ‘उर्गेनको घोडा’ उपन्यास र ‘युमा’ नाटक प्रकाशित छ । अध्ययनले गर्दा मानिसको धारणा बदलिरहने बताउने उनी साहित्यभित्रको बजारीकरणमाथि खरो टिप्पणी गर्छन् । उनी पत्रपत्रिकामा समसामयिक राजनीतिक विश्लेषणका साथै टेलिभिजन अन्तरवार्ताहरुमा पनि सक्रिय देखिन्छन् ।

बजारबिनाको साहित्य कल्पना गर्न नसकिने धारणा राख्ने पाठकसँग अनलाइनखबरले साहित्यको बजारीकरण र पठन संस्कृतिमाथि केन्द्रित रहेर कुराकानी गरेको छ । यसक्रममा कम्युनिष्ट सरकार र २४० वर्षे राजतन्त्रलाई हेर्ने दृष्टिकोणका विषयमा पनि पाठकसँग प्रश्न गरिएको छ । पाठक प्रतिप्रश्न गर्छन्, ‘शाह वंशले अढाई सय वर्ष राज्य चलाउँदा यो देश किन अगाडि बढेन ?’

युवा विश्लेषक पाठकसँग यिनै विषयको सेरोफेरोमा रहेर अनलाइनखबरकर्मी निर्भीकजंग रायमाझीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं पृथ्वीनारायण शाहको निकै कट्टर विरोधी देखिनुहुन्छ नि ?

शाह वंशले अढाई सय वर्ष राज्य चलाउँदा यो देश किन अगाडि बढेन ? यसैले पृथ्वीनारायणले एकीकरण गरेको होइन रहेछ । उनले त केवल राज्य जितेका रहेछन् ।

फेरि, पृथ्वीनारायणले राज्य जितेर पनि काठमाडौंमा केही गोर्खाली सत्ताका भाइभादारलाई बिर्ता जग्गा बाँडेर ऐश–आराम गर्नेबाहेक काम भएन । उनी स्वयंले राज्य एकीकरण गर्छु भनेका थिएनन्, साम्राज्य बनाउँछु भनेका थिए । यी सबै प्रश्नको मागले गर्दा म विरोधी देखिएको हो । व्यक्तिको सौर्य, पराक्रम र क्षमताको विरोध गरेको हैन ।

पृथ्वीनारायणको ‘दिव्योपदेश’लाई पनि गैर–आख्यान मान्न सकिन्छ कि यो अर्तिहरूको अभिलेखमात्र हो ?

केपी ओली, बादल या घनश्याम भुसालहरु सारतत्त्वमा एकै हुन् । उनीहरूको चिन्तन समाजको चेतनाभन्दा पछाडि छ ।

गैरआख्यान नै मान्नुपर्छ । देखिएको पनि त्यही छ । दिव्योपदेश मात्र नभएर पृथ्वीनारायण शाहको जीवनी पनि सरकारले छापेको छ । हरेक पाठ्यपुस्तकमा राखिएको छ । योगी नरहरिनाथ र बाबुराम आचार्यले यी कुरा लेखेका हुन् । पछि यसलाई गोडमेल गर्न संशोधन मण्डल (इतिहासकार नयराज पन्तको समूह) रातदिन लागेको थियो । राज्यले किताबको रुपमा ‘दिव्योपदेश’ र पृथ्वीनारायण शाहको जीवनीलाई विस्तार गरेको छ ।

हिजोको जस्तै अहिलेको कम्युनिस्ट सरकारले चाहिँ किन गहन एवं वैचारिक किताबको बजारीकरणमा जोडबल गरेन त ?

सर्वप्रथम त यो सरकारमा को–को छन् भन्ने हेर्नुपर्छ । केपी ओली, रामबहादुर थापा बादल, घनश्याम भुसालहरू छन् । तपाईंलाई घनश्याम भुसाल अलि प्रगतिशील हुन् जस्तो लाग्छ होला । तर, सारतत्त्वमा हेर्दा घनश्याम भुसाललाई पनि पृथ्वीनारायण शाहको एकीकरण–कथा भन्न मज्जा लाग्छ । उनलाई पनि भानुभक्त र घाँसीकै बनावटी कथा भन्न मन लाग्छ । बाँकी नेता रुसी समाजवादका दुईवटा किताब पढेर गफ गरेको बलमा पद हडप्न पाइन्छ भनेर किताब पढ्ने हुन् ।

यसैले, केपी ओली, बादल या घनश्याम भुसालहरु सारतत्त्वमा एकै हुन् । उनीहरूको चिन्तन समाजको चेतनाभन्दा पछाडि छ । यसैले यो सरकार विचार, प्रगतिशील साहित्य र विमर्शका पुस्तकहरु मन पराउँदैन । गहिरिएर हेरौं न, केपी ओलीको भाषण संग्रह समयभन्दा धेरै पछाडि छैन र ? त्यो पढेर जनताले के पाउने ? सरकारका सबै प्रकाशन मध्यम स्तरका बुद्धिजीवि, वौद्धिक होइन, का लागि रमाइलो प्रदान गर्ने किताब हुन् ।

बुद्धिजीवि र बौद्धिकहरुमा के फरक छ ?

बुद्धिजीवि र बौद्धिकमा ठूलो फरक छ । यसो हेर्दा पत्रिकामा लेख लेख्ने, किताब लेख्ने मान्छे बुद्धिजीविजस्तो देखिन्छ । तर, ग्राम्सी (दार्शनिक)ले बुद्धिजीवि र बौद्धिकलाई छुट्याएका छन् ।

धर्मसत्ता, समाजसत्ता र जातव्यस्थाको सत्ताहरूलाई खुसी पार्ने अनि त्यसका लागि किताब लेख्ने, पैरवी गर्ने बुद्धिजीवि हुन् । उनीहरू लाभका खातिर केही लेख्ने गर्छन् । तर, बौद्धिक चलिआएको सत्तालाई प्रश्न गर्ने हुन्छ । ऊ जनताको तहबाट नवीनतम् प्रश्न गर्ने गर्छ । विविधतालाई एकतामा ल्याउनका लागि प्रश्न र विमर्श गर्ने बौद्धिकको काम हो । उसले फिलहाल चलिरहेको सत्ताको मस्तिष्कमा घन प्रहार गर्छ ।

तर, विडम्वना भन्नुपर्छ, हाम्रो बौद्धिक उत्पादनको हिस्सा केही मेडियोकर (औषत) बुद्धिजीविको हातमा छ । बालबालिका र विश्वविद्यालयका किताबसमेत उनीहरूले लेख्ने हुँदा लाजमर्दो अवस्था छ ।

अब साहित्य र बजारको विषयमा केन्द्रित होऔं । तपाईं अफ्रो–एशियाली लेखक संघको अध्यक्ष पनि हुनुहुन्छ । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुन बजारको सहभागिता चाहिन्छ कि चाहिन्न ?

अवश्य चाहिन्छ । तर, बुझ्नुपर्ने खास कुरा के छ भने, सबै साहित्य अन्तरराष्ट्रिय नै हुन्छ । कसैले फ्रेन्च भाषामा प्रकाशन गरेको पुस्तक आज संसारभरि पुग्छ । स्पेनिस, चाइनिज, रसियन, जापनिज साहित्यसँग त्यो तागत छ । हामीमा पनि त्यो तागत हुनुपर्छ, जसलाई एउटा व्यक्तिले चाहेर हुँदैन । अन्तर्राष्ट्रियकरण गर्न समय, सामथ्र्य र पुँजी लगानी गर्नुपर्छ ।

मुख्य कुरा त हाम्रो साहित्यसँग आफ्नो सत्ता र संसारसँग संवाद गर्ने गरी तयार छ, छैन ? तपाईंसँग त्यस्तो सपना, विचार, नयाँ सोच चाहिन्छ, जसलाई अर्को देशको मानिसले पढ्न चाहोस् ।

राज्यको मात्र होइन, समाजका पूँजीपतिहरूको पनि यसमा सकारात्मक भूमिका रहन्छ । पश्चिममा धनाढ्यहरूको पैसाले विश्वविद्यालय बनेका छन् । पुरस्कार कोषहरु चलेका छन् । पुस्तकालयहरू खुलेका छन् । तर, हाम्रो देशमा त सबै धनी मानिसले शिक्षा र साहित्यमा व्यापार खोजेका हुन्छन् । एउटा धनाढ्यले पुरस्कार स्थापना गर्ने अनि लेखकलाई त्यो व्यक्तिको चाकरी गर्न लगाउने । यसरी ज्ञानको विस्तार हुँदैन । यो सामन्ती प्रथा हो ।

अफ्रो–एशियाली साहित्य सम्मेलनकै भाषणबाट तहल्का पिटेका देवकोटाजस्ता स्रष्टा भएको संस्थामा अहिले तपाईंले नेपालका तर्फबाट नेतृत्वमा गरिरहनुभएको छ । अरुलाई दोष लगाएर मात्र नेपालको चिनारी हुन्छ त ?

यो संस्थाको नाम बदलेर ‘राइटर्स युनियन अफ अफ्रिका, एसिया एण्ड ल्याटिन अमेरिका’ भएको छ । यो संस्थाको विरासत पुरानो छ । बीचको केही वर्ष रोकिएको यो संस्था फेरि क्रियाशील भएको एक दशक पुगेको छ । यो संस्थाको कार्यक्रमले विश्वभरिका संस्कृतिकर्मीबीच संवाद र सबन्ध बढेको छ । कथा, कविता लेख्नेमात्र होइन, सबै प्रकारका लेखकबीच यहाँको मञ्चमा छलफल हुन्छ । कुनै देश, सत्ता वा आइएनजीओले फन्डिङ गरेको संस्था होइन यो । यसैले, यो संस्थाले ठूलो आकारमा साहित्यको काम गर्न सक्दैन ।

यस्तो परिस्थितिमा नेपालले गर्न सक्ने भनेको सार्थक संवाद नै हो । सम्बन्ध विस्तार हो । रह्यो कुरा चिनारीको । चिनाउने भन्ने कुरा फन्डावाला कुरा हो । नक्कली कुरा हो । के हामी काम नलाग्ने छौं र हामीलाई चिनाउनुपर्ने ? कसैले काग सम्मेलन गरेर चिनाएजस्तो होइन, देश चिनाउने कुरा ।

‘पल्पसा क्याफे’ले जनयुद्धकालको अन्त्यतिर बिक्री रेकर्ड बनाएको थियो । आहुतिको उपन्यास पनि त्यतिबेला निकै पढिएको थियो । मेरो पुस्तक ‘माङ्गेना नेपाल मन्थन’ को विस्तारै बिक्री ग्राफ बढेको छ ।

राष्ट्रको चिनारी हुनु राम्रै कुरा हैन र ?

चिनारी हुनु राम्रो हुरा हो । तर, गुरुत्वले चिनाउने हो । ज्ञानले, मानवताको कर्मले, बौद्धिकताले चिनाउने हो । तपाईं हाम्रो सोचाइ र चिन्तन फराकिलो भयो भने हाम्रो चिनारी आफैं बढ्दै जान्छ । हाम्रो चिन्तन र ज्ञानले अर्को संसारको मान्छेलाई आत्मिक तथा भौतिक पक्षमा सकारात्मक प्रभाव पार्छ भने हाम्रो गौरव बढ्ने हो ।

पुस्तक बजारकै विषयमा कुरा गर्दा अहिले नेपालमा पनि अग्रिम पुस्तक बुकिङजस्ता घटनाले साहित्य बजार तातेको छ, यसलाई कसरी हेर्ने ?

जतिजति पुँजीवादको विकास हुँदैछ, साहित्य र बजारको सम्बन्ध झन् मजबुत हुँदै गइरहेको छ । यसैले साहित्यको बजार भनेकै ‘आम बजार’सँग सम्बन्ध भएको कुरा हो । साहित्य बजारकै हातमा हुन्छ । नेपालमा साहित्यको बजार पछिल्लो दश वर्षमा फस्टाएको हो । साहित्यको पुस्तकलाई पनि एउटा उत्पादनसरह बजारमा लैजाने चलन भर्खरैमात्र आएको हो । प्रकाशक, लेखक र वितरकले बजारलाई आफ्नो पक्षमा ल्याउने काम गर्छन् ।

अहिले साझा प्रकाशनजस्तो सामुदायिक संस्था ओरालो लाग्दैछ भने निजी प्रकाशन गृहहरू उकालो लाग्दैछन् । लेखकले पनि मार्केटिङ गर्न सक्ने प्रकाशक नै रोज्छन् । नत्र पाठकसम्म कृति पुग्दैन । यसर्थ, साहित्य बजारभन्दा बाहिर हुँदैन, यो कटु सत्य हो ।

साहित्य र बजारको मिल्ती कसरी हुन्छ ?

पुँजीवादले हरेक चिजलाई उत्पादन गरेर बजारमा लैजाने काम गर्छ । पुस्तक र साहित्यजस्तो बौद्धिक कुरामा राज्य आफैंले त वितरकको भूमिका निभाएको हुन्छ भने खुला बजारमा साहित्य जाने नै भयो । पाठ्यपुस्तक तथा प्रधानमन्त्रीको भाषण संग्रह यसैको उदाहरण हो ।

तर, हाम्रो बौद्धिक उत्पादन सानो छ । नेपाली भाषाको बजार जनसंख्याको ३० प्रतिशतमात्र हिस्सा हो । मधेसमा नेपाली साहित्यका पुस्तक बिक्री हुँदैनन् । सुदूर पश्चिममा पनि बिक्री हुँदैन । यसैले नेपाली साहित्यको बजार सानो छ ।

साहित्यको बजारीकरणभित्र नराम्रा पक्ष मात्रै छन् ?

बजारीकरणलाई राम्रो, नराम्रो भन्नै मिल्दैन । आखिर बजार एउटा औजार हो । साहित्यलाई बजारसम्म पुर्‍याउनुपर्छ नै । लेखकहरूले काम गर्ने कहाँनेर हो भने जनतालाई खुराक दिन तयार हुनुपर्यो । जनताको जीवनको अध्ययन गरेको हुनुपर्यो । अध्ययन गर्नेबेलामा चुक्ने, युगसापेक्ष ज्ञान उत्पादन गर्न नसक्ने र बजारलाई मात्र दोष लगाउने काम गर्न मिल्दैन । बजारले साहित्य खाइहाल्छ भनेर डर मान्नु पनि बेकारको कुरा हो ।

भनेपछि, बजारका कारणले साहित्यको विशिष्टता खतरामा पर्ने होइन रहेछ…

बजारको कारण साहित्यको विशिष्टता केही हुँदैन । एक समय पल्प फिक्सन (मनोरञ्जन र यौन भएका सस्ता साहित्य) खुबै चलेजस्तो देखियो । तर, ती किताब बेच्ने मानिस पनि आज आएर असफल भएको देखियो नि !

जनता र पाठकलाई सधैं मूर्ख बनाउन सकिँदैन । अहिले हामीकहाँ गम्भीर सिनेमा बनाउन सकिँदैन भन्दै जीवनै नबुझेका नक्कली सिनेमा बनाइन्छ । तर, त्यस किसिमका सस्ता सिनेमाले पनि त वाहवाही कमाएको छैन । यसैले राम्रो चिज लुक्दैन । किताबको कार्यव्यापार भनेको चेतनाको कार्यव्यापार भएकाले बजारसँग डराउनुपर्दैन ।

मेरो विचारमा त बजारसँग भन्दा आफ्नै लेखनमाथि विचार गर्नुपर्छ । लेखक वर्गले आम जनताभन्दा बढी प्राथमिकता (प्रिभिलेज) पाएको हुन्छ । जनताको श्रमले हामीजस्तो लेखकलाई लेख्ने–पढ्ने समय मिलेको छ । हामीले त समाजले दिएको समयलाई सदुपयोग गर्नुपर्छ ।

यिनै सस्ता प्रचारबाजी र बजारको धङधङ्गी देखेर तपाईं अहिले साहित्यबाट टाढा हुनुभएको हो कि ?

मसँग अहिले तीनवटा पाण्डुलिपी तयारी अवस्थामा छन् । तर, मैले त आफ्नो मूल्यांकनमा ती किताब जनतासम्म पुर्‍याउन सक्ने गरी पूर्ण तयार नभएका कारण छापेको छैन । लेख्दै नलेखेको भन्ने होइन ।

चेतना र दृष्टिमा कमी महसुस भएर मौन बस्नुभएको हो ?

पछिल्लो समय मेरो अध्ययनको सीमा भत्कियो । म अझै गम्भीर ढंगले समाजको अध्ययनमा लागें । यसक्रममा ज्ञानका पुराना सीमा भत्कँदै गए, नयाँ बन्दै गए । दश वर्षअगाडि नै यसरी अध्ययन गर्न पाएको भए अहिले मेरो साहित्य, गैरसाहित्य लेख्ने गति बढ्ने थियो । तर, पनि म अध्ययनमा नै रमाइरहेको छु । पाठक भनेका जनता हुन्, यसैले ढाँट्नुहुँदैन भन्ने बोध गरेको छु ।

लेखन बजारसँग मात्र होइन, जनतासँग जोडिएको हुन्छ । सामान्यतया बजार स्वतन्त्र छ भनिन्छ । तर, यसै त केही पनि बिक्दैन । सबै पुस्तक सरकारले बेच्दैन । यसैले प्रकाशक चाहिन्छ, वितरक अनि पसलहरू चाहिन्छन् ।

विगतमा साहित्यका किताब सरकारले पनि बेचेको थियो नि ? यसबारे के भन्नुहुन्छ ?

आफूले चाहेको कुरा त सरकारले जहिले पनि बेचिरहेको हुन्छ नि । पहिला बाबुराम आचार्यले लेखेको इतिहासको किताब दरबारको सचिवालयले छाप्थ्यो, बेच्थ्यो । कति त निःशुल्क नै बाँडिन्थ्यो । अहिले पनि सरकार प्रधानमन्त्रीको भाषणसंग्रह छाप्छ । उसलाई चाहिएको कुरा जहिले मन लाग्यो, त्यहिले छाप्छ ।

तर, सरकारले उत्पादन गर्ने किताब र पाठ्यपुस्तक समयको पदचाप नचिन्नेखालका छन् । तिनले आज पनि घाँसी र भानुभक्तको कथा पढाउँछन् । सरकारभन्दा त निजी प्रकाशनले बेचेका साहित्य, गैरआख्यान रुचीकर छन्, जुन किताब जनताले छानेर पढ्न पाउँछन् ।

बजारको धङधङीले जनताको (जनवादी) साहित्यलाई असर गरेको छ कि छैन ?

एकदिन झुक्याएर बेच्दैमा बजार बढ्ने होइन । सबैभन्दा हल्ला भएको किताब नै सबैभन्दा कम बिकेको छ । हल्लाले केही हुँदैन । यसैले जनपक्षीय लेखन भनेकै जनताको उन्नयन अनि समाजलाई अझै न्यायपूर्ण बनाउने कुरा हो । बजारको ह्याङ बोकेर आफ्नो कामलाई सुस्त बनायो भने त बजार हावी हुन्छ । बजारलाई त उपयोगी साध्य बनाएर लान सक्नुपर्छ । आखिर पुँजीवाद नै नहुँदा पनि बजार त थियो । बजार आदान–प्रदानको थलो हो । यो क्रप्ट (भ्रष्ट) हुन्छ नै । हाम्रो विवेकले औजारको रुपमा प्रयोग गर्नुपर्छ ।

माओवादी आन्दोलन वा कम्युनिष्ट आन्दोलनका क्रममा साहित्य, गैरसाहित्य र विचारका पुस्तक पढ्ने बानी बढेको मान्नुहुन्छ ?

आन्दोलनले चेतनामा काम गर्छ । यसैले आन्दोलनमा एक्टिभिस्ट हुनेले अध्ययन गरेन भने उसले समाजलाई नेतृत्व गर्न सक्दैन । आन्दोलनको समयमा मानिसको दिमाग निकै चहकिलो हुन्छ । यसबेला समय ढिला हुन्छ भने कामचाहिँ धेरै हुन्छ । बलियो अध्ययनले नै आन्दोलनलाई सही दिशा दिन सक्छ ।

युद्धकालमा त माओवादीले निकै पढेका हुन् । तर, पछिल्लो १५ वर्षमा उनीहरूको अध्ययन केही छैन । यसैले राजनीतिक संघर्षका क्रममा अध्ययनको गति बढ्ने कुरा सत्य हो ।

‘पल्पसा क्याफे’ उपन्यासले जनयुद्धकालको अन्त्यतिर बिक्री रेकर्ड बनाएको थियो । आहुतिको उपन्यास पनि त्यतिबेला निकै पढिएको थियो ।

पुस्तक बिक्रीलाई भन्दा पठन संस्कृतिलाई चाहिँ बजारले दायाँ–बायाँ पारिदिने हो ?

बजारले जे बिक्छ, त्यो बेच्छ । चाउचाउ पनि बेच्छ, चुरोट पनि बेच्छ । कुन प्रकारको पठनलाई समाजमा व्यवस्थित बनाउने भन्ने कुरा समाजका बौद्धिकले प्रभाव पार्नुपर्छ । जनतासँग सम्वाद गर्नुपर्छ र असल पठनको आधार बनाउने काम गर्नुपर्छ ।

मेरो पुस्तक ‘माङ्गेना नेपाल मन्थन’ को विस्तारै बिक्री ग्राफ बढेको छ । मेरोमात्र होइन, अन्य युगसापेक्ष पुस्तकको माग बढेको छ । यसबाट हामीले के बुझ्नुपर्छ भने समाजको नियम भौतिकशास्त्रको नियमजस्तो ठ्याक्कै मेल खाने हुँदैन । मान्छेको पहलले समाजको गति, पठन संस्कृति निर्धारण गर्छ । बजार त माध्यम मात्र हो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?