+
+
Shares

मोरङका उखु किसान भन्छन् : खेतीमा फाइदा छ, तर उद्योगीले सधैं हेप्छन्

हरि अधिकारी हरि अधिकारी
२०७७ पुष ३ गते १९:३७

३ पुस, विराटनगर । २०५० साल अघिदेखि उखु खेती सुरु गरेका विराटनगरका सुबोधकुमार सिंहले खेती छाडेको दुई वर्ष भयो । १० बिघामा उखु खेती गर्दा आम्दानी राम्रै थियो । तर उखुको कटान पूर्जी र पैसा भुक्तानीमा सधै तनाव भोग्नुपर्‍यो ।

उखु उत्पादन गर्ने किसानलाई कटानका लागि चिनी उद्योगले पूर्जी दिन्छ । कटान पूर्जीमा भेदभाव गर्ने उद्योगले भुक्तानीका लागि झुलाएका कारण उखु मासेर मकै र गहुँ खेती गर्न थालेको उनी बताउँछन् ।

‘उखुको कटान र ढुवानी सबै नगदै गर्नुपर्छ, फेरि खेतला पाउन पनि मुश्किल पर्छ’ अनलाइनखबरसँग सिंहले भने ‘आफ्नै पैसा लिन पटक पटक मिल्समा धाउनुपर्ने । अनावश्यक दुःख दिएका कारण खेती गर्न छाडे ।’

सरकार निरिह भएका कारण खेती गर्न गाह्रो भएको उनको गुनासो छ । ‘सरकारले किसानको पक्ष लिएको भए यस्तो दुःख हुने थिएन’ उनले भने ‘सबैतिर उद्योगीकै प्रभाव छ, किसानको समस्या सम्बोधन हुँदैन ।’

धनपालथान गाउँपालिका– ७ का कृषक मनोहरि मण्डलले उखु खेती छाडेको एक वर्ष भयो । डेढ विघामा उखु खेती गर्ने उनले चिनी उद्योगले गर्ने व्यवहारका कारण धान, गहुँ र मकै खेती गर्न थालेका छन् । ‘उखु खेती गर्दा सधैं तनाव खेप्नुपर्‍यो’ उनले भने ‘मुनाफा त हुन्थ्यो । तर मिल्सले भुक्तानीका बेला सधैं झुलाउथ्यो ।’

धनपालथानका किसान सत्यनारायण शर्माका अनुसार अन्य नगदेबाली भन्दा उखु खेतीमा आम्दानी राम्रो छ । तर मिल्सले फट्याइँ गर्दा सधैं किसानले दुःख भोग्नुपरेको उनको गुनासो छ । ‘मेहनत कम पर्छ । अन्य बाली भन्दा आम्दानी पनि राम्रो हुन्छ’ उनले भने, ‘तर पैसा दिन मिल्सले सधै ढिलो गर्छ ।’

गुलियो चिनी बनाउने उखु उत्पादन गर्ने किसान भने सधै तनावमा बस्नुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार उखु खेती कटान र ढुवानी ब्याजमा ऋण खोजेर गर्नुपर्ने बाध्यता छ । चिनी उद्योगीले तत्कालै भुक्तानी गरिदिने हो भने अन्य कृषक पनि उखु खेतीमा आकर्षित हुने उनको भनाइ छ ।

प्रदेश १ मा सुनसरी र मोरङमा धेरै उखु खेती हुन्छ । यो क्षेत्रको उखु खरिद गर्ने इस्ष्टर्न सुगर मिल्स सुनसरीमा छ । मिल्सको व्यवस्थापनमा नयाँ टिम आएका कारण गत वर्षयता किसानले समस्या भोग्नुपरेको छैन । गत वर्ष उद्योगले समयमा नै भुक्तानी गरेको उखु किसान परमानन्द यादवले बताए ।

कृषक सुवोधकुमार सिंहका अनुसार समयमा नै भुक्तानी हुने भन्दै उद्योगका प्रतिनिधिले पुनः खेती गर्न आग्रह गरिरहेका छन् । ‘व्यवस्थापन नयाँ आएको छ । अब भुक्तानीमा समस्या हुँदैन भन्दैछन्’ उनले भने, ‘भुक्तानी समयमा नै हुने हो भने सहज हुन्थ्यो ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?