+
+
Shares

थप मेडिकल कलेजलाई सम्बन्धन दिनेबारे कल्पनै गर्न सकिँदैन : डा. केसी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १३:४३
फाइल तस्वीर

१४ फागुन, काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै पटक-पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको स्मरण गराउँदै त्रिवि वा काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न नसकिने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले नै काठमाडौं विश्वविद्यालय अन्तर्गत झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा छन् । तीमध्ये धेरैले मेडिकल शिक्षाको गुणस्तर लत्याउँदै व्यापारमा मात्र ध्यान दिएकाले गुणस्तर कायम गर्नका लागि त्यस्ता केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषय यस अगाडिका सिनेट बैठकमा समेत उठेको छ । अर्कोतिर त्रिविले पनि चिकित्सा शिक्षा ऐन जारी हुनु अगाडि नै पाँचभन्दा बढी कलेजहरुलाई सम्बन्धन दिइसकेको छ । त्यसैले त्रिवि वा काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न सकिंदैन ।’

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने तथा गुण्डागर्दी गर्ने व्यक्तिले नै दबावमा पारेर थप मेडिकल कलेजको सम्बन्धन लिन चोर बाटो खोजेको उनको भनाइ छ । यस्तो गैर कानुनी कार्यमा संलग्न नहुन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुलाई उनले विज्ञप्तिमार्फत चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?