
१४ फागुन, विराटनगर । अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीच मिलापत्र भएको छ ।
शुक्रबार साँझ इलाका प्रहरी कार्यालय धरानमा भएको छलफलमा शाह र प्रधानबीच मिलापत्र भएको हो ।
म्युजिक भिडियो सुटिङका लागि फागुन १२ गते धरान आएका शाहमाथि दुव्र्यवहार गरेको आरोप थियो । होटलमा खाना खाने क्रममा १२ गते राति साढे ९ बजे शाहका सहयोगी कृष्णप्रसाद जोशीले प्रधानमाथि आक्रमण गरेका थिए । होटलको सीसी क्यामेरा फुटेजमा पनि उनले आक्रमण गरेको प्रष्ट देखिन्छ ।
आफूमाथि हातपात भएको भन्दै प्रधानले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा शाह र उनका सहयोगी जोशीविरुद्ध उजुरी दिएका थिए ।
शुक्रबार साँझमा प्रहरी कार्यालय हाजिर भएका पल शाहले कमजोरी स्वीकार गरेपछि मिलापत्र भएको महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले बताए ।
पल शाहले पनि आफूहरुबीच मिलापत्र भएको बताए । शुक्रबार प्रहरी कार्यालय हाजिर भएका शाहले सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा दुवै जनाले कमजोरी स्वीकार गर्दै मिलापत्र भएको बताए ।
बिहीबार प्रहरीमा उजुरी गरेका प्रधानले आफूसँग शाहले माफी नमागे प्रदेश १ मा उनी अभिनित चलचित्र प्रदर्शन हुन नदिने चेतावनीसहित विज्ञप्ति जारी गरेका थिए ।
प्रतिक्रिया 4