
१६ फागुन, प्युठान । प्युठान अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्यले विरोध जनाएका छन् ।
शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको हो । शिशु (छोरा)को अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् । शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो ।
अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रिफर गरेका थिए । तर दाङको भालुबाङ पुग्दा उनको मृत्यु भएको मृतकका श्रीमान सुदन थापाले बताए ।
उपचार यहीँ हुन्छ भन्दै राखेर अन्तिम समयमा रिफर गर्नु अस्पतालको लापरवाही भएको थापाको भनाइ छ ।
अनिसाको शवलाई प्युठान जिल्ला अस्पतालमै राखिएको छ । अस्पतालमा आफन्तहरुको भिड जम्मा हुन थालेपछि प्रहरी परिचालन समेत गरिएको छ ।
अस्पतालका सूचना अधिकारी भन्छन्- लापरवाही भएको छैन
प्यूठान अस्पतालका सूचना अधिकारी राजन घिमिरेका अनुसार अनिसाको रक्तस्राव नरोकिएपछि शनिबार दोस्रो अपरेसन गर्नु परेको थियो ।
त्यसपछि अनिसाको श्वासप्रश्वासमा समस्या देखिएको थियो । अनिसालाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था देखिएको तर अस्पतालमा भेन्टिलेटर नभएकाले बुटवल रिफर गर्नुपरेको थियो ।
अस्पतालका सूचना अधिकारी घिमिरेले लापरवाही भने नभएको बताए । यद्यपि यो घटनाको छानविन हुने भए, त्यसलाई सघाउन आफूहरु तयार रहेको उनले बताए ।
पीडित परिवारले शव बुझे
घटनापछि पीडित परिवारका प्रतिनिधिसहित बसेको सर्वपक्षीय बैठकमा शल्यक्रियामा संलग्न चिकित्सकले गल्ती भएको भन्दै माफी मागेको बैठकका एक सहभागीले बताए ।
सर्वदलीय बैठकमा पीडितको नाममा पाँच लाख नबढ्ने गरी अक्षय कोष खडा गर्ने सहमति भएको छ । अक्षय कोषका लागि रकम जुटाउन जिल्ला समन्वय समितिलाई जिम्मा दिइएको छ । यो सहमतिसँगै मृतकका परिवारले शव बुझेका छन् ।
तर अस्पतालका कर्मचारीहरुले भने गएराति सामूहिक विज्ञप्ति जारी गर्दै पीडित पक्षका सामु विनागल्ती र जबरजस्ती माफी माग्न लगाइएको भन्दै आजबाट इमर्जेन्सीबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
हेर्नुहोस् विज्ञप्ति
(यसअघि यस समाचारमा प्रयोग भएको प्युठान अस्पतालको ‘लापरवाही’ले सुत्केरीको मृत्यु शीर्षकले अन्यथा अर्थ लाग्ने भएकाले क्षमाप्रार्थीसहित सच्याइएको छ । सं.)
प्रतिक्रिया 4