
१६ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर प्रचण्ड–माधव समूहलाई सघाएको आरोप तामाङमाथि लगाइएको छ ।
तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको उनको सचिवालयले जनाएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो । त्यसक्रममा बादल ओली समूहतिर लागेका थिए ।
तर, तामाङले गृहमन्त्रीको सचिवालयमा बसेर ओली समूहको युवा संघ र बादल पक्षका युवा नेताहरुको एकतालाई बिथोल्ने प्रयास गरेको भनिएको छ ।
तामाङले भने गृहमन्त्रीले हटाएको नभइ आफैंले छाडेको बताएका छन् । उनले अनलाइनखबरसँग भनेका छन्ः
‘म वाईसीएलको पूर्ववरिष्ठ उपाध्यक्ष पनि हुँ, त्यसवेला पूर्ण एकता नभइ फुटको स्थिति आयो । फुटपछि ओली पक्षसँग एकता हुने क्रममा विवाद भयो । उहाँहरुले पुरानै तरिकाले जाने भन्नु भएको थियो । यो स्थितिमा स्वाभिमान छाडेर राजनीतिमा जाने कुरा हुँदैन भन्ने अडान लिएँ । अस्तित्वविहीन तरिकाले एकता हुँदैन पनि भनेको थिएँ । स्वाभिमानसहित अस्तित्वको ठाउँ नभए एकखाले राजनीतिक निर्णय गर्नुपर्छ भनेँ । पछि त्यसअनुसार निर्णय नभएपछि एकमहिना अघि नै सचिवालय छाडेको हुँ ।’
प्रतिक्रिया 4