
१६ फागुन, सुर्खेत । व्यवस्थित बसोबासको माग राखेर धर्नमा बसेका वादी समुदायमाथि प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीले आइतबार दिउँसो उनीहरूमाथि लाठी प्रहार गरेको वादी समुदायका अगुवा हरि वादीले बताए ।
‘हिजोसम्मा हामी शान्तिपूर्णरुपमा धर्नामा बसेका थियौं, तर सरकारले देखेन, आज नाराजुलुससहित मुख्यमन्त्री कार्यालयको गेटनजिक पुगेका थियौं, त्यतिनै बेला प्रहरीले हामीमाथि लाठी हान्यो,’ वादी समुदायका अगुवा हरि वादीले भने । उनका अनुसार प्रहरीको लाठीबाट केही नागरिक घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।
उता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले भने प्रहरीले लाठी प्रहार नगरेको बताए । ‘प्रहरीले लाठी नै चार्ज गरेको छैन, उहाँहरुले मुख्यमन्त्रालयको गेट तोड्न खोजेपछि रोकेको मात्र हो ।’
खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु एक सातादेखि कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन् ।
दैलेख, कालिकोट र सुर्खेतका गरी ४०० बढी रहेका उनीहरु सरकारले आफ्ना माग सम्बोधन नगरे थप कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया 4