
१८ चैत, काठमाडौं । बुुुधबार साँझ परेको पानीले वायु प्रदूषणको मारमा रहेका काठमाडौं उपत्यकाबासीलाई राहत दिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ । ‘पश्चिमी वायुका साथै बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले कतै धेरै र कतै हल्ला वर्षा भएको हो’ मौसमविद् मञ्जु बासीले भनिन्, ‘यो प्रभाव पर्सिबाट कम भएर जान्छ ।’
पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै तनहुँमा वर्षा भएको छ । तनहुँमा १६.६ मिलिमिटर पानी परेको छ । यस्तै गोरखामा १५.८ मिलिमिटर वर्षा भएको छ भने भक्तपुरको नगरकोटमा १२.२ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो तीनघण्टामा ७.८ मिलिमिटर वर्षा भएको मौसमविद् बासीले जानकारी दिइन् ।
यसले उपत्यकाको वायु प्रदूषण केही कम हुनेछ । मौसमविद् बासीले अनलाइनखबरसँग भनिन्, ‘यो वर्षाले बिहीबार प्रदूषण थोरै घट्छ । तर उपत्यका वरिपरीका जंगलमा डढेलो लाग्न कम नभए प्रदूषण कायमै रहने सम्भावना देखिन्छ ।’
उनका अनुसार प्रि मनसुनको समयमा हावाले पाकिस्तान तथा भारतको राजस्थानको मरुभूमिबाट धुलाको कणहरु लिएर आउने गरेको छ । यो पटक चितवन, बारा, पर्सा, मकवानपुर क्षेत्रका वन जंगलमा लागेको डढेलोका कारण उपत्यकाको वायु थप प्रदूषित भएको उनले जानकारी दिइन् ।
बुधबार तराई क्षेत्रमा भने वर्षा भएको छैन । त्यस क्षेत्रमा मौसम सफा भएपनि तुवाँलो लागेकै छ ।
प्रतिक्रिया 4