
२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित विशेष समारोहमार्फत १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सडक शिलान्यास गरेका हुन् ।
हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले स्वीच थिचेर एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गरेका हुन् । गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए ।
सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।
यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।
प्रतिक्रिया 4