+

२०३९ मा विश्वकप उपाधिको सपना

२०७७ चैत  २४ गते २०:२५ २०७७ चैत २४ गते २०:२५
२०३९ मा विश्वकप उपाधिको सपना

२२ चैत, काठमाडौं । नेपालले पनि विश्वकप क्रिकेट खेल्न सक्छ भन्ने विश्वास पारस खड्का, ज्ञानेन्द्र मल्लहरुले जगाए । उनीहरुले २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा विश्वसामू नेपाल पनि क्रिकेटमा सम्भावना भएको देश हो भन्ने देखाए ।

नेपालको अहिलेको लक्ष्य एकदिवसीय विश्वकप खेल्ने हो । नेपालले दुई दशकदेखि छनोट प्रतियोगिता खेल्दै आएपनि अन्तिम चरणमा पुग्न नसकिरहेको बेला कुपोषणविरुद्ध राष्ट्रिय अभियान चलारहेको गैर नाफामूलक संस्था ‘बलियो नेपाल’ले महत्वाकांक्षी लक्ष्य अघि सारेको छ, नेपाललाई २०३९ मा विश्वकप जिताउने ।

राष्ट्रिय टिमका अलराउण्डर पारस खड्काले कप्तान ज्ञानेन्द्र मल्ललाई साथमा राखेर बलियो नेपालको लक्ष्य सार्वजनिक गरेपछि नेपाली क्रिकेट जगत तरंगित भएको छ ।

कतिपयले विश्वकपमा पुग्न संघर्ष गरिरहेका बेला उपाधि जित्ने लक्ष्यलाई असम्भव देखे भने कतिपयले नेपाल क्रिकेट संघ (क्यान), राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई बाइपास गरेर के गर्न खोजेको हो भनेर प्रश्न गरेका छन् ।

बलियो नेपालका बोर्ड सदस्यसमेत रहेका खड्का भन्छन्, ‘नेपाललाई २०३९ मा विश्वकप खेलाउने बलियो नेपालको काम होइन, उसले त क्रिकेटलाई थिम बनाएको हो र, २०३९ सम्ममा नेपालले विश्वकप खेल्नसक्छ भन्ने सोच ल्याएको हो ।’

उनकाअनुसार यो सोच कसरी अगाडि बढ्छ भन्ने धेरै हदसम्म नेपाल क्रिकेट संघ (क्यान) र नेपाल सरकारका खेलकुदसंवद्ध निकायहरुमा भर पर्छ । यसको अर्थ बलियो नेपालले लक्ष्य निर्धारण गरिदियो, अब क्यानले पछ्याउनुपर्छ भन्ने पनि होइन ।

बलियो नेपालको आयोजनामा दाङको लमहीमा यू–१९ अन्तरजिल्ला क्रिकेट प्रतियोगिता चलिरहेको छ, जहाँ लुम्बिनी प्रदेशका १२ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतिभाहरुको खोजी गर्नु र तिनीहरुलाई दक्ष खेलाडी बन्न अवसर प्रदान गर्नु यस प्रतियोगिताको मुख्य उद्देश्य हो ।

कसरी शुरु भयो अभियान ?

बिल गेट्स र उनकी पत्नी मिलिन्डाको च्यारिटी फाउण्डेसनले चौधरी फाउण्डेसनसँग मिलेर गैर नाफामूलक संस्थाका रुपमा बलियो नेपाल स्थापना गरेको थियो, जसमा पारस खड्कासँगै स्वर्णीम वाग्ले, अनिलकेशरी शाह, आनी छोइङ डोल्मालगायत व्यक्तिहरु पनि सामेल छन् ।

नयाँ पुस्तालाई कुपोषणबाट बचाउने उद्देश्यका साथ १५ कात्तिक २०७६ मा ‘बलियो नेपाल अभियान’ घोषणा गरेको यो संस्थाले पोषणसम्बन्धी सचेतना जगाउन क्रिकेटलाई माध्यम बनाएको छ । पछिल्ला वर्षहरुमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको सफलता हेरेर क्रिकेटलाई थिम बनाइएको पारसले बताए ।

जब क्रिकेट र पोषणका कुरा एक ठाउँमा आयो, २०३९ मा कुपोषणमुक्त बन्ने र विश्वकप जित्ने लक्ष्य तय भयो ।

‘२०१४ मा टी–२० विश्वकप खेलेको नेपालले २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) राष्ट्रको मान्यता पाएको छ । भौतिक पूर्वाधार तयार पार्दै अगाडि बढ्यौं भने १०–१२ वर्षमा टेष्ट मान्यता प्राप्त राष्ट्र बन्छौं भने अर्को ८–१० वर्षमा विश्वकप जित्ने सपना लिनुपर्छ भन्ने सोचका साथ बलियो नेपाल कप सुरु गरेका छौं’, पूर्व कप्तान पारसले भने ।

अहिले लुम्बिनी प्रदेशबाट शुरु भएको यो प्रतियोगिता केही वर्षमा देशभर पुर्‍याउने बलियो नेपालको योजना छ ।

२०३९ नै किन ?

कतिपयको प्रश्न छ, विश्वकप जित्ने लक्ष्य २०३९ कै किन ? त्यो भन्दा अगाडि वा पछाडि किन नहुने ?

पूर्वकप्तान एवं बलियो नेपालका बोर्ड सदस्य पारसका अनुसार पोषणसम्बन्धी तथ्यांकका आधारमा २०३९ को लक्ष्य निर्धारण गरिएको हो । ‘खान लगाउनै गाह्रो छ भने क्रिकेट खेल्छ, विश्वकप खेल्छ भनेर सोच्न सकिँदैन । त्यसैले इकोनोमिक ग्रोथलगायतका साइन्टिफिक डेटाहरुलाई हेरेर २०३९ लाई रोजेका हौं’ उनले अघि भने, ‘त्यो भन्दा अगाडि नै विश्वकप जित्यौं भने त्यो अझ सुखद हुनेछ ।’

सम्भव छ ?

पारसलाई राम्रोसँग थाहा छ कि, नेपालले विश्वकप जित्नु सहज छैन । तर असम्भव पनि होइन ।

अभावकै बीचमा क्रिकेट खेलेर नेपालले विश्वकपमा स्थान बनाएको र ओडीआई राष्ट्रको मान्यता पाएको भन्दै उनले भने, ‘अहिलेदेखि नै एउटा लक्ष्य निर्धारण गर्ने र सही ठाउँमा सही मान्छेहरु बसेर अगाडि बढ्ने हो भने सम्भावना छ ।’

‘त्यसरी हिँड्दा लड्ने सम्भावना पनि छ । निराशा पनि आउला । निश्चित समयपछि नपुगिएला जस्तो पनि होला’ उनले भने, ‘किनकी एउटा खेलाडीका रुपमा हामीले यो खेलिएन भने जितिएन भने खेल्न छोड्ने हो कि ? नेपाल क्रिकेट नै सकिने हो कि ? भन्ने क्षणहरु आउँछ । तर सकारात्मक सोचक साथ अगाडि बढ्नुपर्छ ।’

त्यसमा सहमत कप्तान ज्ञानेन्द्र भन्छन्, ‘२०३९ मा विश्वकप जितेनौं भनेपनि पुग्छौं । पुग्न सकेनौं भने पनि अहिलेभन्दा अगाडि बढ्छौं । अहिलेको क्रिकेट हेर्ने हो भने ३०/४० वटा जिल्लामा सीमित छ, भोलि ७७ वटै जिल्लामा फैलिन्छ । ग्रासरुट लेभलदेखि वेसिक क्रिकेट दिनसक्यौं भने खेलाडीहरुको संख्या बढछ ।’

क्रिकेट एकेडेमी समेत सञ्चालन गरिरहेका ज्ञानेन्द्रको अनुभवमा नेपालीहरु ढिलो क्रिकेट सुरु गर्छन् । एसईई पास गरेपछि मात्र क्रिकेट वा अरु खेलमा लाग भन्ने अभिभावकहरुको संख्या थुप्रै रहेको भन्दै उनले भने, ‘जबकी टेष्ट नेसनहरुमा १६ वर्षसम्ममा उनीहरुले आधारभूत ज्ञान पाइसकेका हुन्छन् र सेमी प्रोफेसनल–प्रोफेसनल सेटअपमा जान्छन् । हामी याहिँ आधारभूत ज्ञानमा हुन्छौं ।’

तर अब स्कुल लेभलमा नै आधारभूत ज्ञान दिने हो भने नयाँ प्रतिभा पनि आउने उनले सुनाए ।

पारसले भने सचिन तेन्दुलकरले भारतका लागि डेब्यू गर्दा भारतले कुनै पनि देशलाई हराउन सक्छ सपना देखाएको र देशलाई एक ठाउँमा ल्याउनसक्छ भन्ने सन्देश दिएको स्मरण गरे । उनले अघि भने, ‘क्रिकेटमा त्यो क्षमता छ किनकी हामीले यू–१९ लेभलमा अहिले होइन, २० वर्ष अगाडि नै टेष्ट राष्ट्रलाई हराएका छौं । तर अझै हामी क्रिकेटको बेबी स्टेप (सुरुवाती पाइला) मा छौं ।’

अन्तर विद्यालय प्रतियोगिताबाट आएको आफू राष्ट्रिय टिमको कप्तान भएको उल्लेख गर्दै उनले भने, ‘अहिलेदेखि नै फाउण्डेसन बनाउने भने हो र देशभर इन्टरस्कुल प्रतियोगिताहरु हुने हो भने नयाँ प्रतिभाहरु आउनेछन् र टिमको प्रदर्शन राम्रो हुन्छ ।’

क्रिकेट खेलकुद ज्ञानेन्द्र मल्ल पारस खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय