
१२ वैशाख, जनकपुरधाम । बिरामीको मृत्युको विषयलाई लिएर आइतबार जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल तोडफोड भएको छ ।
धनुषाको मिथिला नगरपालिका– ८ कुसुमबिसौनामा मोटरसाइकल दुर्घटनामा घाइते भएका २८ वर्षका सुनील शर्माको मृत्युको विषयलाई लिएर आफन्तसहितको समूहले हस्पिटलमा तोडफोड गरेको हो ।
घाइते शर्मालाई अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्कालै सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गरेका थिए । त्यसपछि काठमाडौं लैजान हेलिकप्टर मगाइसकेका बेला चिकित्सकले शर्माको मृत्यु भएको जानकारी दिएपछि हेलिकप्टर रोकेको मृतकका काका जयप्रकाश ठाकुरले बताए ।
त्यतिबेलासम्म शर्माको मृत्यु नभएको तर समयमा राम्रो उपचार नपाएर मृत्यु भएको उनको दावी छ ।‘यतिबेलासम्म उपचारका लागि काठमाडौं पुर्याइसकेका हुन्थ्यौं । मेरो भतिजको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको हो, यसको छानबिन हुनुपर्छ’ ठाकुरले भने ।
सुनीलको मृत्युपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षसहित विभिन्न ठाउँको झ्यालको सिसा फोडेका छन् । तोडफोडपछि अस्पतालको मूल गेटमा ताला लगाइएको छ र बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया 4