
१५ वैशाख, काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा)ले माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम मुद्दा फिर्ता लिइएको भन्दै उनले भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’
प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको संवाद अनुसार जसपाले मुद्दा फिर्ताका लागि २२४ जना प्रतिवादी रहेको २६ वटा मुद्दाको सूची बुझाएको थियो ।
मधेश, थारु लगायतका विभिन्न आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता हुनुपर्ने मागलाई जनता समाजवादी पार्टीले एक मुख्य राजनीतिक एजेण्डा बनाउँदै आएको थियो । जसपाले सरकारलाई मुद्दा फिर्ताको आग्रह गदै २०७ जनाको सूची गृहमन्त्रालयमा बुझाएको थियो । तीमध्ये १२० जनाको मुद्दा फिर्ता भएको हो ।
जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायत नेताहरुले मुद्दा फिर्ताका विषयमा केही हप्तायता प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरिरहेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने औपचारिक निर्णय गराउन जसपाका नेताहरु उपेन्द्र महतो र बाबुराम भट्टराई लागि परिरहेका वेला सरकारले मुद्दा फिर्ताको निर्णय गरेको हो ।
प्रतिक्रिया 4