+
+
Shares

आगामी साताबाट सगरमाथा आरोहण शुरु हुँदै

अच्युत पुरी अच्युत पुरी
२०७८ वैशाख १७ गते १५:१४
फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणमा पुगेका आरोहीहरु एक साता भित्रै चुचुरोतर्फ जान शुरु गर्ने भएका छन् । पछिल्लो मौसम अपडेट अनुसार पहिलो चरणमा शुक्रबारदेखि मे ९ सम्म सगरमाथामा मौसम अनुकुल हुने पूर्वानुमान रहेको छ । यही समयमा सम्भव भएसम्म आरोहणको केही टोली चुचुरोतर्फ लाग्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । अहिले सगरमाथा आधार शिविरमा आरोही र उनीहरुको सहयोगी दल करिब पुगिसकेका छन् । सम्पर्क अधिकृतसम्म पुग्ने क्रममा रहेको उनले जानकारी दिइन् ।

‘पछिल्लो मौसम अपडेट अनुसार एक साता अनुकुल देखिएको छ,’ आधार शिविर पुग्ने क्रममा रहेकी आचार्यले अनलाइनखबरसँग भनिन्, ‘यो साता सगरमाथाबाट गुड न्युज आउँछ ।’ कोरोना महामारीका बीच यो पटक हिमाल आरोहणमा भने आरोहीको उत्साह देखिएको छ । सन् २०१९ पछि पहिलो पटक आरोहण हुन लागेको हो । सन् २०२० को आरोहण सिजन भने सरकारले रद्द गरेको हो ।

सगरमाथामा अहिलेसम्मकै बढी परमिट

पर्यटन विभागको तथ्यांक अनुसार शुक्रबारसम्म सगरमाथा आरोहणका लागि ४३ समूहका ४०८ जना आरोहीले आरोहण अनुमति लिएका छन् । यो एक सिजनमा भएको अहिलेसम्मकै ठूलो संख्या हो । यस पटक ९२ जना महिला आरोहणमा गएका छन् । विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार यो पटक आरोही र उनीहरुका सहयोगी तथा सम्पर्क अधिकृतसमेत गरी करिब १२ सय मानिस सगरमाथा आधार शिविरमा पुगिसकेका छन् ।

शुक्रबारसम्म ८५ समूहका ७४२ जना आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन् । यसमध्ये १६१ महिला छन् । नेपालमा यो सिजनमा १६ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ । यसमध्ये सगरमाथामा सर्वाधिक संख्यामा अनुमति जारी भएको छ । सगरमाथापछि ल्होत्सेका लागि १२५ जनाले आरोहण अनुमति लिएका छन् । अन्नपूर्णका लागि ४४ जनाले अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य सतकर्ता कसरी अपनाइएको छ ?

आधार शिविर जानु अगाडि विदेशबाट आएका सबै आरोही होटेल क्वारेन्टिनमा बसेका थिए । सगरमाथा आधार शिविरसहित पदयात्रामार्गमा समेत स्वास्थ्यकर्मी खटाइएको छ । अल्टिच्यूट, नियमोनियाको समस्या हुने आरोहीलाई तत्काल काठमाडौं फिर्ता गरी अस्पतालमा ल्याउने गरी व्यवस्थापन मिलाइएको पर्यटन विभागले जनाएको छ । आधार शिविरमा समेत एक समूहको आरोही अर्को समूहको सम्पर्कमा नजाने र आरोहणमा समेत एक पटकमा बढीमा १७० जनासम्म मात्र आरोहण मार्गमा जान पाउने गरी यो पटक नियम तोकिएको छ । यसका लागि विभागले केही दिन अगाडि नियमहरु बनाएर सर्कुलर गरेको थियो ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?