
१७ जेठ, विराटनगर । विराटनगरको अस्पताल चोकमा दर्ता विना सञ्चालनमा रहेको फार्मेसीले बिरामीलाई ठगी गरेको पाइएको छ । गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका बिरामीलाई फार्मेसीले ठगी गरेको हो ।
१८ दिन अस्पतालमा बसेका बिरामीका लागि फार्मेसीले तीन लाख ५ हजारको औषधि उपलब्ध गराएको बिल थमाएको छ । जसमा सर्जिकल ग्लोब्स मात्रै ५५ हजार रुपैयाँको छ ।
सिरहाको गोलबजार नगरपालिका–१३ का विन्देश्वर पासवानको उपचारका लागि औषधि खरिद गरेका उनका छोरा गरदीप पासवानलाई दर्ता विनाको फार्मेसी सञ्चालक शंकर यादवले ठगी गरेका हुन् ।
१८ दिन अघि उनी बुबालाई उपचारका लागि गोल्डेन अस्पताल लिएर आएका थिए । गोल्डेन अस्पतालले डिस्चार्ज दिएपछि फार्मेसीमा बुझ्दा तीन लाख ५ हजार रुपैयाँको बिल देखाएको उनले बताए ।
दर्ता विना अस्पताल नजिकै सञ्चालनमा रहेको फार्मेसीसम्म उनलाई एम्बुलेन्स चालकले पु¥याइदिएका थिए । १८ औं दिनमा हिसाब गर्दा ४६ प्याकेट सर्जिकल ग्लोब्स अस्पताल पठाएको उल्लेख छ । फार्मेसीले एक दिन ६ प्याकेटसम्म अस्पताल पठाएको दाबी गरेको छ । एक प्याकेटमा ५० जोर सर्जिकल ग्लोब्स हुन्छ । तर अस्पतालले दैनिक ६ प्याकेट ग्लोब्स नमगाएको बताएको छ ।
फार्मेसीमा बिरामीका आफन्तले ३५ हजार रुपैयाँ जम्मा गराएका थिए । ‘सुरुमा ३५ हजार जम्मा गरेको थिएँ, पछि तीन लाख ५ हजारको औषधि भयो भन्छन्,’ उनले भने, ‘फार्मेसीले १२ प्रतिशत छुट दिने भन्दैछ ।’
फार्मेसीले बिल भने नोबेल मेडिकल कलेज अगाडि रहेको हेल्थकेयर फार्मेसीको प्रयोग गर्दै आएको छ । अस्पतालमा उपचार गर्दाको बिल भने दुई लाख ६ हजार उठेको छ । एकसाता भेन्टिलेटरमा राखेर उपचार गर्नु परेकाले सो बिल उठेको अस्पतालले जनाएको छ । फार्मेसीको बिल भने अस्पतालको भन्दा एक लाख रुपैयाँ बढी छ ।
फार्मेसीबाट ठगिएपछि आफन्तले औषधि व्यवस्था विभागको क्षेत्रीय कार्यालयमा उजुरी दिएका छन् । उजुरीपछि छानबिन सुरु गरेको विभागले फार्मेसीले ठगी गरेको निष्कर्ष निकालेको छ । ‘फार्मेसीले बिरामीका आफन्तलाई बढी औषधि र बढी बिल देखाएर ठगी गरेको देखिन्छ,’ कार्यालयका निमित्त प्रमुख सञ्जीव कट्टेलले भने, ‘फार्मेसीले बिलमा उल्लेख गरेका परिमाण अस्पतालले दिएको प्रेस्किप्सनको भन्दा धेरै छ ।’
उनका अनुसार गोल्डेन अस्पताल अगाडि बोर्ड नै नराखी फार्मेसी सञ्चालन गर्ने यादवको नोबेल मेडिकल कलेज अगाडि पनि फार्मेसी छ ।
ठगी गरेको उजुरी आएपछि यादवलाई खोज्दै प्रहरी र विभागको टोली दुईवटै पसल पुगेको थियो । तर दुवै पसल बन्द गरेर पसल सञ्चालक फरार भएको उनले बताए ।
प्रतिक्रिया 4