
१७ जेठ, जनकपुरधाम । धनुषा र सर्लाहीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । धनुषामा सोमबारसम्म कायम रहेको निषेधाज्ञालाई जेठ २४ गतेसम्म निरन्तरता दिइने भएको छ ।
सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । कोरोनाको नयाँ भेरियन्टको संक्रमण दरमा सामान्य घट्दै गएपनि संक्रमणको चुनौती अझै कायम रहेकाले निषेधाज्ञाको समय थप गरिएको उनले बताए ।
सोमबारको बैठकले अस्पतालमा तोडफोड एवं चिकित्सकमाथि हातपात हुने घटना बढेको भन्दै यसलाई रोक्न सुरक्षा निकायलाई आग्रहसमेत गरेको छ ।
यस्तै, सर्लाहीमा पनि आठ दिनका लागि निषेधाज्ञा लम्ब्याइएको छ । १७ गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ २५ गते राति १२ बजेसम्मका लागि निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण यथावत् रहेकाले निषेधाज्ञाको समय थप गरिएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया 4